३० जेठ २०८३, शनिबार
सुन तस्करीको जालो

सुन तस्कर समूह उत्तरी नाकामा सक्रिय, ६० केजी प्रकरणसँगको कनेक्सन खोज्दै सीआईबी

असोज १६, २०८०
काठमाडौं
सुन तस्कर समूह उत्तरी नाकामा सक्रिय, ६० केजी प्रकरणसँगको कनेक्सन खोज्दै सीआईबी

विमानस्थलबाट ठूलो परिमाणमा सुन समातिएपछि तस्करहरू स्थलमार्ग हुँदै सुन भित्र्याउन सक्रिय देखिएका छन्, सोहीकारण पछिल्लो समय उत्तरी नाकामा सुन समातिने क्रम बढेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६०.७१६ केजी सुन प्रकरणमा अनुसन्धान सकाएर सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता गराएको छ । 

अहिले प्रतिवादीहरूको छुनछेक बहस पनि सकिएको छ । विमानस्थलमा केही टाइट भएको अवस्थामा स्थलमार्गबाट धमाधम सुन भित्रिन थालेको हो ।

असोज १४ गते आइतवार दिउँसो दोलखाको बिगु गाउँपालिका– १ लामाबगरबाट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ४ केजी सुन बरामद गर्‍यो । प्रहरीले चीनको फलाट नाका हुँदै सुन नेपाल आएको हुनसक्ने बताएको छ । 

उक्त सुन स्थानीय अशोक मगरको घर पछाडि ढुङ्गाको चेपमा लुकाएको अवस्थामा फेला पारेको थियो । 

विशेष सूचनाका आधारमा लामाबगरबाट खटिएका इन्स्पेक्टर जयन्त केसी नेतृत्वको ९ सदस्यीय सशस्त्र प्रहरी टोली र इलाका प्रहरी कार्यालय सिङ्गटीबाट इन्स्पेक्टर विक्रम लामाको नेतृत्वमा खटिएको ११ सदस्यीय प्रहरी टोलीले संयुक्त रूपमा सुन बरामद गरेको थियो ।

त्यसअघि असोज ११ गते प्रहरीले दोलखाकै बिगु गाउँपालिका– ३ जामुनेबाट ३ केजी सुनसहित ३ जनालाई पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी दीपक खड्काका अनुसार चीनको फलाट नाकाबाट आएको सुन राति १० बजे इलाका प्रहरी कार्यालय सिङ्गटीको टोलीले बरामद गरेको थियो । त्यसक्रममा ३ जनालाई पक्राउ गरिएको थियो ।

बिगु गाउँपालिका १ लामाबगरका ३० वर्षीय चसमान तामाङ, केशर तामाङ र २७ वर्षीय राज तामाङ पक्राउ परेका थिए । प्रहरीले केशरको कोठामा खानतलासी गर्दा थप ३ केजी सुन बरामद भएको थियो ।

प्रहरीका अनुसार पछिल्लो एक हप्तामा प्रहरीले दोलखाबाटै ११ किलो सुन बरामद गरेको छ । ११ किलो सुन तस्करीमा जोडिएका ७ जनालाई पक्राउ गरिएको दोलखाका डीएसपी खड्काले लोकान्तरलाई बताए । 

त्यसपछि बिगु गाउँपालिका– १ कै माधव घिमिरे, नुर्वु छिरिङ शेर्पा र सुनमाला तामाङलाई पक्राउ गरिएको थियो ।

डीएसपी खड्काका अनुसार अहिलेसम्म बरामद भएको ११ केजी सुन मात्र यो समूहले ल्याएको देखिएको छ ।

‘हामीले बरामद गरेभन्दा धेरै ल्याएको देखिएको छैन, हामीलाई सूचना पनि ११ केजीकै थियो,’ डीएसपी खड्काले लोकान्तरसँग भने ।

मुख्य व्यवस्थापन नुर्वुले गर्दै आएको र काठमाडौं लैजान लागिएको पाइएको प्रहरीले जनाएको छ । चीनबाट कसले पठायो भन्ने खुल्न सकेको छैन ।

नुर्वुले चसमान र पेम्बालाई जिम्मा लगाएका थिए । ९ करोड ९३ लाख ३५ हजार बराबरको सुन बरामद गरेको छ । त्यो रकममा नुर्बुको पनि लगानी देखिएको डीएसपी खड्काले बताए । 

सीआईबीको टोलीले असोज १३ गते २ किलो सुनसहित नेत्रावतीबाट २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङ छन् ।

उनीहरू मोटरसाइकलमा राखेर सुन ल्याउँदै गर्दा पक्राउ परेका थिए ।

सीआईबीको टोलीले सुन बरामद गरेपछि उनीहरूको कनेक्सन साउन २ गते बरामद भएको ६०.७१६ केजी सुन प्रकरणसँग छ कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘रसुवाबाट बरामद भएको र पछिल्लो समयमा बरामद भएका सुनको कनेक्सन ६० केजी छ कि भनेर हेरिरहेका छौं,’ सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले लोकान्तरसँग भनिन् । 

नेपालमा विमानस्थलबाट इलेक्ट्रिक चुरोट (भेप) र स्कूटर मोटरसाइकलको पाटपूर्जा बनाएर सुन ल्याउने र पछिल्लो समयमा स्थलमार्गबाट सुन ल्याउने समूह एउटै भएको प्रहरीको बुझाइ छ । 

अहिले प्रहरीका विभिन्न अंगहरूले यस विषयमा अनुसन्धान गरिरहेको प्रहरी मुख्यालय नक्सालका एक अधिकारीले बताए । ‘एउटै समूहले लगानी गरिरहेको छ भन्ने सूचना छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले पछिल्लो समयमा बरामद भएका सुनको कनेक्सन ६०.७१६ केजीसँग छ कि छैन भनेर सीआईबीले बुझिरहेको बताए । 

‘सीआईबीले कनेक्सनका विषयमा अनुसन्धान गरिरहेको छ,’ प्रवक्ता कडायतले लोकान्तरसँग भने, ‘अहिले डिक्लेयर भएको अवस्था छैन ।’

६०.७१६ केजी सुनको अनुसन्धान चलिरहेकै बेलामा रसुवा नाकाबाट भदौ ३ गते २ केजी सुनसहित २ जना पक्राउ परेका थिए ।

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ का सुदीप शेर्पा र भोटेकोशी गाउँपालिका– १ का फुरसाङ्गु शेर्पालाई पक्राउ गरेको थियो ।

भदौ १७ गते रुसुवामा एक महिला मितेरी पुलबाट पक्राउ परेकी थिइन् । 

गोसाइँकुण्ड गाउँपालिका– ३ वृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङलाई प्रहरीले १ केजी सुनसहित पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्