
गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीतले तीन सातामै युट्युबमा करोड भ्युज पाएको छ ।
दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै...’ सोमवार करोड क्लबमा प्रवेश गरेको हो ।
यो गीतले स्रोता एवं दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । गीतलाई सबैले तारिफ गरेका छन् ।
लोकदोहोरी क्षेत्रमा अलग्गै पहिचान बनाएका प्रकाशले मेलिना राईसँग मिलेर यो गीत गाएका हुन् । ‘जुन माया’पछि उनीहरूको यो दोस्रो सहकार्य हो ।
गीतका शब्द प्रकाश स्वयंमले कोरेका हुन् । उनकै संगीत रहेको गीतलाई बि.बि. अनुरागीतले एरेन्ज गरेका हुन् । भिडियोमा प्रकाश स्वयम र केपिना गोतामेको अभिनय छ । कलाकारहरूको अभिनय समेत भिडियोमा निकै सुहाएको छ ।
विशेषगरी गाउँले परिवेशमा रहेर मौलिक सिर्जनाहरू ल्याउँदै आएका प्रकाशले ‘रिमै...’गीतको भिडियोमा राउटे समुदायको कथा उठान गरेका छन् ।
मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन, अनिल के. मानन्धरको छायांकन रहेको गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
म्याग्दीमा जन्मिएका प्रकाशका यसअघिका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’ जस्ता गीत निकै हिट छन् । अब, उनका हिट गीतको लिस्टमा ‘रिमै...’ पनि थपिएको छ ।