
यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, रमाउने नी हो’ले १ करोड ६५ लाख हाराहारी भ्युज पाएको छ ।
शान्तिश्री परियारको स्वर रहेको ‘अरेली काँडैले...’ले १ करोड ५० लाख हाराहारी भ्युज पाएको छ । यी दुवै गीत एकै व्यक्तिले सिर्जना गरेका हुन् । ति भाग्यमानी सर्जक हुन् नेत्र अर्याल ।
गीतकार अर्यालले ‘अरेली काँडैले...’ चल्नेमा आफू पहिल्यैदेखि ढुक्क रहेको स्मरण गर्छन् ।
‘यो गीत चल्छ भन्ने नै थियो । चल्नेमध्येको एउटा भनेर बसेको थिएँ’ उनले भने । बरु ‘कमाउने नी हो, रमाउने नी हो’ आफूले सोचेको भन्दा धेरै चलेको अर्यालले बताए ।

‘यो असारको अन्तिममा आएको थियो । एकदमै हतारमा लेखेको गीत थियो’ उनले भने, ‘यद्यपि, अलि फरक भएकाले राम्रो हुन पनि सक्छ भन्ने चाहिँ थियो । राम्रो भयो ।’
गतवर्ष तीजमा नेत्रले लेखेको ‘खोली तारी देउन माझी दाई’ चलेको थियो । शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा संगीत खेम सेञ्चुरीको थियो । यसपटक पनि नेत्रको शब्द, खेमको संगीत र शान्तिश्रीको स्वरमा ‘अरेली काँडैले...’आएको हो ।

गीतकार अर्यालले लोकान्तरसँग भने, ‘गतवर्ष हामीहरूको सहकार्य राम्रो भएको थियो । यसवर्ष पनि राम्रो बनाउने भनेर सोही अनुसारको मेहनत गरिएको थियो । त्यसैले पनि अरेली काँडैले चल्नेमा ढुक्क थिएँ ।’
विगतमा नेत्रले लेखेका थुप्रै तीज गीत चर्चित भएका छन् । जसमध्ये ‘सोँचेझै जिन्दगी रैनछ’ उनको सर्वाधिक चर्चित तीज गीत हो । उनले लेखेका ‘रमरम मरौटी’, ‘धनगढीको बसमा’, ‘सुर्ती माड्दै माड्दै’ लगायतका थुप्रै लोकदोहोरी गीत चर्चित छन् ।