![पोस्टरले सिंगारिएको बस लिएर देश दौडाहामा निस्कियो ‘परदेशी–२’ टिम [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/paradeshi_2_6_iNS7uMmK4I.jpg)
बडा दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को टिम देश दौडाहामा निस्किएको छ ।
चलचित्रको पोस्टरले झकिझकाउ बस लिएर बुधवार काठमाडौंबाट निस्किएको टिमले बिहीवार बिहानैदेखि चितवनका कलेजमा कार्यक्रम गर्नेछ ।
असोज ४ र ५ गते चितवनमा कार्यक्रमपश्चात चलचित्रको टिम नेपालगन्ज पुग्नेछ । नेपालगन्जमा ७ र ८ गते, बुटवलमा ९ र १० गते प्रचारप्रसार कार्यक्रम गरेर चलचित्रको टिम पोखरा पुग्नेछ । पोखरामा ११ र १२ गतेका लागि कार्यक्रम तय गरिएको छ ।
चलचित्रका कलाकारहरू प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटीलगायतले पनि सोही बसमा देश दौडाहा गर्दैछन् ।
देश दौडाहाका क्रममा ‘परदेशी’कै थिममा आधारित रहेर तयार पारिएको नाटक प्रस्तुत गरिँदैछ । चलचित्र बाहिरका प्रोफेसनल कलाकारहरूले अभिनय रहेको नाटक यसअघि काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर प्रस्तुत गरिएको थियो ।
रमेश बिजीको कथा लेखन रहेको ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथामा निर्माण भएको हो । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ्ग, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । चलचित्रको पहिलो चरणको देश दौडाहा सकिएपछि दोस्रो चरणको देश दौडाहा सुरु हुनेछ ।
दर्शकलाई चलचित्रप्रति आकर्षित गर्न ‘परदेशी २’ले अपनाएको प्रचार शैलीलाई प्रशंसा गरिएको छ ।
मानकृष्ण महर्जनको छायांकन रहेको यस चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । चलचित्रको बुधवार बिहान सार्वजनिक ‘हिजो काम, आज काम...’बोलको गीतले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।


