
गत निर्वाचनमा दोस्रो ठूलो दलमा सीमित हुँदा केन्द्र र प्रदेशको सत्ताबाट विमुख बन्न पुगेको नेकपा एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियानले पार्टीमा उत्साह थपिएको बताएको छ ।
१४ मंसिरमा अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झण्डोत्तोलन गरेर ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ शुरूआत गरेका थिए ।
अभियान १९ औं दिन (पुस २ गते) पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ । यसक्रममा अभियानको समय करिब आधा हुँदा यात्रा पनि देशको मध्यभागमा आइपुगेको छ ।
मध्यपहाडी भूगोलमा सानाठूला कार्यक्रम गरी धेरैभन्दा धेरै नागरिक कार्यकर्ता जोडिएर एमाले कमजोर छैन भन्ने सन्देश दिने अभियानमा एमाले लागेको हो ।
लमजुङको सुन्दरबजार नगरपालिकामा आइपुगेका एमाले नेताहरू अभियान अपेक्षा गरिएभन्दा सफलतापूर्वक अगाडि बढेको दाबी गर्छन् ।
‘हाम्रो अभियान अपेक्षा गरेभन्दा पनि सकारात्मक भइरहेको छ । अहिलेसम्म सुदूरपश्चिमबाट गण्डकीसम्म आइपुग्दा एकदमै उत्साह पाएका छौं,’ अभियानमा निरन्तर सक्रिय भइरहेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकान्तरसँग भने, ‘पुराना दलप्रति विश्वास टुट्दैछ भन्ने जुन भाष्य निर्माण गरिएको थियो, यो अभियानले त्यस्तो भाष्य जबर्जस्ती खडा गरिएको थियो भन्ने पुष्टि गरेको छ । जनताको तहमा एमालेको लोकप्रियता घटेको छैन भन्ने पाएका छौं । समग्रमा एमालेप्रति ठूलो जनआस्था छ । एमाले अध्यक्ष केपी ओलीप्रति अझै पनि धेरै आकर्षण रहेको पायौं ।’
अभियानमा अध्यक्ष ओली, सबै पदाधिकारी, केन्द्रीय नेता, प्रदेश र जिल्ला स्तरका नेता सहभागी छन् । यसक्रममा अभियानको रुटमा परेका पहाडी जिल्लाका हरेक टोलबस्तीमा पुग्ने, रुटमा परेका बजार क्षेत्रमा भेटघाट गर्ने र केही ठाउँमा सभा गर्ने कार्यक्रम चलिरहेको छ । सभालाई प्रायः ठाउँमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।

अभियानका क्रममा पोखरामा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा उत्साह पाएको भन्दै २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गर्ने दाबी गरे ।
‘एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी हो । त्यसैले अहिले हामी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै अघि बढ्छौं,’ ओलीले भने, ‘एमाले मिसन–८४ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको छ । देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, संगठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ । राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सबालमा पनि एमालेले नेतृत्व गर्छ ।’
ओलीले जनताको समस्या र गुनासो सुन्न तथा समाधान गर्नकै लागि अभियान थालेको बताए । ‘पार्टीपंक्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरिएको हो,’ ओलीले भने, ‘देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैंले बनाउने हो, अरू कसैले बनाइदिएर देश बन्दैन । हामीले देशभित्रै रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।’
के छन् जनताको गुनासो ?
नेता ज्ञवाली चुनावमा मात्रै जनताको घरदैलो जाने गरेको अभ्यासलाई एमालेले तोडेको बताउँछन् । ‘हरेक राजनीतिक पार्टीको जरा जनता हुन् । जनताको सक्रियता र समर्थनविना दलको पनि केही लाग्दैन,’ ज्ञवालीले भने, ‘हरेक पार्टी जनताको नजिक पुग्नुपर्छ । चुनावमा मात्रै जाँदा राम्रो हुँदैन । यसपटक हामी बीचमा जाँदा नेताहरू चुनाव नहुँदा पनि यसैगरी जनताबीच आइदिए कति राम्रो हुन्थ्यो भन्ने पायौं । एमालेको सिंगो नेतृत्वलाई भेट्न पाउँदा धेरैले खुशी व्यक्त गरेका छन् ।’
राजनीतिक संक्रमण सकिएकाले धेरैको चासो बाँझो जमिनमा उत्पादन बढाउने र रोजगारी वृद्धिमा रहेको उनले बताए ।

