
यस वर्ष ठूला चाडबाडको अवसर पारेर ‘परदेशी २’, ‘पशुपति प्रसाद २ः भस्मे डन’, ‘दिमाग खराब’जस्ता बहुप्रतिक्षित चलचित्रहरू प्रदर्शनमा आए ।
दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भस्मे डन’ दुवै चलचित्रले राम्रो व्यापार गरे । तिहारको अवसर पारेर प्रदर्शनमा आएको ‘दिमाग खराब’ले दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको छ ।
ठूला चाडबाड सकिएसँगै अब भने हलमा नेपाली चलचित्रको खडेरी हुने देखिएको छ ।
विगतमा महिनामा ८ वटासम्म चलचित्र प्रदर्शनमा आउने गरेकोमा अबका केही महिना महिनामा २ देखि ३ वटासम्म मात्रै चलचित्र प्रदर्शनमा आउने देखिएको छ ।
गत शुक्रवार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएनन् । आउँदो शुक्रवारका लागि पनि नयाँ चलचित्र छैनन् । वितरक करण श्रेष्ठ फागुनको अन्तिमसम्म हलमा चलचित्रको खडेरी हुने देखिएको बताउँछन् ।
‘अब एकैपटक मंसिर २९ मा मात्र नेपाली चलचित्र रिलिज हुँदैछन् । त्यसपछि फेरि केही हप्ता चलचित्र छैनन्,’ श्रेष्ठले लोकान्तरसँग भने ।
यसवर्ष चलचित्र निर्माण नै घटेको उनी बताउँछन् । अधिकांश निर्माता एवं निर्देशकहरूले प्रदर्शनका लागि चाडपर्व र बिदालाई लक्षित गर्दा मंसिरसँगै आगामी महिना चलचित्रको खडेरी देखिन लागेको वितरक श्रेष्ठ बताउँछन् ।
‘चलचित्र नै कम छन् । जति छन्, बिदा र चाडपर्वलाई लक्षित गरिएको छ । त्यसले गर्दा केही साता पूरै खाली देखिएको छ । बिदा र चाडपर्व भए फेरि दुई वा दुईभन्दा बढी चलचित्र पनि जुधेका छन्,’ उनले भने ।
त्यसो त मंसिरसँगै जाडोयाम शुरू हुने भएकाले त्यसपछिका केही महिना चलचित्र रिलिज गर्न निर्माताहरू उत्ति अग्रसर रहँदैनन् ।
यद्यपि, प्रदर्शनमा आउने चलचित्रहरू अरूसँग भिड्नुभन्दा सिंगल आउँदा राम्रो हुने वितरक श्रेष्ठ बताउँछन् ।
अबको शेड्युल– कुनै साता रित्तै, कुनै साता तीनवटासम्म
मंसिर २९ मा ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आउँदैछन्, त्यसपछि एकैपटक पुस २७ मा मात्र नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउनेछन् ।
पुस २७ गतेका लागि ‘पर्खी बसेँ तिमीलाई’, ‘चित्रा’ र ‘देववाणी’ गरी तीन चलचित्रले प्रदर्शन मिति तय गरेका छन् । माघे संक्रान्तिलाई लक्षित गर्दै यी चलचित्र प्रदर्शनमा आउन लागेका हुन् ।
त्यसपछि फेरि दुईसाता कुनै नेपाली चलचित्रले प्रदर्शन मिति तोकेका छैनन् । माघ १९ का लागि ‘नम्बरी सुन’ले प्रदर्शन मिति तय गरेको छ । माघ २६ का लागि ‘हात्तीछाप’ र ‘दयारानी’ गरी दुई चलचित्रले प्रदर्शन मिति तय गरेका छन् ।
फागुन २५ का लागि ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’को प्रदर्शन मिति घोषणा भइसकेको छ । महाशिवरात्रिको अवसर पारेर यी चलचित्र प्रदर्शनमा आउने घोषणा भएका हुन् ।
निर्माता संघका अध्यक्षकै चलचित्र जुध्नुपर्ने बाध्यता
चलचित्र प्रदर्शनका लागि फागुनयताका धेरै साता खाली छन् । विभिन्न मिति खाली हुँदाहुँदै अन्य निर्माता, निर्देशकले आफूले घोषणा गरिसकेको मिति रोजेपछि दुःख लागेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का गुनासो गर्छन् ।
खड्का फागुन २५ का लागि प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘काँडेतार’का निर्माता, निर्देशन एवं अभिनेता हुन् ।
शुरूआतमा आफूले प्रदर्शन मिति घोषणा गरे पनि पछि अरू चलचित्रहरू जुध्न आएको भन्दै उनले भने, ‘मेरो चलचित्र दशैं/तिहारमा प्रदर्शनमा ल्याउन सक्थे होला, तर मैले कसैले प्रदर्शन मिति नतोकिसकेको फागुन २५ मा चलचित्र ल्याउने घोषणा गरेँ । तर, अहिले अरू चलचित्रहरू त्यही मितिमा जुध्न आए ।’
आफ्नो राष्ट्रियता बोकेको चलचित्रलाई सहयोग गर्नुपर्नेमा झन जुध्न आउँदा दुःख लागेको खड्काले बताए ।