२९ जेठ २०८३, शुक्रबार

सम्झनामा त्यो तीज

असोज १, २०८०
काठमाडौं
सम्झनामा त्यो तीज
फाइल तस्बिर

“सुन्तलीको हाँगा र बिगा टुप्पै बस्यो जुरेली, 
तेइमा जुरेली मारीमा ल्याउँछु लेउ लेउ भाउजू गुलेली, 
नी बरीलैै लेउ लेउ भाउजू गुलेली”  

तीजका अवसरमा दिदीबहिनीहरूसँग दर खाँदै गर्दा प्रस्तुत गीत गाउँदै नाच्दैै गरेकी भरतपुर–२ की शान्ता अधिकारी एक छिन ३५÷४० वर्षअघि गोरखामा आमासँग माइतीको आँगनीमा नाच्दै गरेको अवस्थामा फर्किइन् ।

“माइती दिदीबहिनी भेट भएको बेलामा मलाई यो गीतले पुरानै बाल्य अवस्थामा फर्कायो”,  आमाले माइती गाउँमा तीजको मेलामा यही गीतमा नाच्ने गरेको स्मरण गर्दै उनले भनिन्, “यस्ता गीतले मलाई दिवङ्गत आमाको यादले झस्काउँछ । अब ती दिन फर्केर त आउँदैन तर माइती गाउँकै दिदी, बहिनी, भाउजू भेट हुँदा भने पुरानो यादले यो मन फेरि माइतीगाउँतिर लैजान्छ ।  ” 

 गाउँका माइतीहरू पनि गाउँ छाडेर सहर पसेको बताउने अधिकारी फेरि एकपटक पुरानै माइती गाउँमा गएर तीजमा कम्मर मर्काउने धोको रहेको बताउँछिन् ।

रत्ननगरको टाँडी माइतीमा तीज मनाउँदै गरेकी राधिका अधिकारी तीजको स्मरण गर्दै भन्छिन्, “तीजको दिन छुट्टै रौनक हुन्थ्यो, राति दर खाएपछि दिनभर पानी पनि नखाई व्रत बसिन्थ्यो ।” उमेरले ६० वसन्त नाघेकी उनले जवानीमा चेलीबेटी जम्मा भई दिनभर नाचगान गर्दा भोक र थकाइको महसुस नहुने गरेको बताइन् । माइतीको आँगनीमा बसेर गाइने तीजका गीतले चेलीको वेदना प्रस्तुत गर्ने भन्दै उनले एक टुक्का गाइन्, 

“बाबाले दिएको शिरै लाउने शिरफुल सुन्तला घारीमा खस्यो बरीलै, 
घर जाऊ छोरी भन्नुहुन्छ बाबाले माइतमै दिल बस्यो बरिलै”
 
उमेरले ८४ वर्ष लागेकी भरतपुर–११ की लीलादेवी दवाडी आजकाल तीज आएकै थाहा पाउँदिनन् । पहिले पहिले उमेर छँदा तीज आउनुभन्दा दुई–तीन दिन अघिदेखि नै घरका गाईवस्तुलाई घाँसको व्यवस्था गरी घरको कामलाई छोट्याएर तीजका दिन माइत जाने गरेको उनले बताइन् । उनले भनिन्, “ऊ बेलामा आजकाल जस्तो कसैलाई फुर्सद हुन्थेन । ढिकी, जाँतो र घरको काम गरेर दिन जान्थ्यो, तीज आउनुभन्दा पहिला रातभर नसुती माइत जानका लागि काम सक्नुपथ्र्यो ।”
नवलपुरको गैँडाकोट घर भएर भरतपुर माइत आएकी सम्झना अघिकारीले तीजमा हजुरआमाले पकाएको दरको याद गरिन् । उनले भनिन्, “सानोमा तीजको दर खाँदा असाध्यै रमाइलो लाग्थ्यो । दर खाने रात हजुरआमा नसुती दर पकाउनुहुथ्यो । अनि हामीलाई राति दर खान उठाउनुहुन्थ्यो, हामी खुसी भएर दर खान्थेम ।” 

घरका सबै जना राति उठेर हजुरआमाले पकाएको दर खाएको हिजो जस्तो लागेको तर हजुरआमा बितेको २० वर्ष पुगेछ भन्दै उनी एकछिन भक्कानिइन् । पहिले तीजको बेलामा आमाहरूले गाउने एउटा गीतको स्मरण गर्दै उनले गाइन्, 

“फररर फरर चौतारीको बरको पात, 
को सँग भनौँ मैले यो मनको बात, 
बाबासँग भनौँ भने बाबा बूढो हुनुभो,
आमासँग भनौँ भने पहिल्यै रुनुभो ।” 

पहिल–पहिले चेलीको वेदना तथा विभिन्न घटनालाई कथेर तीजका गीतहरू गाइने गरिने तर आजकाल त्यस्ता गीतको मौलिकता हराउँदै गएकोे उनलाई लागेको छ ।    

नाच्न गाउन भने त्यति नजान्ने बताउने उनले तीजका मेलामा गाइने एउटा टुक्का भने यसरी सम्झिइन्, 

“कोदो छरेँ मकै छरेँ धान छरेको छैन बरिलै, 
सौतामाथि दियौ बाबा मन परेको छैन बरिलै”

तीजका अवसरमा महिलाहरू कर्मघरबाट माइतीघर आउने र मीठो मसिनो खाई माइतीसँग भलाकुसारी गर्ने गर्दछन् । परापूर्वकालदेखि मनाइँदै आएको तीज विशेषगरी महिलाहरूका लागि वर्षको एक दिन खुल्ला वातारणमा रम्ने पर्वका रूपमा लिइन्छ । जन्म घर छोडेर कर्र्मघरमा जीवन बिताउँदा माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा तीज पर्वलाई लिन सकिन्छ । 

तीज अपरिचित ठाउँको वर्षभरिको जिम्मेवारी, तनाव र जन्मघर र बालासखीप्रतिको सम्झनालाई पुनर्ताजगी गर्ने अवसर दवाडीको अनुभव छ । पछिल्लोे समयमा तीजका नाममा गाइने भड्किला गीत र महिनौँदेखि दरखाने चलन बढ्दै जाँदा मौलिक परम्परा मासिने चिन्ता भने पक्कै भएको उउनको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्