
‘दीगो पर्यटन विकासको साधन’ भन्ने मूल नाराका साथ नेपालमा पनि ३८ औं विश्व पर्यटन दिवस मनाईदैंछ । नेपालीहरुको ठूलो पर्व वडा दशैंको फूलपातीका दिन पर्यटन दिवस परेकाले सरकार तथा नीजि क्षेत्रले दिवसका सन्दर्भमा सामान्य कार्यक्रम मात्र गरेका छन् ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफले दिवसकै सन्दर्भ पारी नेपालमा तीनवटा गाउँलाई पयर्टकीय गाउँ समेत घोषणा गरेको छ ।
विश्व बजारमै अर्थतन्त्रको प्रमुख पाटो मानिएको पर्यटनलाई प्रत्येक वर्ष विश्वभरी दिवसका रुपमा सेप्टेम्बर २७ तारिखमा मनाइने गरिन्छ ।
पर्यटन भनेको कुनै पनि मानिस कुनै उद्देश्यसहित एकदिनभन्दा बढी समयका लागि घर तथा डेराभन्दा बाहिर गएर बस्ने भन्ने बुझिन्छ ।
विश्वमा भइरहेका विभिन्न परिवर्तनसँगै विश्वभरीका मानिसहरु नजिक भएका छन् । प्रविधिले आम मानिसलाई सानो घेरामा राखिदिएको छ । यसै क्रममा एक देशबाट अर्को देशको विषयमा जानकार हुनेहरुको संख्यासमेत बढेको छ । नयाँ सुन्दर ठाउँ, भिन्नै परिवेशमा घुम्न, रमाईलो गर्न, अध्ययन अनुसन्धान गर्न नयाँ–नयाँ ठाउँहरुमा पर्यटकको रुपमा जानेहरुको संख्या पनि बढ्न थालेको छ ।
विश्व बजारमै उत्कृष्ट गन्तब्यको सूचीमा नेपाल पनि छ । नेपाल विकासका दृष्टिकोणले निकै पछाडी भए पनि पहाडै पहाड, सुन्दर खोलानाला र हिमालैहिमाल, आफ्नै मौलिक संस्कृतिले भरिएकोले धेरै मानिसको रोजाईमा पर्ने गरेको छ । नेपालमा यहाँका मठमन्दिर, तीर्थस्थल तथा मौलिक संस्कृति र हिमाल चढ्ने तथा यिनै विषयमा अध्ययन गर्ने उद्देश्यले पर्यटक आउने गरेका छन् ।
पछिल्लो समय नेपाल सरकारले पनि पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको प्रमुख आधार भन्न थालेको छ । फलस्वरुप पर्यटनको विस्तारका विभिन्न अवधारणाहरु समेत आउन थालेका छन् । खासगरी नेपालमा हाल धार्मिक, सांस्कृतिक तथा पर्वतीय पर्यटन गरी तीनवटा विधाको पर्यटनले गति पाइरहेको छ भने अन्य नयाँ–नयाँ खालका अवधारणहरु समेत यो क्षेत्रमा आउन थालेका छन् ।
नेपालका प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा सुदूरपश्चिमका उच्च पहाडी जिल्ला, कर्णाली क्षेत्र तथा नेपालका उच्च हिमाली क्षेत्रहरु हुन् भन्ने कुरामा दुईमत छैन ।
सरकारले भनिरहेको आर्थिक विकासको मेरुदण्ड पर्यटन भन्ने कुरामा सायदै आम नेपाली एकमत छन् । यद्यपि यस क्षेत्रको विकासका लागि आवश्यक कदम सरकारले चाल्न सकेको छैन । प्रत्येक वर्ष पर्यटन दिवस मनाइरहँदा नारामा मात्रै हैन, सार्थकता पाउन जरुरी देखिन्छ । सरकार तथा समग्र पर्यटन क्षेत्रले यी कुरामा ध्यान दिन सके साँच्चिकै पर्यटन विकासको मेरुदण्ड बन्नेछ ।
पूर्वाधार निर्माणपर्यटन विकासको पहिलो आधार नै पूर्वाधारहरुको यथोचित विकास हो । पूर्वाधार भन्नाले खासगरी उचित रुपमा बाटोघाटोको निर्माण भन्ने नै बुझिन्छ । नेपाल अत्यन्तै सुन्दर छ, तर सबै ठाउँमा पुगेर त्यही ठाउँमा मनोरम दृष्य नियाल्दै सुखानुभुति गर्न हामी सक्दैनौं, त्यसको प्रमुख कारण बाटोघाटोको अभाव नै हो । जस्तै– नेपालको विकट क्षेत्र कर्णाली पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुँदाहुँदै पनि बाटोघाटो निर्माण तथा यातायात अभावका कारण राज्यबाट निकै टाढा देखिन्छ । यो एक उदाहरणमात्रै हो ।
