०७ असार २०८३, आइतबार

यस्तो रह्यो फिल्म ‘जय हो’को प्रिमियर [तस्वीरहरू]

भदौ ७, २०८०
काठमाडौं
यस्तो रह्यो फिल्म ‘जय हो’को प्रिमियर [तस्वीरहरू]

शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘जय हो’को प्रिमियर गरिएको छ । बुधवार बेलुका गरिएको प्रिमियरमा थुप्रै सेलिब्रेटी एवं संचारकर्मीको उपस्थिति रह्यो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्वाज, अभिनेता सलिनमान बनियाँ, अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, गायिका देवीका बन्दना, गायक यम बराल लगायतका सेलिब्रेटी न्यूरोडस्थित रञ्जना हल पुगेर फिल्म हेरे । 

फिल्म हेरेपछि मिडियासँग कुराकानी गर्दै सेलिब्रेटीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । प्रिमियरमा फिल्म हेर्न पुगेका अधिकांश पाहुना सेलिब्रेटीले क्लाइमेक्सको प्रशंसा गरेका छन् ।

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे । कमेडी फिल्म मात्रै नभइ सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै उनले सलोनको प्रशंसामा शब्द खर्चिए । यस्तै अभिनेत्री पूजा शर्माले पनि फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिइन् । ‘दान्भी’को छायांकन छोडेर फिल्म हेर्न आएकोमा आफूलाई पछुतो नभएको उनको प्रतिक्रिया थियो । 

यस्तै, अभिनेता हरिवंश आचार्यले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले मन जितेको उनले बताए । साथै सिनेमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए । 

यता अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनलाई फिल्मका सबै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आँखालाई शीतलता र मनलाई शान्ति मिलेको उल्लेख गरिन् । अभिनेता सलिनमान बनियाँले पनि फिल्म मन परेको बताए । अभिनेता  सलोन बस्नेतका मिल्ने साथी भएका कारण पनि उनी लामो समयपछि फिल्मको प्रिमियर कार्यक्रममा पुगेका थिए ।

आफू फिल्म हेर्न मात्रै नभइ सलोनलाई सपोर्ट गर्न पनि लामो समयपछि प्रिमियर कार्यक्रममा पुगेको बताए । ‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्म बक्सअफिसमा सफल हुने आशामा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको  प्रेम पाण्डे  कुमार थिङको पनि अभिनय रहेको छ । 

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । 

कमेन्ट गर्नुहोस्