२४ असार २०८३, बुधबार

एकैदिन ५ हजारले चढे लुम्बिनी केबलकार, भारतीयसँगै विदेशी पर्यटक पनि बढे

भदौ २०, २०८०
बुटवल
एकैदिन ५ हजारले चढे लुम्बिनी केबलकार, भारतीयसँगै विदेशी पर्यटक पनि बढे

साविक टिकट दरमा ५० प्रतिशत छुटसहित लुम्बिनी केबलकार लिमिटेडले सञ्चालन गरेको ‘मर्निङ अफर’मा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।  हरेक बुधवार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटदिएसँगै केबलकार चढ्ने पर्यटक बढेका हुन् ।

साउनको पहिलो बुधवारदेखि शुरू भएको मर्निङ अफरअन्तर्गत भदौको तेस्रो बुधवार (आज) हालसम्मकै धेरै ५ हजार २० जनाले केबलकार यात्रा गरेको अपरेसन मयानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । साधारण टिकट दर ७५० रुपैयाँ रहेकोमा केबलकारले ‘मर्निङ अफर’ मा ३७५ रुपैयाँ कायम गरेको छ ।

‘तीन घण्टामै ५ हजार २० जनाले मर्निङ अफरको टिकट खरिद गर्नुभयो, यो संख्या केबलकार सञ्चालन भएयताकै सर्वाधिक धेरै हो,’ उनले भने, ‘अरु बार औसत् ५ सय जना पर्यटक आउने गरेकामा मर्निङ अफरमा अत्यधिक आकर्षण देखिएको छ ।’ 

null

कृष्ण जन्माष्टमीको सार्वजनिक बिदासमेत भएकाले पर्यटकको चाप बढेको उनले बताए ।  

साउन ३ गतेबाट शुरू भएको अफरमा भारतीय नागरिकले समेत ३७५ भारूमा र तेस्रो मुलुकका पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने भएपछि भारतीय पर्यटकको समेत आगमन बढेको कम्पनीले जनाएको छ । 

पहिलो बुधवार ९७८ जना र त्यसयता क्रमशः ३ हजार ३०७ जना, ३ हजार ४७६ जना, २ हजार १५९ जना र साउनको अन्तिम बुधवार २ हजार ४७० जना पर्यटक आएको कम्पनीका लेखाप्रमुख राजन लम्सालले जानकारी दिए । 

यस्तै भदौको पहिलो बुधवार १ हजार १७० जना र दोस्रो बुधवार १ हजार ५६१ जना र तेस्रो बुधबार ५ हजार २० जनाले केबलकार चढेको कम्पनीको भनाइ छ । 

मर्निङ अफरको टिकट दर सस्तो हुँदा परिवारका सबै सदस्यलाई केबलकार यात्रा गराउन सकिने भएकाले यो अफरले आम सर्वसाधारणलाई आकर्षित गरेको स्थानीय बुद्धि पराजुलीले बताए । 

आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाऊ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।

null

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् । 

केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवाशुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाऊ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ । उक्त रकम २ पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी सम्झौता भएको छ ।

टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, १ हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित ५ तारे होटेल बनाउने तयारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्