प्रविधिको विकाससँगै विश्व बजार एकै भएको बेला हामी बाटोघाटो कै अभावमा रुमल्लिएका छौं । यदि देशभरी सबै ठाउँमा बाटोघाटो निर्माण गरी यातायात पु¥याउन सके आम आन्तरिक तथा बाह्य पर्यटकहरु गाउँ–गाउँ पुग्न सक्छन् । तीनै गाउँघरको आर्थिक संबृद्धिमा टेवा पुग्नेछ, तब मात्रे यो वर्ष दिवसको नारा विकासका लागि दीगो पर्यटनले सार्थकता पाउनेछ ।
हवाई सञ्जालको विस्तारपर्यटन विकासको अर्को महत्वपूर्ण पाटो हवाई संजालको विस्तार गर्नु हो । विश्वभरीका जुनसुकै देशबाट नेपाल आउन हवाई मार्ग नै प्रमुख हो । नेपालमा रहेका पर्यटकीय विधाको परिभाषा र प्रकृति अनुसार पर्यटकहरु तान्न सकिने विश्वभरीका केही मुलुकमा हवाई क्षेत्रको पहुँच पु¥याउन सके मात्रै पनि यो क्षेत्रको धेरै हदसम्म विकास गर्न सकिन्छ ।
पर्यटनको सुक्ष्म अध्ययननेपालको पर्यटनलाई सरकारले उचित परिभाषा नै दिन सकेको छैन । पर्यटक र पर्यटन शब्दमा बेलाबेला विवाद भइरहने समस्या देखिन्छ । यसैक्रममा पछिल्लो वर्ष पर्यटकहरुका लागि प्रयोग गरिने हरियो नम्बर प्लेटको सवारी साधनमै विवाद देखिएको छ । यसको कारण नै सरकार र यो क्षेत्रका व्यवसायीहरुबीचमा पर्यटन के हो वा पर्यटक को हुन् भन्ने स्पष्ट नभएको जस्तो देखिएको छ । यसका लागि नेपालमा भैरहने तथा हुने गरेका पर्यटकीय क्रियाकलापहरुलाई क्षेत्रगत रुपमा विभाजन गरी अध्ययन अनुसन्धान गरिनुपर्छ । खासगरी पर्यटन तथा पर्यटकहरुको उचित परिभाषा नै हुन नसकेको नेपालमा सबै क्षेत्रको पर्यटनको पहिचान हुनु जरुरी छ । यसैगरी अर्थतन्त्रमा टेवा पु¥याउनका लागि पर्यटकीय गतिविधिहरुको प्रभावकारी रुपमा विस्तार पनि गरिनुपर्छ ।
बजेटमा प्रभावकारितासरकारले पर्यटन क्षेत्रलाई प्राथमितामा राखेसँगै केही वर्षयता यो क्षेत्रमा बजेट बढाउन थालेको छ । यद्यपि सरकारले बढाएको बजेटको सही सदुपयोग हुन नसक्दा विकासले भने गति लिन सकेको छैन । सरकारले नेपाल पर्यटन बोर्डमार्फत पुरै पर्यटन क्षेत्रका लागि बजेट निकासा गर्ने गरेको छ । तर कार्यविधिले नै के–कस्तो कार्यक्रम भन्ने स्पष्ट नभई बजेट वितरण गर्ने गरेको पाईन्छ । यसै विषयमा पर्यटन बोर्ड विवादमा पनि आउने गरेको छ ।
पर्यटन बोर्डबाट निकासा हुने रकमको स्पष्ट उद्देश्य नै नभएको पाईन्छ । बोर्डले यो क्षेत्रमा काम गरेका केही व्यक्ति तथा संस्थाहरु मार्फत विकासका काम गर्ने नाममा रकम दिने गर्छ तर भनेजस्तो तथा उपलब्धिमुलक काम पनि हुन सकेको छैन । यसका लागि सरकारले नै एकीकृत योजना ल्याउने र सुक्ष्म रुपमा क्षेत्रगत अध्ययनका आधारमा बजेट विनियोजन तथा कार्यान्वयनमा ध्यान दिनुपर्छ ।
व्यवसायिक विकासनेपालको पर्यटन क्षेत्रको सुरुवात निजी क्षेत्रले गरेको कुरा सर्वस्वीकार्य छ । पछिल्लो समय सरकारले पनि यो क्षेत्रको विकासका लागि आफ्नो उपस्थिति देखाउन थाले पनि व्यवसायिक रुपमा उचित व्यवस्थापन हुन सकेको छैन । पर्यटन व्यवसाय सेवामुलक व्यवसाय मानिन्छ । विश्व बजारबाट आएका मानिस तथा नेपालमै एक ठाउँबाट अर्को ठाउँमा जान चाहने व्यक्तिहरुको ब्यवस्थापन विभिन्न तरिकाबाट व्यवसायीहरुले गर्ने गरेका छन् ।
