१४ असार २०८३, आइतबार

नारामै सीमित नेपालको पर्यटन व्यवसाय

कात्तिक २०, २०७४
नारामै सीमित नेपालको पर्यटन व्यवसाय
‘दीगो पर्यटन विकासको साधन’ भन्ने मूल नाराका साथ नेपालमा पनि ३८ औं विश्व पर्यटन दिवस मनाईदैंछ । नेपालीहरुको ठूलो पर्व वडा दशैंको फूलपातीका दिन पर्यटन दिवस परेकाले सरकार तथा नीजि क्षेत्रले दिवसका सन्दर्भमा सामान्य कार्यक्रम मात्र गरेका छन् ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफले दिवसकै सन्दर्भ पारी नेपालमा तीनवटा गाउँलाई पयर्टकीय गाउँ समेत घोषणा गरेको छ ।

विश्व बजारमै अर्थतन्त्रको प्रमुख पाटो मानिएको पर्यटनलाई प्रत्येक वर्ष विश्वभरी दिवसका रुपमा सेप्टेम्बर २७ तारिखमा मनाइने गरिन्छ ।

पर्यटन भनेको कुनै पनि मानिस कुनै उद्देश्यसहित एकदिनभन्दा बढी समयका लागि घर तथा डेराभन्दा बाहिर गएर बस्ने भन्ने बुझिन्छ ।

विश्वमा भइरहेका विभिन्न परिवर्तनसँगै विश्वभरीका मानिसहरु नजिक भएका छन् । प्रविधिले आम मानिसलाई सानो घेरामा राखिदिएको छ । यसै क्रममा एक देशबाट अर्को देशको विषयमा जानकार हुनेहरुको संख्यासमेत बढेको छ । नयाँ सुन्दर ठाउँ, भिन्नै परिवेशमा घुम्न, रमाईलो गर्न, अध्ययन अनुसन्धान गर्न नयाँ–नयाँ ठाउँहरुमा पर्यटकको रुपमा जानेहरुको संख्या पनि बढ्न थालेको छ ।

विश्व बजारमै उत्कृष्ट गन्तब्यको सूचीमा नेपाल पनि छ । नेपाल विकासका दृष्टिकोणले निकै पछाडी भए पनि पहाडै पहाड, सुन्दर खोलानाला र हिमालैहिमाल, आफ्नै मौलिक संस्कृतिले भरिएकोले धेरै मानिसको रोजाईमा पर्ने गरेको छ । नेपालमा यहाँका मठमन्दिर, तीर्थस्थल तथा मौलिक संस्कृति र हिमाल चढ्ने तथा यिनै विषयमा अध्ययन गर्ने उद्देश्यले पर्यटक आउने गरेका छन् ।

पछिल्लो समय नेपाल सरकारले पनि पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको प्रमुख आधार भन्न थालेको छ । फलस्वरुप पर्यटनको विस्तारका विभिन्न अवधारणाहरु समेत आउन थालेका छन् । खासगरी नेपालमा हाल धार्मिक, सांस्कृतिक तथा पर्वतीय पर्यटन गरी तीनवटा विधाको पर्यटनले गति पाइरहेको छ भने अन्य नयाँ–नयाँ खालका अवधारणहरु समेत यो क्षेत्रमा आउन थालेका छन् ।

नेपालका प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा सुदूरपश्चिमका उच्च पहाडी जिल्ला, कर्णाली क्षेत्र तथा नेपालका उच्च हिमाली क्षेत्रहरु हुन् भन्ने कुरामा दुईमत छैन ।

सरकारले भनिरहेको आर्थिक विकासको मेरुदण्ड पर्यटन भन्ने कुरामा सायदै आम नेपाली एकमत छन् । यद्यपि यस क्षेत्रको विकासका लागि आवश्यक कदम सरकारले चाल्न सकेको छैन । प्रत्येक वर्ष पर्यटन दिवस मनाइरहँदा नारामा मात्रै हैन, सार्थकता पाउन जरुरी देखिन्छ । सरकार तथा समग्र पर्यटन क्षेत्रले यी कुरामा ध्यान दिन सके साँच्चिकै पर्यटन विकासको मेरुदण्ड बन्नेछ ।

पूर्वाधार निर्माण

पर्यटन विकासको पहिलो आधार नै पूर्वाधारहरुको यथोचित विकास हो । पूर्वाधार भन्नाले खासगरी उचित रुपमा बाटोघाटोको निर्माण भन्ने नै बुझिन्छ । नेपाल अत्यन्तै सुन्दर छ, तर सबै ठाउँमा पुगेर त्यही ठाउँमा मनोरम दृष्य नियाल्दै सुखानुभुति गर्न हामी सक्दैनौं, त्यसको प्रमुख कारण बाटोघाटोको अभाव नै हो । जस्तै– नेपालको विकट क्षेत्र कर्णाली पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुँदाहुँदै पनि बाटोघाटो निर्माण तथा यातायात अभावका कारण राज्यबाट निकै टाढा देखिन्छ । यो एक उदाहरणमात्रै हो ।

