भदौ १६ गते शनिवार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित पार्टी सभालाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमा कसैलाई निर्देशन दिँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
नेकपा (माओवादी केन्द्र)का उप-महासचिव जनार्दन शर्माको फोनबाट प्रचण्डले नागढुङगा– नौबिसे सुरुङमार्ग आयोजनाका प्रमुख नविनमान श्रेष्ठसँग कुराकानी गरेका थिए ।
सुरुङमार्ग निर्माणका क्रममा उत्पन्न कम्पनले घर चर्किएको र बस्न योग्य समेत नरहेको स्थानीयको गुनासो सुनेपछि प्रचण्डले श्रेष्ठलाई पीडितका माग सम्बोधन गर्न निर्देशन दिए ।
घरमुनि डोजरले खन्दा तथा चट्टान निकाल्न बम विस्फोट गराउँदा कृत्रिम भूकम्प महसुस हुने गरेको र त्यसले घर चर्किएको स्थानीयको गुनासो छ ।सोहीबारे प्रधानमन्त्रीले ध्यानाकर्षण गराएपछि आयोजना प्रमुख श्रेष्ठले प्रभावित क्षेत्रमा चर्केका घरको तथ्याङ्क पुनः संकलन गर्ने र क्षतिपूर्ति दिने बताएका थिए ।
****
अन्दाजी ७० वर्षीय हिराकाजी महर्जनको घर नागढुंगा सुरुङमार्गको काठमाडौंतर्फ प्रवेशद्वारको ठ्याक्कैमाथि अर्थात् चन्द्रागिरि नगरपालिका– ३ टोटीपाखामा छ ।
सुरुङको मुखबाट यो घर मुस्किलले ५० मिटरको दूरीमा होला । १२ आना जग्गा रहेका हिराकाजीका ३ भाइ छोरा हुन् । सम्पूर्ण परिवार यही घरमा मिलिजुली बस्दै अएका छन् ।

माइला छोरा ईश्वर महर्जन राजनीतिक रूपमा पनि सक्रिय थिए ।
नेपाली कांग्रेसको क्रियाशील सदस्य तथा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ स्थित तरुण दल वडा समिति उपाध्यक्ष समेत रहेका ईश्वरको २७ वर्षको उमेर २०७७ मंसिर ६ गते ‘हर्टएट्याक’का कारण मृत्यु भयो । सुरुङमार्ग निर्माण शुरू भएपछि घरकै चिन्ताले ईश्वरलाई ‘हर्टएट्याक’ भएको परिवारका सदस्यहरूको दाबी छ ।

‘माइलो बाबु हर्टएट्याक भएर बित्नुभयो, अहिले भन्दा पत्याउँदैनन्, तर यही सुरुङको कारण हो,’ ईश्वरकी भाउजू कमला महर्जनले लोकान्तरसँग भनिन्, ‘डोजरले खन्न थालेपछि यहीँसम्म पहिरो गयो । यहाँ बस्न सुरक्षित भएन । हामीलाई मुआब्जा चाहिन्छ, सुरक्षित ठाउँमा जान्छौं भनेर उहाँले स्ट्यान्ड लिनुभएको थियो । काम रोकभन्दा मानेनन् । त्यही तनावले उहाँलाई हर्टएट्याक भयो ।’

कुन दिन घरले थिच्ने हो भन्ने चिन्ताले वडादेखि सिंहदरबारसम्म धाउँदा पनि न्याय नपाएको उनको गुनासो छ । विकास हुनु राम्रो भएपनि आफूहरूको बिचल्ली पार्न नपाइने कमलाले बताइन् ।

‘विकास भयो, राम्रै कुरा हो । रमाइलो पनि देख्न पाइया छ । नेपालमै पहिलो पटक हो यसरी सुरुङमार्ग बनेको, खुशी नै छौं । खुशी छौं भन्दैमा सुरुङभित्र बस्न जाने कुरा त भएन,’ कमलाले लोकान्तरसँग भनिन्, ‘२०७२ सालको जत्रो भूकम्प आयो भन्ने यो घरले थाम्छ भन्ने के ग्यारेन्टी ? पिल्लरले थाम्ने हैन यो घरलाई ? पिल्लार हल्या छैन भनेर कसले भन्छ ? दिनकै ड्यामड्याम बम पड्क्या छ । घर चर्किएको छ ।’
ससुराको धेरैजना दाजुभाइ भएकाले यहीँमात्र जग्गा भागमा आएको भन्दै उनले सुरक्षित एवं ढुक्कसाथ बस्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
सुरुङको काठमाडौंतर्फको प्रवेशद्वारमाथिका अन्य स्थानीयको गुनासो पनि कमलाको जस्तै छ । पालिकादेखि प्रशासनसम्म धाउँदा र पटक–पटक कामै रोक्दा पनि आफूहरूको माग सम्बोधन नभएको उनीहरू बताउँछन् ।
प्रधानमन्त्रीले सार्वजनिक रूपमै यसरी निर्देशन दिएपछि स्थानीयमा केही आशा त पलाएको छ, तर यसअघि पनि पटक–पटक आश्वासन मात्र पाएकाले ढुक्क हुन सकेका छैनन् ।
सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयको पीडा र गुनासो, हेर्नुहोस् भिडियोमाः
थप तस्वीर:



