
देउरालीमा धजा रिमै
मन उतै नजा, भनेकै मान्दैन
सालैजो...
गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै...’ केही दिनयता निकै चर्चामा छ ।
विगतमा जस्तै यस गीतबाट पनि उनले स्रोता एवं दर्शकको मन जितिरहेका छन् ।
प्रकाशले दशैंको छेकोमा सार्वजनिक गरेको यो गीतले युट्युबमा ४० लाख बढी भ्युज पाइसकेको छ । टिकटकमा गीत छ्यापछयाप्ती छ ।
लोकदोहोरी क्षेत्रमा अलग्गै पहिचान बनाएका प्रकाशले मेलिना राईसँग मिलेर यो गीत गाएका हुन् । ‘जुन माया’पछि उनीहरूको यो दोस्रो सहकार्य हो ।
विशेषगरी गाउँले परिवेशमा रहेर सिर्जनाहरू ल्याउँदै आएका प्रकाशले ‘रिमै...’गीतको भिडियोमा राउटे समुदायको कथा उठान गरेका छन् ।
गीतका शब्द प्रकाश स्वयंमले कोरेका हुन् । उनकै संगीत रहेको गीतलाई बि.बि. अनुरागीतले एरेन्ज गरेका हुन् । भिडियोमा प्रकाश स्वयम र केपिना गोतामेको अभिनय छ ।
राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाती हो । यो समुदायमा कसैको मृत्यु भएमा रितपुर्वक संस्कार गरी केही दिन भित्रमा बसाई सर्ने उनीहरूको परम्परा छ । सोही कथालाई टपक्क टिपेर प्रकाशले यस गीतको भिडियो बनाएका हुन् ।
स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गीतलाई नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा गीतको टिकटक भिडियो शेयर गर्दै उनले दशैँमा सुनेको मीठो गीत भनेका थिए ।
मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन, अनिल के. मानन्धरको छायांकन रहेको गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
प्रकाशका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’ जस्ता गीत निकै हिट छन् ।