प्रविधिको विकाससँगै विश्व बजार एकै भएको बेला हामी बाटोघाटो कै अभावमा रुमल्लिएका छौं । यदि देशभरी सबै ठाउँमा बाटोघाटो निर्माण गरी यातायात पु¥याउन सके आम आन्तरिक तथा बाह्य पर्यटकहरु गाउँ–गाउँ पुग्न सक्छन् । तीनै गाउँघरको आर्थिक संबृद्धिमा टेवा पुग्नेछ, तब मात्रे यो वर्ष दिवसको नारा विकासका लागि दीगो पर्यटनले सार्थकता पाउनेछ ।

हवाई सञ्जालको विस्तार

पर्यटन विकासको अर्को महत्वपूर्ण पाटो हवाई संजालको विस्तार गर्नु हो । विश्वभरीका जुनसुकै देशबाट नेपाल आउन हवाई मार्ग नै प्रमुख हो । नेपालमा रहेका पर्यटकीय विधाको परिभाषा र प्रकृति अनुसार पर्यटकहरु तान्न सकिने विश्वभरीका केही मुलुकमा हवाई क्षेत्रको पहुँच पु¥याउन सके मात्रै पनि यो क्षेत्रको धेरै हदसम्म विकास गर्न सकिन्छ ।

पर्यटनको सुक्ष्म अध्ययन

नेपालको पर्यटनलाई सरकारले उचित परिभाषा नै दिन सकेको छैन । पर्यटक र पर्यटन शब्दमा बेलाबेला विवाद भइरहने समस्या देखिन्छ । यसैक्रममा पछिल्लो वर्ष पर्यटकहरुका लागि प्रयोग गरिने हरियो नम्बर प्लेटको सवारी साधनमै विवाद देखिएको छ । यसको कारण नै सरकार र यो क्षेत्रका व्यवसायीहरुबीचमा पर्यटन के हो वा पर्यटक को हुन् भन्ने स्पष्ट नभएको जस्तो देखिएको छ । यसका लागि नेपालमा भैरहने तथा हुने गरेका पर्यटकीय क्रियाकलापहरुलाई क्षेत्रगत रुपमा विभाजन गरी अध्ययन अनुसन्धान गरिनुपर्छ । खासगरी पर्यटन तथा पर्यटकहरुको उचित परिभाषा नै हुन नसकेको नेपालमा सबै क्षेत्रको पर्यटनको पहिचान हुनु जरुरी छ । यसैगरी अर्थतन्त्रमा टेवा पु¥याउनका लागि पर्यटकीय गतिविधिहरुको प्रभावकारी रुपमा विस्तार पनि गरिनुपर्छ ।

बजेटमा प्रभावकारिता

सरकारले पर्यटन क्षेत्रलाई प्राथमितामा राखेसँगै केही वर्षयता यो क्षेत्रमा बजेट बढाउन थालेको छ । यद्यपि सरकारले बढाएको बजेटको सही सदुपयोग हुन नसक्दा विकासले भने गति लिन सकेको छैन । सरकारले नेपाल पर्यटन बोर्डमार्फत पुरै पर्यटन क्षेत्रका लागि बजेट निकासा गर्ने गरेको छ । तर कार्यविधिले नै के–कस्तो कार्यक्रम भन्ने स्पष्ट नभई बजेट वितरण गर्ने गरेको पाईन्छ । यसै विषयमा पर्यटन बोर्ड विवादमा पनि आउने गरेको छ ।

पर्यटन बोर्डबाट निकासा हुने रकमको स्पष्ट उद्देश्य नै नभएको पाईन्छ । बोर्डले यो क्षेत्रमा काम गरेका केही व्यक्ति तथा संस्थाहरु मार्फत विकासका काम गर्ने नाममा रकम दिने गर्छ तर भनेजस्तो तथा उपलब्धिमुलक काम पनि हुन सकेको छैन । यसका लागि सरकारले नै एकीकृत योजना ल्याउने र सुक्ष्म रुपमा क्षेत्रगत अध्ययनका आधारमा बजेट विनियोजन तथा कार्यान्वयनमा ध्यान दिनुपर्छ ।

व्यवसायिक विकास

नेपालको पर्यटन क्षेत्रको सुरुवात निजी क्षेत्रले गरेको कुरा सर्वस्वीकार्य छ । पछिल्लो समय सरकारले पनि यो क्षेत्रको विकासका लागि आफ्नो उपस्थिति देखाउन थाले पनि व्यवसायिक रुपमा उचित व्यवस्थापन हुन सकेको छैन । पर्यटन व्यवसाय सेवामुलक व्यवसाय मानिन्छ । विश्व बजारबाट आएका मानिस तथा नेपालमै एक ठाउँबाट अर्को ठाउँमा जान चाहने व्यक्तिहरुको ब्यवस्थापन विभिन्न तरिकाबाट व्यवसायीहरुले गर्ने गरेका छन् ।

