२८ जेठ २०८३, बिहीबार
निर्देशनमा निश्चलको 'कमब्याक'

चर्चा 'दिमाग खराब'को : कस्तो छ निश्चल बस्नेतले ७ वर्षपछि निर्देशन गरेको चलचित्र ?

मंसिर २, २०८०
काठमाडौं
चर्चा 'दिमाग खराब'को : कस्तो छ निश्चल बस्नेतले ७ वर्षपछि निर्देशन गरेको चलचित्र ?

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।

२०७३ मा ‘लुट– २’ निर्देशन गरेयता निश्चल निर्देशकका रूपमा सक्रिय थिएनन् । झण्डै ७ वर्षपछि ‘दिमाग खराब’मार्फत उनी निर्देशनमा फर्किएका कारण यो चलचित्रलाई बहु–प्रतिक्षित मानिएको थियो ।

त्यसमाथि, दर्शकको चाप रहिरहँदा पनि पर्याप्त शो नदिएको भन्दै हलबाट चलचित्र उतार्ने घोषणाले पनि यसको थप चर्चा भइरहेको थियो । यद्यपि, चलचित्र अब मंगलवारसम्म निरन्तर प्रदर्शन हुने सहमति जुटिसकेको छ । त्यसपछि के हुन्छ ? सोही दिन निर्णय हुने जनाइएको छ । 

प्रतीक्षित मानिएको र अन्य विभिन्न कारण पनि चर्चामा आएको चलचित्र ‘दिमाग खराब’ कस्तो छ ? छोटकरीमा चर्चा गरौं । 

चलचित्रको मुख्य पात्रमा इन्द्र (खगेन्द्र लामिछाने) छन् । कथाअनुसार अभियाननगर नामक नगरपालिका निवासी यी पात्रको एक श्रीमती, बिरामी आमा र सानी छोरीको परिवार छ । गरिब परिवारका इन्द्रको ठूलो सपना छैन । 

पारिवारिक जीवनलाई सहज बनाउन उनी वैदेशिक रोजगारीमा जान चाहन्छन् । तर, एयरपोर्टमा पुगेपछि भिजिट भिसामात्रै भएका कारण ऊनी विदेश जानबाट रोकिन पुग्छन् । गाउँ फर्किएर उनले विदेश जान फेरि पर्यन्त गर्न थाल्छन् । 

इन्द्रकै नगरपालिकाको मेयरको भूमिकामा हरिप्रसाद (अर्पण थापा) छन् । इन्द्र भिसाका लागि मेयर गुहार्न पुग्छन् । मेयरलाई सय भोट खोजिदिए विदेश जान पाउने आश्वासन पाउँछन् । 

त्यसपछि इन्द्रसामु विभिन्न परिस्थितिहरू आउँछन्, जसका कारण ऊनी राजनीतिमा होमिने ‘बोल्ड’ निर्णय लिन पुग्छन् । त्यसपछि के हुन्छ ? थाहा पाउन २ घण्टा ३० मिनेट लामो चलचित्र नै हेर्नुपर्ने हुन्छ । 

चलचित्रको शुरूआतमै एयरपोर्टको दृश्य छ, जहाँ इन्द्र पात्र विनाजुत्ता/चप्पल लाइनमा हुन्छन् । त्यसबाट पनि बुझ्न सकिन्छ, ‘दिमाग खराब’ भुइँमान्छेको कथा हो । 

समग्रमा भन्नुपर्दा पुराना दल र नेता एवं उनीहरूको कार्यशैलीबाट जनता कतिसम्म निराश छन् भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । 

आफूले चुनेर पठाएको नेतृत्वले सोझासिधा जनतालाई कसरी ठगिइरहेका छन् ? त्यसरी ठग्ने नेतृत्वविरुद्ध साधारण जनतामा विद्रोहको आगो सल्कियो भने त्यसले कुन रूपसम्म लिनसक्छ भन्ने नै चलचित्रको मूल कथा हो । 

चाहे गत स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ र बालेन शाहले ल्याएको अनपेक्षित मत होस् चाहे प्रतिनिधिसभाको निर्वाचनमा रवि लामिछाने नेतृत्वको दलले ल्याएको अनपेक्षित मतले पनि पुराना दल र नेताप्रति जनताको निराशालाई पुष्टि गरेको थियो । यसपटक निश्चलले ‘दिमाग खराब’मार्फत सोही कथालाई चलचित्रको पर्दामा देखाउने प्रयास गरेका छन् । 

