
गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् ।
उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् ।
शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युबमा सार्वजनिक छन् ।
यो गीतमा शब्द र संगीत पनि टंककै छ । उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । पछिल्लो समयकी चर्चित गायिका अन्नुसँग टंकको यो पहिलो सहकार्य हो ।
गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवं अभिनय छ ।
थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय रहेका छन् ।
कार्यक्रममा अतिथिका रुपमा पुगेका संघीय सांसद सुनील केसीले टंकले गरेको नयाँ प्रयासको प्रशंसा गरे । उनले नेपालमै सायदै पहिलोपटक एकैपटक एउटै गीतलाई सातवटा नेपाली भाषामा सार्वजनिक गरिएको र एक कलाकारले नेपाली भाषालाई संरक्षण र प्रबर्द्धन गर्न सहयोग गरेको भन्दै धन्यवादसँगै शुभकामना दिए । यस्तै व्यवसायी टीका बुढाथोकीले पनि गीतको सफलताको शुभकामना दिए ।

गायक तथा संगीतकार टंकले आफूले एक वर्षदेखि यो गीतका लागि मेहनत गरेको जानकारी दिए । ‘मैले एक वर्षदेखि यो गीतका लागि काम गरिरहेको थिएँ । विशेषगरी सबै भाषाको ज्ञान नहुँदा धेरै समय लाग्यो’ – टंकले भने, ‘मैले झन्डै ५० पटकसम्म अभ्यास गरेको थिएँ । सबैभन्दा बढी नेवारी भाषामा स्वर भर्दा समय लागेको थियो ।’
गायिका अन्नुले नयाँ–नयाँ भाषाका गीत रेकर्ड गर्न पाउँदा नयाँ कुराहरू समेत सिक्ने मौका पाएको भन्दै खुशी व्यक्त गरिन् ।
टंक र अन्नुले नेपाली र थारू बाहेक अन्य पाँचवटा भाषाका लागी केही व्यक्तिहरू सँग अनुवाद सहयोग मागेका छन् । टंकले नेपालमा रहेको विभिन्न भाषालाई प्रवर्द्धन गर्नकै लागी आफूले सानो कदम चालेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् । उनले भने, ‘हामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन सक्छ । त्यसैले गीतमार्फत भएपनि भाषाको प्रमोट होस् भन्ने लाग्यो ।’
गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन् । थारू भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।