
म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनिन् ।
“असिनाले हुर्कँदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ”, उनले भनिन्, “गत वर्ष ५० मुरी आलु फलाएको थियो । यसपाली आधा पनि उत्पादन होला जस्तै छैन ।”
आलुखेतीको पकेट क्षेत्र मानिने रघुगङ्गा गाउँपालिकाको मङ्गलेखानी, चौरखानी, ¥यासीखर्क, पात्लेखर्क, ढुवाडी, ढाँडका किसान असिनाले बोट नष्ट गरिदिएपछि चिन्तित भएका छन् । वैशाख र जेठमा परेको बाक्लो असिनाले आलुका बोटबिरुवा नष्ट गर्दा उत्पादनमा असर परेको किसान नरकुमारी किसानले बताइन् ।
सत्ताइस परिवारको बसोबास रहेको मङ्गलेखानीका बासिन्दाको मुख्य आयस्रोत खालुखेती हो । माघमा रोपेको आलु जेठको अन्तिम सातादेखि खन्न सुरु भएको छ । समुन्द्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको मङ्गलेखानीको चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक विधिबाट आलुखेती हुने गरेको किसान कृषक नरकुमारीले जानकारी दिइन् ।
गत वर्ष आलु बेचेर रु दुई लाखसम्म आम्दानी गरेका यहाँका किसान यस वर्ष उत्पादनसँगै आम्दानी पनि घट्नेमा चिन्तित छन् । स्वादिलो र सुक्खा हुने मङ्गलेको आलु बेनी, पोखरा र काठमाडौँका बजारमा खपत हुन्छ ।