‘पूर्वाधारको दृष्टिले विकास गाउँ र पहाड पुगेका छन् । बाटोघाटो, शिक्षाका पूर्वाधार धेरै बनेका बनेका छन् । विकासमा गुणात्मक परिवर्तन आएको छ,’ ज्ञवालीले भने, ‘तर धेरै नागरिकको चासो बाँझो जमिनमा उत्पादन बढाउनुपर्ने र बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने क्रमलाई तोड्नुपर्नेतर्फ रहेको पाएका छौं ।’
वर्षौंदेखि राज्यले लगानी गरेका आयोजना अलपत्र पर्नु अर्को दुर्भाग्य भएको उनले बताए ।
‘राजनीतिक परिवर्तनसँगै शुरू भएका आयोजना अलपत्र छन् । राष्ट्रिय गौरवको भेरी डाइभर्सन आयोजनाको टनेल साढे तीन वर्षअघि नै सकिएको थियो, तर बाँकी काम अलपत्र छ । हामीले प्रत्येक पालिकामा आधारभूत अस्पतालको योजना अगाडि सार्यौं । धेरै ठाउँमा अलपत्र छन् । गर्न सकिने काम पनि रोकिएको अवस्थामा हामी सरकारमा छैनौं । विकास निर्माण र जनताको सेवाको दृष्टिकोणले सरकारमा नहुँदा प्रभाव पर्छ । तर, हामी सत्तामा भएनौं भनेर आत्तिएका छैनौं । जनताका लागि गर्नुपर्ने दायित्व अझै बढेर आएको छ ।’
बिग्रेका कुरालाई सच्याउँछौँ
अभियानमा जनताका धेरै गुनासा र समस्यालाई समेटेको भन्दै ज्ञवालीले बिग्रेका विषयलाई सच्याएर अगाडि बढ्ने बताए ।
‘गर्नैपर्ने काम अलपत्र छन् । जनताका अपेक्षा, दबाब र माग पनि उस्तै छन् । बिग्रेका कुरा पनि छन् । पुस ५ गते हामी निष्कर्षसहित अभियानको समापन गर्छौं,’ उनले भने, ‘अभियान कस्तो भयो । सिकाइ कस्तो भयो । समृद्धिका लागि संकल्पको अभियान के हो भन्ने जनतासमक्ष प्रस्तुत गर्छौं । हाम्रो अनुभव, जनताको सुझाव र भावनालाई समेटेर पार्टीलाई अझै चुस्त बनाएर जान्छौं ।’
पोखरापछि दशौं दिन नुवाकोटको विदुरमा कार्यक्रम गरेपछि एमाले काभ्रेको मण्डनदेउपुर हुँदै दोलखा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटासहितका ठाउँ पार गरेर पाँचथरको चिवाभञ्ज्याङ पुग्नेछ ।

सम्बन्ध स्थानीय: सन्देश राष्ट्रिय
एमाले अध्यक्ष ओलीले अभियानका क्रममा धेरै ठाउँमा सत्ता राजनीतिलाई केन्द्र बनाएर भाषण नगरेका होइनन्, तर उनले हरेक ठाउँमा पुग्दा सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्दै सामाजिक सञ्जालमार्फत अभियानको सन्देश फरक भएको देखाउन खोजेका छन् ।
‘आज हाम्रो यात्रा हिमालहरू हेर्दै, पहाडहरू पार गर्दै सुन्दर नगरी पोखरा आइपुगेको छ । गल्कोट, बाग्लुङ बजार, कुश्मा, नयाँ पुल, रामटार, काँडे, नौडाँडा र हेम्जा हुँदै १३० किलोमिटर पार गरेर यात्रा पोखरा आइपुग्यो । आजको यात्रा नेपाली साहित्यका काव्यकार, कवि शिरोमणि लेखनाथ पौड्यालमा समर्पित गर्दछु,’ ओलीले अभियानका क्रममा ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ नारामा लेखेका छन् । जहाँ पुगे पनि त्यहीँको वस्तुस्थितिसँग जोडिने गरी उनले मात्रै होइन, अन्य नेताले पनि आफूलाई प्रस्तुत गरिरहेका छन् ।
‘लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ३ र ४.का कमरेडहरू र स्थानीय जनसमुदायको न्यानो आतिथ्य, स्थानीय उत्पादनमा आधारित स्वरूचि भोजनपछि नेपाली मौलिकतामा आधारित चर्खेपिङमा केही फन्को मार्ने अवसर प्राप्त भयो । करिब ४५ वर्षपछि हराउँदै गएको चर्खेपिङ खेल्न पाउँदा आनन्दको अनुभूति भयो,’ नवौं दिनको अभियानका क्रममा उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
अरू सबै नेताले स्थानीय भूगोल, कला, संस्कृतिसहितका समाजका विविध पक्षसँग यसरी नै साक्षात्कार गर्दै अभियानलाई फलदायी बनाएको दाबी गरिरहेका छन् ।