
चालुु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउन, भदौ, असोज र कात्तिकमा दुई लाख छ हजार ३१६ जना बिदेसिएका छन् जुन गत वर्षको सोही अवधिभन्दा ६४ हजार २०८ ले कमी हो ।
गत वर्ष सो अवधिमा दुुई लाख ७० हजार ५२४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो वर्ष सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएका छन् जुन अघिल्लो कात्तिकमा ७८ हजार ३७० थियो । यो सङ्ख्या हेर्दा गत वर्ष र यो वर्षको कात्तिक महिनामा विदेश जानेको सङ्ख्या करिब आधाले घटेको छ ।
विभागका महानिर्देशक महेश दाहालका अनुसार यो वर्ष दसैँ र तिहार नै कात्तिक महिनामा परेकाले श्रम स्वीकृति लिने घटेका हुन् । वैदेशिक रोजगार अध्ययन कर्ता रामेश्वर नेपालले भने विश्वव्यापी आर्थिक मन्दीको असरले यस्तो भएको दाबी गरे । गोरखापत्रमा खबर छ ।