२९ जेठ २०८३, शुक्रबार

प्रकाशको विवादित क्लिपलाई लिएर निर्माण टिमले भन्यो - सञ्जालमा देखिएको दृश्य भिडियोमा छैन

‘अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा क्षमाप्रार्थी छौँ’
मंसिर २०, २०८०
काठमाडौं
प्रकाशको विवादित क्लिपलाई लिएर निर्माण टिमले भन्यो - सञ्जालमा देखिएको दृश्य भिडियोमा छैन

‘कमाउने नी हो रमाउने नी हो’ गीतको भिडियोमा सामाजिक सञ्जालमा देखाइएको जस्तो दृश्य प्रयोग नभएको यसको निर्माण टिमले जनाएको छ । 

पुरानो म्युजिक भिडियो छायांकन बेलाको क्लिपलाई लिएर केही दिनयता यसका मोडल प्रकाश सपूतको आलोचना भइरहेको छ । 

उक्त दृश्यमा सपूत र मोडल जुना विश्वकर्मा वसन्तपुरको एक पानी ट्यांकीमाथि नाचिरहेका छन् । उक्त ट्याङकी ‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने रहेको र ट्याङकीमाथि नाचेर सपूतले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै उनको आलोचना गरिएको हो । ​

बुधवार गीतको निर्माण कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रा.लिले एक विज्ञप्ति जारी गर्दै उक्त दृश्य आधिकारिक भिडियोमा प्रयोग नभएको प्रष्ट पारेको हो । साथै, सुटिङ हुँदा दर्शकहरूले खिचेर सामाजिक सञ्जालमा राखेको भिडियो भाइरल भएको कम्पनीले स्पष्ट पारेको छ ।

आफूहरूले अनुमति लिएर महानगरपालिकालाई नियमानुसार राजश्व बुझाएर उक्त गीत खिचिएको समेत निर्माण कम्पनीले जनाएको छ ।

भिडियोमा समावेश नगरिएको क्लिपलाई लिएर गीतका मोडल प्रकाश सपूतमाथि गालीगलौज तथा लाञ्छना लगाउने कार्य नगर्न समेत कम्पनीले सबैमा आग्रह गरेको छ ।

‘हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन । अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा हामी क्षमाप्रार्थी छौँ’ विज्ञप्‍तिमा भनिएको छ । 

‘कमाउने नी हो रमाउने नी हो’ चार महिना अगाडि सार्वजनिक तीज विशेष गीत हो ।

खेम सेञ्चुरी र सुनीता बुढा क्षेत्रीको स्वर रहेको गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका थिए ।

गीत तीजमा निकै चलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्