
विवाहेत्तर सम्बन्ध र प्रेमबाट धोका पाएको निहुँमा २ जनाको वीभत्स हत्या भएको छ ।
सल्यानका २८ वर्षीय कर्णबहादुर बस्नेतले सामाजिक सञ्जालमा चिनजान भएर प्रेम बसेकी प्रेमिकाले अर्कैसँग विवाह गरेपछि २ जनाको हत्या गरेका हुन् ।
आफू पनि विवाहित रहेका बस्नेतले प्रेममा धोका दिएको भन्दै पूर्व प्रेमिका र उनकी नाबालिका छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
***
भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका– २ झालेढुंगास्थित सुकलाल थापाकी श्रीमती २९ वर्षीया रेवती थापा र ९ महिनाकी छोरी रितु थापा अबेरसम्म उठेनन् ।
एक तले टिनको घरमा आमाछोरी नउठेपछि छिमेकीले ढोका खोलेर भित्र हेर्दा जलेको अवस्थामा देखे ।
उनीहरूले लगत्तै प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय लुहामको टोली घटनास्थलमा पुग्यो । घरभित्र शव जलेको अवस्थामा थियो ।
प्रहरीले घटना घटेकोभन्दा पनि घटाइएको भनेर सहजै अनुमान लगायो । त्यहाँ आधा जलेको अवस्थामा मोबाइल, हत्या गर्न प्रयोग गरेको कपडालगायतका प्रमाणहरू फेला परे ।
‘घटनाको प्रकृति हेर्दा हत्या भएको भनेर हामीले सहजै अनुमान लगाउन सक्थ्यौं,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीले लोकान्तरसँग भने ।
हत्या कसले गरेको भन्ने अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लुहाम, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी काभ्राबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशमलाल पौडेको कमान्डमा ७ जनाको टोली खटियो ।
त्यो टोलीले घटनाका सम्बन्धमा प्रमाणहरू जुटाउन थाल्यो ।
घटना जटिलजस्तो देखिएपछि जिल्ला प्रमुख डीएसपी नवीन कार्कीकै कमान्डमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट २ जना र सुर्खेतबाटै केनाइनको टोली तालिमप्राप्त कुकुर समेत खटियो ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि अभियुक्तलाई फेला पार्न सकेन ।
अनुसन्धान गर्दै जाँदा ६ दिनपछि प्रहरीले सल्यानकै सिद्धकुमाख गाउँपालिका– ३ ढोरचौरबाट २८ वर्षीय कर्णबहादुर बस्नेतलाई पक्राउ गर्यो ।
उनलाई प्रहरीले मोबाइलमा भएको प्रमाण र त्यसभन्दा अगाडि त्यहाँ आएको आधारमा पक्राउ गरेको थियो ।
‘उनी त्यसभन्दा अगाडि त्यहाँ आएको भन्ने जानकारी र प्राविधिक विश्लेषणका आधारमा पक्राउ गरेका हौं,’ प्रमुख कार्कीले लोकान्तरसँग भने ।
उनलाई पक्राउ गरेपछि थप रहस्य खुल्यो ।
उनी वैदेशिक रोजगारीबाट आएको २ दिनपछि अर्थात भदौ २६ गते सिद्धकुमाख– २ खानीबाट योजनाबद्ध श्रीनगर बजार पुगेर पट्रोल किनी पैदलै फर्किएको खुल्यो ।
साथै भदौ २९ गते राति पौने १० बजे मृतक रेवतीको घरमा पुगेको समेत पाइयो ।
अभियुक्त बस्नेतले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा पहिला कपडाले घाँटी कसेर लडाएको र त्यसपछि पेट्रोल छर्केर हत्या गरेको बताएका छन् ।
हत्या गरेपछि पनि त्यही घरमा बिहान ४ बजेसम्म बसेर आफ्नो घर गएको उनले प्रहरीसमक्ष बताएका छन् ।
अभियुक्त कर्णबहादुर बस्नेत र मृतक रेवतीको सामाजिक सञ्जाल फेसबूकमा विगत ७ वर्षदेखि कुराकानी हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूबीच प्रेम सम्बन्ध नै रहेको खुलेको छ । डीएसपी नवीन कार्कीका अनुसार उनी २ वर्षअगाडि रेवतीको घरमा बसेर फर्किएको समेत खुलेको छ ।
प्रेम गहिरिँदै जाँदा उनीहरूबीच सबै खालका सम्बन्ध भएको र फोटो/भिडियो समेत खिचेको पाइएको प्रहरीले जनाएको छ । रेवतीले अर्कैसँग विवाह गरेपछि इगोमा हत्या गरेको पाइएको डीएसपी कार्कीले बताए ।
‘केटीको विवाह भएपछि विवाद भएको देखिन्छ । त्यसकै कारण अभियुक्तले इगो साँधेको अनुसन्धानमा खुलेको छ,’ डीएसपी कार्कीले लोकान्तरसँग भने ।
विवाहपछि रेवतीका श्रीमान अश्लील फोटो तथा भिडियो देख्दा विवाद समेत भएको खुलेको छ । त्यस विषयमा तीन जनाबीच विवाद भएको पाइएको प्रहरीले जानकारी दियो ।
अभियुक्त बस्नेत वैदेशिक रोजगारीको सिलसिलमा सन् २०१८ देखि दुबईमा थिए ।
उनी विदेश गएपछि रेवतीले अर्कैसँग विवाह गरेकाले आफूलाई धोका दिएको भनेर बस्नेतले ज्यान मार्ने धम्की समेत दिने गरेको पाइएको छ ।
‘रेवतीले अर्कैसँग विवाह गरेपछि धोका दिएको भन्दै विभिन्न समयमा विवाद भएको देखिन्छ,’ डीएसपी कार्कीले भने ।
उनका अनुसार बस्नेत पनि विवाहित हुन् । रेवतीभन्दा पहिले नै बिहे गरेका उनका छोरा र छोरी छन् ।
बस्नेत ३ वर्ष मलेसिया, २ वर्ष भारत र पछिल्लो समयमा ५ वर्ष दुबईमा बसेका थिए ।
पक्राउ परेका बस्नेतले आफूले हत्या गरेको स्वीकारेका छन् । उनले योजनाबद्धरूपमा हत्या गरेकाले पछुतो नभएको बताएको प्रहरीले जनाएको छ ।
‘मलाई पछुतो छैन सर,’ बस्नेतको भनाइ उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई बताए ।
अहिले जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।