यद्यपि पर्यटन क्षेत्र अहिले पनि व्यवसायिक बन्न भने सकेको छैन । पछिल्लो समय व्यवसायमै राजनीतिकरण हुँदा यो क्षेत्र विकृतिको दलदलमा फसेको छ । जसका कारण व्यवसायी–व्यवसायी बीचमै समन्वय नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकेका छैनन् ।
स्पष्ट कानुनी व्यवस्थानेपालको ठूलो समस्या नै नितीगत अस्पष्टता हो । यहि समस्या पर्यटन क्षेत्रमा पनि देखिन्छ । पर्यटनका सबै गतिविधिको समन्वयका लागि पर्यटन बोर्ड नै स्थापना भए पनि सबै गतिविधिहरु बोर्डबाट हुने गरेका छैनन् । खासगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत हेर्दा पर्यटनको परिभाषा नै साँघुरो देखिन्छ ।
मन्त्रालयको नामको आधारमा हेर्दा नेपालको संस्कृतिलाई मात्रै पर्यटन भनिएको हो या उड्डयन क्षेत्र फेरि छुट्टै हो कि ? अझ भनौं संस्कृति र पर्यटन छुट्टाछुट्टै शब्द हुन् भन्नेजस्तै बुझिन्छ । अझै पछिल्लो समय सरकारले नै बहसमा ल्याएका पर्यटनका नयाँ अवधारणा कृषि पर्यटन, शिक्षा पर्यटन, स्वास्थ्य पर्यटन जस्ताको समन्वय कुन मन्त्रालयले गर्ने वा के गर्ने ? हामी सबैलाई अन्योल सिर्जना भएको छ । यस्तो असपष्टताका बीच यो क्षेत्रका वैधानिकताका कुरा पनि अस्पष्ट नै छन् ।
यो क्षेत्रको व्यावसायिक वैधानिकतादेखि लिएर विभिन्न क्रियाकलापहरुका लागि स्पष्ट नीति अभाव हुँदा यो क्षेत्रका संघसंस्था आफैँले आफ्नो नियम बनाएर काम गरिरहेका छन् । जुन एकनीति हुन असम्भव छ । यही नीति तथा कानूनी अस्पष्टताका कारण गैर कानूनी क्रियाकलापहरु पनि बढेको देखिन्छ । यो क्षेत्रभित्र रहेको क्यासिनो सबैभन्दा बढी विवादित छ भने ट्रेकिङ क्षेत्रमा समेत बिकृति बढेको सुन्नमा आउने गरेको छ । यो कुरातर्फ पनि सरकारले ध्यान दिने कि ?
राजनीतिक अस्थिरतानेपालमा जरो गाडेको राजनीतिक अस्थिरताका कारण आम नेपालीको दैनिकी नै अस्तब्यस्त छ, यो क्षेत्र अछुतो रहने कुरै भएन । नेपालका राजनीतिक दलहरु विकास तथा पूर्वाधार निर्माणको ख्याल नै नगरी आफ्नो सत्ताका लागि लुछाचुँडीमा व्यस्त छन् । यही अस्थिरताका कारण सरकारी योजनाहरु समयमै अगाडी बढ्न सकेको छैनन् । मन्त्री बन्ने, विदेश भ्रमण गर्ने, जनतालाई आश्वासन दिने वा सपना छर्ने नेता कार्यकर्ताले आफुले गरेका काम हेर्न नसक्दा यी र यस्ता दिवस वर्षेनी आइरन्छन् र नारा घन्काएर गइरहन्छन् ।
दक्ष जनशक्तिको अभावबढ्दो बेरोजगारीका कारण अधिकांश युवाहरु विदेश पलायन हुने गरेका छन् । जसका कारण नेपालका प्रत्येक क्षेत्रमा युवा जनशक्तिको अभाव देखिन्छ । सरकारले व्यवस्थित गर्न नसकेको पर्यटन क्षेत्र विस्तारै व्यवसायी आफैंले जानी–नजानी विस्तारको दिशामा अगाडी बढाएका छन् । यद्यपि आवश्यक जनशक्ति अभावका कारण भनेजस्तो गति दिन सकिएको छैन ।
यी सबै कुराहरु हेर्दा संसारकै उत्कृष्ट हाम्रा धरोहरुहरुको उचित संरक्षण, सम्बद्र्धन अनि प्रबद्र्धन हुन नसकी ओझेलमा पर्नु सबैभन्दा ठूलो बिडम्बना हो । नेपालको पर्यटनमा पर्याप्त सम्भावना भएर पनि सरकार तथा सरोकारवाला सबैको अकर्मण्यताका कारण शिथिल बन्दै गइरहेको यथार्थ हो । यही अवस्थाका बीच मनाइएको लागेको विश्व पर्यटन दिवसको नाराले फेरि पनि सार्थकता दिने हो या होइन ? सम्बन्धित निकायको ध्यान जाओस् ।