२९ जेठ २०८३, शुक्रबार
प्रदर्शन रोक्ने निर्णयपछिको तरंग

‘दिमाग खराब’को विद्रोह : हलवालाविरुद्ध चलचित्रकर्मीहरूको एक स्वर

कात्तिक ३०, २०८०
काठमाडौं
‘दिमाग खराब’को विद्रोह : हलवालाविरुद्ध चलचित्रकर्मीहरूको एक स्वर

दुईवटा माग पूरा नभए शुक्रवारबाट ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्माण पक्षको निर्णयलाई चलचित्रवृत्तमा चासोका साथ हेरिएको छ । 

दिनप्रतिदिन दर्शक बढिरहँदा पनि हलहरूले पर्याप्त शो नदिएको गुनासो चलचित्र टीमको छ । विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो दिनुपर्ने उनीहरूको माग छ । अर्कातर्फ उनीहरूको आपत्ति चलचित्र निर्माता र हल सञ्चालकबीच हुने शेयर बाँडफाँटलाई लिएर छ । पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०–५० प्रतिशत हुन्छ । 

तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रतिशत र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँडिन्छ । चलचित्र प्रदर्शन भइरहँदासम्म बराबरी शेयर बाँडफाँड हुनुपर्ने माग ‘दिमाग खराब’ टीमको छ । ‘हामीले चाहेको समान व्यवहार हो । र, जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र चलचित्र प्रदर्शन भइरहुञ्जेल बराबरी शेयर बाँडफाँड हुँदैन, तबसम्मका लागि नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं,’ निर्माता रौनक विक्रम कंडेल र निर्देशक निश्चल बस्नेतले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौं । नभए अरु कुनै माध्यमबाट चलचित्र दिमाग खराब दर्शकलाई देखाउने छौं भन्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ 

निर्माण पक्षको विज्ञप्ति

उठ्दै आएको विषय

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ वर्ष २०७९ को वैशाखमा एकै दिनबाट प्रदर्शनमा आएका थिए । त्यसबेला नेपाली चलचित्रमाथि विदेशी चलचित्रको दबदबाको विषय चर्चामा आएको थियो । शो विभाजनमा विदेशी चलचित्रको पेलानमा परेपछि ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोश पोखेका थिए ।

अघिल्लो वर्षको भदौमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रकाश’ले पनि प्रदर्शकमाथि आक्रोश पोखेको थियो । त्यसबेला रिलिजको पहिलो दिन नै रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा त्यस चलचित्रका अभिनेता प्रदीप खड्काले हिन्दीको तुलनामा नेपाली चलचित्रलाई कम शो दिएर विभेद गरेको आरोप लगाएका थिए । त्यसबेला अर्को चलचित्र ‘राधा’ले शो विभाजनमा अन्याय भएको भन्दै प्रदर्शन रोकेको थियो । 

निर्माता/निर्देशकको समर्थन

यतिबेला ‘दिमाग खराब’ले उठाएका मागमा चलचित्र निर्माता र निर्देशकहरूले ऐक्यबद्धता जनाइरहेका छन् । चलचित्र ‘पशुपति प्रसाद’ फ्रेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘दिमाग खराब’ टीमले सार्वजनिक गरेको प्रेस विज्ञप्ति आफ्नो फेसबूक वालमा पोस्ट गर्दै लेखेका छन्, ‘पर्दाभित्र पात्रहरूको संघर्ष, पर्दाबाहिर पात्र बनाउनेहरूको संघर्ष ।’ चलचित्र ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशक बस्नेतको पोस्ट शेयर गर्दै मागप्रति ऐक्यबद्धता जनाएका छन् । 

समीक्षात्मक रूपमा निकै रुचाइएको चलचित्र ‘ऐना झ्यालको पुलती’का निर्देशक सुजित बिडारीले आफ्नै चलचित्र प्रदर्शनताकाको अनुभव शेयर गरेका छन् । 

