
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अभिव्यक्तिलाई लिएर संसद्मा गरिरहेको अवरोध हटाउने घोषणा गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् अवरोध गरिराख्ने नीति त्यागेको बताएका हुन् ।
‘प्रधानमन्त्री गैरजिम्मेवार हुनुभयो भन्दैमा हामी प्रतिपक्ष गैरजिम्मेवार हुन सक्दैनौं, संसद्मा निरन्तर कुरा उठाउँछौं’, आङ्देम्बेले भने, ‘प्रधानमन्त्रीको गैरजिम्मेवारीको ओखती देखिएन ।’
नेपालले समेत भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर कांग्रेस लगायत विपक्षी दलले जेठ १७ पछि संसद् अवरुद्ध गर्दै आएका थिए ।
आङ्देम्बेभन्दा पहिला परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति दशजगा अतिक्रमणसँग सम्बन्धित रहेको बताएका थिए ।