२८ जेठ २०८३, बिहीबार
सुन तस्करीको अनुसन्धान

प्रदेश मन्त्री मुछिएको १ किलो सुन प्रकरणः भन्सारले हारगुहार गर्दा पनि चेकको टुंगो लागेन

मंसिर १४, २०८०
काठमाडौं
प्रदेश मन्त्री मुछिएको १ किलो सुन प्रकरणः भन्सारले हारगुहार गर्दा पनि चेकको टुंगो लागेन

भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक किलो सुन प्रकरणको छानबिन प्रभावित भएको छ । प्रदेश मन्त्री मुछिएपछि यो प्रकरणको छानबिन अलपत्र परेको हो ।

काठमाडौं प्रहरी परिसरले भदौ २५ गते सुनसहित १ जनालाई विमानस्थलबाटै पक्राउ गरेको थियो । भोलिपल्ट थप दुईजना पक्राउ परेका थिए ।

त्यसक्रममा बरामद एउटा गाडीमा कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्री तीर्थ लामाले काटेको ७ लाखको चेक भेटिएको थियो ।

प्रहरीले बरामद सुन र पक्राउ परेका व्यक्ति भन्सारलाई बुझाएको थियो । उक्त चेकको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अहिलेसम्म टुंगो लगाउन सकेको छैन । 

भन्सारले आफ्नो क्षेत्राधिकारभित्रको अनुसन्धान गरेपछि प्रदेश मन्त्री लामाको चेकका विषयमा अनुसन्धान गर्न प्रहरीलाई लेखिपठाएको थियो ।

भन्सारका तर्फबाट एक उपसचिवले अनुसन्धान गरिरहेका थिए । 

उनले यो संगठितरूपमा भएको अपराध भन्दै अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुरोध गरे, तर सीआईबीले १ करोडभन्दा तलको ‘केस’ हेर्न नमिल्ने भन्दै टारिदियो ।

‘हामीले संगठितरूपमा अपराध भएको हुन सक्ने भन्दै सीआईबीलाई भनेका थियौं, तर १ करोडभन्दा कम रकमको केस भएकाले हेर्न नमिल्ने भन्दै टारिदियो,’ अनुसन्धानमा खटिएका ती अधिकारीले लोकान्तरसँग भने । 

प्रहरीबाट पार नलागेपछि भन्सार कार्यालयले सम्पत्ति शुद्धीकरण विभागमा फाइल पठाएको छ । तिहारअगाडि नै पठाइएको फाइलमा अनुसन्धान टुंगिएको जानकारी भन्सारलाई प्राप्त भएको छैन ।

के हो प्रकरण ?

भदौ २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई काठमाडौं प्रहरीले विमानस्थलबाट १ किलो सुनसहित पक्राउ गरेको थियो ।

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तानलाई पक्राउ गरिएको थियो । 

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करिब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो । 

प्रहरीले बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी समेत बरामद गरेको थियो । प्रहरीले मिङ्मालाई पक्राउ परेपछि गाडीको शिशा फोडेर ३ जना भागेका थिए ।

त्यसमध्येका एक जना काभ्रे प्रतिनिधिसभा– १ प्रदेश सभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन थिए । 

योञ्जन अहिलेसम्म पनि फरार छन् । उनलाई प्रहरीले जानी-जानी पक्राउ नगरेको गुनासो भन्सारका एक अधिकारीले गरे ।

‘वारेन्ट जारी भएको छ, तर प्रहरीले पक्राउ गरिएको छैन । राजनीतिक व्यक्ति भएका कारण पक्राउ नगरिएको हुन सक्छ,’ भन्सारका ती अधिकारीले लोकान्तरसँग भने ।

पक्राउ परेका ३ जनासँग भन्सार विभागले ९२ लाख रुपैयाँ धरौटी माग गरेको थियो, तर तिर्न नसकेपछि उनीहरू पुर्पक्षका लागि थुनामा छन् । 

भन्सार कार्यालयका अनुसार पक्राउ परेका बाबुलालले आफूले तेस्रोपटक सुन ल्याएको बयान दिएका थिए ।

‘यो तेस्रोपटक हो भन्ने बयान उसले दिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘उनी पटक–पटक दुबई गएको देखिएको छ ।’ 

एकपटकमा मलद्वारमा लुकाएर आधा केजी सुन र एउटा आइफोन लिएर आउँदा खर्च कटाएर २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको बयान छ ।

उनीहरूले तस्करीको सम्पूर्ण कामको व्यवस्थापन विकास योञ्जनले गर्ने गरेको बयान पनि दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्