
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।
सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा पोष्ट गरेको तस्वीरलाई लिएर फ्यानहरु रिसाएका छन् ।
राजेशले शनिवार ‘मधुमस्ती’ क्याप्सनमा श्रीमती मधु भट्टराईसँगका केही तस्वीरहरू फेसबुकमा सेयर गरेका छन् ।
भूकम्पले ठूलो क्षति पुर्याएको समयमा आएको उक्त पोष्टलाई फ्यानहरूले अशोभनीय भएको प्रतिक्रिया दिएका छन् ।
राजेश भुलको प्रतिक्रिया छ, ‘राजेश दाई तपाई हामी सबैको रोल मोडल हो । तपाई हाम्रो आदर्श हो । आज पूरा नेपाल देश जाजरकोटको भूकम्पले मर्माहत भएका छौँ । अनि हजुर जस्तो महानायकले आजकै दिन यस्तो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न अलिकति पनि सुहाएन । यो पोस्टले के दर्साउँछ भने हाम्रो देशका जनतालाई जे सुकै होस् हजुरलाई केही मतलब भएन ।’
प्रतिक्रियाहरू हेर्दा, दर्शकका प्रिय यी अभिनेता जनतालाई पीडा परेको समयमा समाजसेवामा पनि लागेको फ्यानहरुले हेर्न चाहेको बुझ्न सकिन्छ ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रवार राती गएको भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको छ ।