१० साउन २०८३, आइतबार

‘हिरो बन्ने सपना त्यागेर गायनतर्फ लागेको थिएँ’

मंसिर १८, २०८०
काठमाडौं
‘हिरो बन्ने सपना त्यागेर गायनतर्फ लागेको थिएँ’

चलचित्रको हिरो बन्ने प्रकाश सपूतको बाल्यकालदेखिकै सपना थियो । उनी बाल्यकालमा आफूलाई मन परेका हिरोहरूको नक्कल गर्ने गर्थे । ​

यतिबेला भने उनलाई दर्शकहरूले चलचित्रमा हिरोको भूमिकामा हेरिसकेका छन् । उनको पहिलो चलचित्र ‘परदेशी २’ले हलमा ५१ दिनको यात्रा पूरा गरिसकेको छ । यद्यपि, बाल्यकालदेखि देखेको सपना प्रकाशले एकसमय त्यागेका रहेछन् । 

चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा खुशी साट्न आयोजित कार्यक्रममा प्रकाशले ‘प्लस टु’ पढेपछि आफूले हिरो बन्ने सपना त्यागेको स्मरण गरे । कार्यक्रममा उनले भने, ‘गाउँको मान्छे हिरो बन्न सकिँदैन होला ! कहिले काठमाडौं जाने, चिनजान केही छैन भन्ने लागेपछि त्यो सपना त्यागेर गीत गाउनतर्फ लागेको थिएँ ।’ 

काठमाडौं आएपछि उनी एकदिन चलचित्र हेर्न गोपीकृष्ण हल पुगेका रहेछन् । त्यहाँ दर्शकको खचाखच भीडभाड रहेछ । माथिबाट एकजना चलेका अभिनेताले दर्शकलाई हात हल्लाइरहेका थिए ।

‘त्यतिबेला मैले फेरि के सपना देखेको थिएँ भने त्यसरी उभिएर हात हल्लाउनकै लागि पनि एउटा चलचित्र खेल्छु’ उनले भने, ‘तर, हाम्रो चलचित्र निर्माण हुँदासम्म गोपीकृष्ण नयाँ बन्यो । यद्यपि, संयोग के पर्यो भने त्यही गोपीकृष्णमा ५१ दिनसम्म मेरो चलचित्र चलिरहेको छ ।’ यो कुरा आफूलाई मिराकल लागिरहेको प्रकाशले बताएका थिए । 

उनले पहिलो चलचित्रले नै ५१ दिन मनाउनु आफ्नो लागि अविश्वसनीय सफलता रहेको बताए । ‘बच्चैदेखि चलचित्र खेल्ने सपना देखेको थिएँ । त्यो सपना पूरा भयो र त्यसले सफलताको इतिहास पनि लेख्यो’ उनले भने, ‘यो मेरो लागि अविश्वसनीय सफलता हो । दर्शकबाट पाएको अपार प्रेमको हद हो । सबैप्रति कृतज्ञ छु ।’ 

नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्रमा प्रकाशले दुई अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीसँग स्क्रिन शेयर गरेका छन् । नेपालमा सफल भएसँगै चलचित्र विभिन्न देशमा प्रदर्शनमा आइसकेको छ । साङ्गीतिक क्षेत्रमा लोभलाग्दो ख्याति कमाएका प्रकाशले चलचित्र निर्माण एवं निर्देशनको समेत तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्