
नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा पनि प्रदर्शनमा आएको छ ।
मध्यपूर्वका देशहरू दुबई, बहराइन र कतारमा एकसाथ फिल्मको प्रदर्शन सुरु भएको हो ।
तीनवटै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्वका वितरक अनिशसिंह ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार फिल्मले दुबईमा १७ , कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ । ‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ ठकुरीले भने, ‘नेपालमा हिन्दी फिल्मको चेपुवामा परेर दर्शक संख्या राम्रो हुँदाहुँदै दिमाग खराबले कम शोज पाएको अवस्थामा हामीले दुबईमा राम्रो शोज पाएका छौँ । पहिलो दिन धेरैजसो हलमा हाउसफुल दर्शक देखिए । त्यसैले शोज संख्या अझै बढ्न सक्छ ।’
ठकुरीका अनुसार ‘दिमाग खराब’ २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि प्रदर्शन हुँदैछ ।
निश्चल बस्नेतले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की आदि कलाकारले अभिनय गरेका छन् ।
आकाश बरालको कथा लेखन रहेको यो फिल्मको निर्माता रौनक विक्रम कँडेल हुन् ।