
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पु¥याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।
मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सबैमा मानसिक स्वास्थ्य पु¥याउनका लागि मनोचिकित्सक नभएका प्रत्येक प्रदेशका दुई÷दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।
महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेको जिल्लामा मानसिक स्वास्थ्य सेवा पु¥याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बागमती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ ।
मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेर त्यहाँ मानसिक रोगीको उपचार गरिरहेका छन् ।
शाखाले पहिलो पटक नमूनाका रुपमा १४ जिल्ला छनौट गरे पनि पछि मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने उनले बताए । मनोचिकित्सकले हरेक महिना ३० जना कडा खालका बिरामीको उपचार गरिरहेको डा बरालले बताए । ती बिरामीले निःशुल्क औषधि पाउने छन् ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–२०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको तथ्य फेला परेको जनाइएको छ । रासस