०९ साउन २०८३, शनिबार

दयाहाङ र मिरुनाको चलचित्र ‘रङ्गेली’ छायांकन नसकिँदै अमेरिकामा बिक्री

कात्तिक १२, २०८०
काठमाडौं
दयाहाङ र मिरुनाको चलचित्र ‘रङ्गेली’ छायांकन नसकिँदै अमेरिकामा बिक्री

हाल छायांकनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ । अमेरिकाको लागि यो चलचित्रको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ले खरिद गरेको हो । 

वितरण अधिकार बिक्रीसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भिआईपी रेड कार्पेट प्रिमियर पनि हुने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरूको उपस्थिति रहने सुवेदीले बताए । 

यसअघि नै यस चलचित्रको जापान, कोरिया र हङकङको लागि वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ । साथै, अस्ट्रेलियामा पनि ‘रङ्गेली’ बिक्री भइसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ । 

आगामी मार्च ८ तारिख (महाशिवरात्रिको दिन फागुन २५ गते)मा यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोवास रहेका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुने पक्का भइसकेको छ । सोही मितिमा रिलिज गर्न अन्य केही मुलुकहरूमा पनि वितरकहरूसँग सम्झौता हुने तयारीमा रहेको निर्माता खतिवडाले बताए । 

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । दशैँको समयमा केही दिन रोकिएको यसको छायाङ्कन हाल अन्तिम चरणमा भइरहेको छ । 

यस चलचित्रका गीतहरूमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईं सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्