२७ जेठ २०८३, बुधबार

सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

असोज ७, २०८०
काठमाडौं
सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा आज पनि स्थगित भएको हो । यसअघि सोमवार तोकिएको मुद्दाको पेसी सरेर आजका लागि तोकिएको थियो । 

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।

यसअघि  भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो । सोहीअनुसार गत सोमबार पेसी तोकिए पनि जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशको सरुवा भएपछि ७/८ वटा फाँटका मुद्दाको पेशी स्थगित भएको सूचना अधिकारी दीपक दाहालले बताएका थिए । 

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशबाट कारागारमुक्त भएका हुन् ।

सर्वोच्च अदालतले पनि यो मुद्दालाई छिटो टुंग्याउन आदेश दिएको थियो, तर मुद्दाको सुनुवाइ निरन्तर लम्बिँदै/सर्दै आएको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

salt training

कमेन्ट गर्नुहोस्