चलचित्रमा स्वस्तिमा खड्का इन्द्रको श्रीमती सची पात्रको भूमिकामा छिन् । दयाहाङ राई इन्द्रको साथी भोलाको भूमिकामा छन् । विजय बराल मेयर हरिप्रसादको सहयोगी बले पात्रको भूमिकामा छन् । 

सुमन कार्कीले सामाजिक अभियन्ता निरज गौडेल नामक पात्रको भूमिका निर्वाह गरेका छन् । अभिनयको कुरा गर्दा प्रायः कलाकारले अन्याय गरेका छैनन् । इन्द्रको भूमिकामा खगेन्द्र फिट छन् । उनले चलचित्रमा कथा लेखन मात्र राम्रो होइन, अभिनय पनि राम्रो गर्दारहेछन् भन्ने फेरि प्रमाणित गरिदिएका छन् । 

सचीको भूमिकामा स्वस्तिमा चलचित्रमा सबैभन्दा अब्बल देखिएकी छिन् । यस चलचित्रबाट उनले फेरि अभिनयमा अब्बल अभिनेत्रीका रूपमा आफूलाई उभ्याएकी छन् । 

दयाहाङको भोला पात्रलाई पनि दर्शकले उत्तिकै रुचाउँछन् । अर्पण थापाले प्रायः चलचित्रमा प्रशंसा नै पाएका हुन्छन् । विजय बरालको लुक्स र अभिनय दुवै गज्जब सुहाएको छ । कमेडियन सुमन कार्कीले यसबाट चलचित्रमा पनि बलियो सम्भावना देखाएका छन् ।

बिरामी आमाको भूमिकामा रमा थपलियाले सशक्त अभिनय गरेकी छिन् । चलचित्रमा निश्चल बस्नेत स्वयंले समेत अभिनय गरेका छन् । निर्मलको भूमिकामा प्रस्तुत उनको आगमनमा दर्शकले हूटिङ गरिरहन्छन् । 

पञ्चलाइन दिनकै लागि संवाद राखिएका छैनन्, बोलीचालीकै संवाद प्रयोग गरिएको छ, यसले लेखकको क्षमता देखाउँछ । 

चलचित्रमा एकपछि अर्का ‘ट्विस्ट’हरू आउँछन्, जसले दर्शकलाई भड्किन दिँदैन । पहिलो हाफजस्तै दोस्रो हाफमा केही काँटछाँट भएको भए अझ बुलन्द हुन्थ्यो भन्ने महसुस चाहिँ हुन्छ । चलचित्रमा ‘हितैको माया’ र ‘हजुरी’ बोलको गीतको प्रयोग सुहाउँदो छ । गीतहरू पनि सुन्दर लाग्छन् । 

ब्याकग्राउन्ड स्कोर, छायांकन पक्ष औसत छ । चलचित्रभित्र केही कमीकमजोरी अवश्य छन् । निश्चलले निर्वाह गरेको निर्मलको पात्रको पछि लागेर अन्य युवाहरू किन हिँडिरहेका हुन् बुझ्न सकिँदैन । निर्देशक स्वतन्त्र उम्मेद्वारतर्फ ढल्किएको भान हुन्छ । आफूले चुनेर पठाउने नेतृत्वप्रति सजग बन्न भने वर्तमान समाजलाई चलचित्रले सन्देश दिन्छ । 

चलचित्रका कलाकारहरू

क्लाइमेक्सतिर उमेदवारी मनोनयनको दृश्यमा कानूनी प्रक्रियाबारे निर्माण पक्षलाई ज्ञान नभएको हो कि भन्ने भान पनि हुन आउँछ । केही कमीकमजोरी हुँदाहुँदै पनि निश्चलले निकै रोचक तरिकाले कथा भनेका छन् । 

हलिउडमा जसरी सुपरहिरो चलचित्रहरू धेरै बनिरहेका छन्, त्यही अनुपातमा नेपालमा पछिल्लो समय सामाजिक–राजनीतिक विषयवस्तुमा चलचित्रहरू बनिरहेका छन् । यद्यपि, राजनीतिक पृष्ठभूमिका चलचित्रहरूको माझमा ‘दिमाग खराब’ माझिएको लाग्छ । 

भन्न सकिन्छ, यत्तिको नेपाली चलचित्र हेर्ने अवसर बिरलै पाइन्छ । हेर्दा पैसा खेर जाँदैन । 

चलचित्र : दिमाग खराब

कलाकारहरू : खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायत

निर्देशक: निश्चल बस्नेत

कथा लेखक: आकाश बराल

समय: २ घण्टा ३० मिनेट

 

salt training

कमेन्ट गर्नुहोस्