‘ऐना झ्यालको पुतालीका वितरकले नै ब्रह्मास्त्र नेपाल भित्र्याएपछि मैले वितरकसँग सोधेको थिएँ कि यो त मिलेन नि हैन र ? अनि वितरकको जवाफ थियो, ‘मैले नल्याए अर्कोले ल्याइहाल्छ’ । ठ्याक्कै त्यस्तै जवाफ मैले हालसालै प्यालेस्टाइनका जनताको घर क्याप्चर गर्दै गर्दा एउटा इजराइलीले दिएको सुनें, ‘मैले कब्जा नगरे अर्कैले गरिहाल्छ, बरु मैले केही हिंसा नगरी कब्जा गर्दैछु,’ बिडारीले प्रश्न गरेका छन्, ‘लूटका निर्देशकको अवस्था यस्तो छ भने तपाईं कल्पना गर्नुस् त, एउटा नयाँ मेकरको अवस्था कस्तो हुन्छ होला ?’ 

‘झिंगेदाउ’ निर्देशक ज्ञानेन्द्र देउजा, ‘ऐँचो पैँचो’ निर्देशक कृषा चौलागाईं, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, अभिनेता असिफ शाहलगायतले ‘दिमाग खराब’ टीमको निर्णयमा ऐक्यबद्धता जनाएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ‘दिमाग खराब’ टीमको निर्णयमा ऐक्यबद्धता जनाउँदै यो कदमलाई पूर्णता दिन सबै निर्माता, चलचित्रकर्मीहरू एकताबद्ध भई अगाडि बढ्न समेत आह्वान गरेका छन् । पुराना अभिनेता कृष्ण मल्लले ‘दिमाग खराब’ टीमलाई सुझाव दिएका छन् । ‘शोलाई निरन्तरता पनि दिनुस्, शो बढाउने प्रयत्न पनि जारी राख्नुस्,’ उनको सुझाव छ, ‘एकचोटि उत्रेको चलचित्र र एकचोटि टुटेको स्टारडम फेरि चल्न गाह्रो छ । अरूको दिमाग पो खराब पार्ने त, आफ्नै दिमाग त खराब नपार्नुस् । म छु भन्नेहरू कसैको विश्वास नगर्नुस् ।’

निर्देशक दीपेन्द्र लामाले चलचित्र र हलवाला दुवै बाँच्ने उपाय निकाल्दै ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिन जरुरी रहेको बताएका छन् । एउटा भर्भराउँदो चलचित्रको हत्या हुन नहुने उनी बताउँछन् । 

यता, ‘दिमाग खराब’ले उठाएका मागप्रति चलचित्र निर्माता संघले ऐक्यबद्धता जनाएको छ । संघको बिहीवार बसेको बैठकले चलचित्रको टीमले उठाएका माग जायज रहेको भन्दै समर्थन जनाउने निर्णय गरेको हो । 

चलचित्र निर्माता संघको विज्ञप्ति

चलचित्र प्रदर्शकबाट नेपाली चलचित्रलाई सधैं सौतेनी व्यवहार हुने गरेको समेत संघले बताएको छ । बैठकपश्चात संघका महासचिव सुनिलकुमार थापाद्वारा जारी विज्ञप्तिमा प्रदर्शकको साझा संस्था चलचित्र संघलाई वार्ताको आह्वान समेत गरिएको छ, अन्यथा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत निर्माता संघले दिएको छ । यस सन्दर्भमा हल सञ्चालकहरूको कुनै आधिकारिक धारणा आइसकेको छैन । यही विषयमा छलफलका लागि हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघको बैठक बसिरहेको महासचिव नरेन्द्र महर्जनले बताए ।

चलचित्र संघको बैठक बसिरहँदा मल्टिप्लेक्सअन्तर्गतको क्यूएफएक्सले काठमाडौंमा शुक्रवारका लागि ‘दिमाग खराब’लाई हिन्दी चलचित्रसरह शो दिएको छ । बिग मुभिज, आईएनआई, वान सिनेमाजले भने बिहीवार साँझसम्म शुक्रवारका लागि ‘दिमाग खराब’को शो उपलब्ध गराएका छैनन् । कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का लगायतको शीर्ष भूमिका छ । 

 

salt training

कमेन्ट गर्नुहोस्