यद्यपि पर्यटन क्षेत्र अहिले पनि व्यवसायिक बन्न भने सकेको छैन । पछिल्लो समय व्यवसायमै राजनीतिकरण हुँदा यो क्षेत्र विकृतिको दलदलमा फसेको छ । जसका कारण व्यवसायी–व्यवसायी बीचमै समन्वय नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकेका छैनन् ।

स्पष्ट कानुनी व्यवस्था

नेपालको ठूलो समस्या नै नितीगत अस्पष्टता हो । यहि समस्या पर्यटन क्षेत्रमा पनि देखिन्छ । पर्यटनका सबै गतिविधिको समन्वयका लागि पर्यटन बोर्ड नै स्थापना भए पनि सबै गतिविधिहरु बोर्डबाट हुने गरेका छैनन् । खासगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत हेर्दा पर्यटनको परिभाषा नै साँघुरो देखिन्छ ।

मन्त्रालयको नामको आधारमा हेर्दा नेपालको संस्कृतिलाई मात्रै पर्यटन भनिएको हो या उड्डयन क्षेत्र फेरि छुट्टै हो कि ? अझ भनौं संस्कृति र पर्यटन छुट्टाछुट्टै शब्द हुन् भन्नेजस्तै बुझिन्छ । अझै पछिल्लो समय सरकारले नै बहसमा ल्याएका पर्यटनका नयाँ अवधारणा कृषि पर्यटन, शिक्षा पर्यटन, स्वास्थ्य पर्यटन जस्ताको समन्वय कुन मन्त्रालयले गर्ने वा के गर्ने ? हामी सबैलाई अन्योल सिर्जना भएको छ । यस्तो असपष्टताका बीच यो क्षेत्रका वैधानिकताका कुरा पनि अस्पष्ट नै छन् ।

यो क्षेत्रको व्यावसायिक वैधानिकतादेखि लिएर विभिन्न क्रियाकलापहरुका लागि स्पष्ट नीति अभाव हुँदा यो क्षेत्रका संघसंस्था आफैँले आफ्नो नियम बनाएर काम गरिरहेका छन् । जुन एकनीति हुन असम्भव छ । यही नीति तथा कानूनी अस्पष्टताका कारण गैर कानूनी क्रियाकलापहरु पनि बढेको देखिन्छ । यो क्षेत्रभित्र रहेको क्यासिनो सबैभन्दा बढी विवादित छ भने ट्रेकिङ क्षेत्रमा समेत बिकृति बढेको सुन्नमा आउने गरेको छ । यो कुरातर्फ पनि सरकारले ध्यान दिने कि ?

राजनीतिक अस्थिरता

नेपालमा जरो गाडेको राजनीतिक अस्थिरताका कारण आम नेपालीको दैनिकी नै अस्तब्यस्त छ, यो क्षेत्र अछुतो रहने कुरै भएन । नेपालका राजनीतिक दलहरु विकास तथा पूर्वाधार निर्माणको ख्याल नै नगरी आफ्नो सत्ताका लागि लुछाचुँडीमा व्यस्त छन् । यही अस्थिरताका कारण सरकारी योजनाहरु समयमै अगाडी बढ्न सकेको छैनन् । मन्त्री बन्ने, विदेश भ्रमण गर्ने, जनतालाई आश्वासन दिने वा सपना छर्ने नेता कार्यकर्ताले आफुले गरेका काम हेर्न नसक्दा यी र यस्ता दिवस वर्षेनी आइरन्छन् र नारा घन्काएर गइरहन्छन् ।

दक्ष जनशक्तिको अभाव

बढ्दो बेरोजगारीका कारण अधिकांश युवाहरु विदेश पलायन हुने गरेका छन् । जसका कारण नेपालका प्रत्येक क्षेत्रमा युवा जनशक्तिको अभाव देखिन्छ । सरकारले व्यवस्थित गर्न नसकेको पर्यटन क्षेत्र विस्तारै व्यवसायी आफैंले जानी–नजानी विस्तारको दिशामा अगाडी बढाएका छन् । यद्यपि आवश्यक जनशक्ति अभावका कारण भनेजस्तो गति दिन सकिएको छैन ।

यी सबै कुराहरु हेर्दा संसारकै उत्कृष्ट हाम्रा धरोहरुहरुको उचित संरक्षण, सम्बद्र्धन अनि प्रबद्र्धन हुन नसकी ओझेलमा पर्नु सबैभन्दा ठूलो बिडम्बना हो । नेपालको पर्यटनमा पर्याप्त सम्भावना भएर पनि सरकार तथा सरोकारवाला सबैको अकर्मण्यताका कारण शिथिल बन्दै गइरहेको यथार्थ हो । यही अवस्थाका बीच मनाइएको लागेको विश्व पर्यटन दिवसको नाराले फेरि पनि सार्थकता दिने हो या होइन ? सम्बन्धित निकायको ध्यान जाओस् ।

salt training

कमेन्ट गर्नुहोस्