
यही असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘वानर सेना’को विशेष शो आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको उपस्थितिकाबीच झापाको पाथीभरा सिने प्लाजामा चलचित्रको विशेष शो आयोजना गरिएको हो ।
विशेष शोमा चलचित्र हेरेका नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल दशनामी समाजका चन्द्रप्रसाद गिरी र नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र राम्रो बनेको र आफूहरूलाई मन परेको प्रतिक्रिया दिए ।
अर्पण गिरी (अरमान जंग)को डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वानर सेना’को कथा पौराणिक रहेकाले पनि दशैंको आसपासमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ ।
गिरी ग्राण्ड फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु पर्साई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।
विनोद सापकोटाको छायांकन रहेको चलचित्रलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । चलचित्र प्रदर्शनको केही दिनअघि आयोजना गरिएको विशेष शोमा अतिथिहरूबाट पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ ।