
वर्षौं पुरानो गीत ‘बादल वर्षा बिजुली’ यसवर्ष निकै चर्चामा रह्यो । टिकटकका कारण चर्चामा आएको गीत इन्स्ट्राग्राम र फेसबुक रिल्समा समेत निकै छायो । र, यो गीतमा शुरूआती चरणमा टिकटक बनाउने ‘ट्विनी गर्ल्स’ प्रिज्मा–प्रिन्सी खतिवडाको भिडियोले लाखौं भ्युज पाएको थियो ।
नेपाली दर्शकमाझ पहिल्यैदेखि चर्चित उनीहरूको चर्चा यो भिडियोले नेपालमा मात्र सीमित गराएन । भारतीयलगायत दर्शकमाझ समेत उनीहरू नोटिस भए । सोहीबखत प्रिन्सी खतिवडालाई एउटा इमेल आयो, जुन इमेल देख्दा उनमा खुशीको सीमा रहेन ।
बलिउडको चर्चित चलचित्र र म्युजिक भिडियो कम्पनी ‘टी–सिरिज’का लागि भनेर इमेलमार्फत् मोडलिङको प्रस्ताव गर्नु सामान्य कुरा थिएन ।
यद्यपि, इमेलमार्फत् आएका प्रस्ताव आधिकारिक हो/होइन भन्ने डर उनलाई हरेकपटक हुने गरेको थियो । इमेल आधिकारिक रहेको विश्वस्त भएपछि त्यो कुरा परिवारलाई सेयर गरिन् । आफ्नो कन्ट्रयाक नम्बर पठाइन् । गीत सुनिन् । एक महिनापछि भारतको केरला पुगेर दुई दिनमा भिडियो सुटिङ गरेर फर्किइन् । ‘जान देंगे तुम्हे’बोलको गीतको उक्त भिडियो एक साताअघि ‘टी–सिरिज’कै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भइसकेको छ ।

भिडियो आएसँगै धेरैले प्रिन्सीलाई बधाई दिइरहेका छन् । झण्डै ४० लाख भ्युज पाएको भिडियोलाई लिएर युट्युबमा आएका प्रतिक्रिया पनि अधिकांश सकारात्मक छन् । धेरैले प्रिन्सीको नाम लिएरै युट्युबमा बधाई दिइरहेका छन् ।
‘टी–सिरिजजस्तो कम्पनीको प्रोजेक्टमा यसरी फिचर्ड हुन पाउनु मेरो लागि ठूलो कुरा हो ।’ गीत रिलिजको केही दिनपछि प्रिन्सीले लोकान्तरसँग भनिन्, ‘भिडियोको कमेन्ट सेक्सनमा पनि नेपालबाट कति धेरै जनाले प्रतिक्रिया दिनुभएको रहेछ । त्यो देख्दा एकदमै खुशी लाग्यो ।’
‘बादल वर्षा बिजुली...’बाट नोटिस
प्रिन्सी ‘बादल वर्षा बिजुली’गीतको भिडियो नोटिस भएपछि आफूलाई हिन्दी गीतको प्रस्ताव आएको अनुमान गर्छिन् ।
‘त्यो कुरा उहाँहरूले सुनाउनुभएको त होइन । तर, मान्छे नोटिस हुन केही न केही त माध्यम चाहियो । ‘बादल वर्षा बिजुली’ बाहिर नोटिस गराउने माध्यम बनेपछि प्रस्ताव गर्नुभएको जस्तो लाग्छ,’ प्रिन्सीले भनिन् । ‘टी–सिरिज’को ‘जान देंगे तुम्हे’ प्रिन्सीको डेब्यु हिन्दी गीत भने होइन ।
उनको मोडलिङ रहेको अर्को हिन्दी गीत ‘बारिशे’ यसअघि नै आइसकेको छ । कुरा पहिले ‘टी सिरिज’का लागि भए पनि अर्को गीतको छायांकन पहिले हुन गएको प्रिन्सीले बताइन् । उक्त गीत पनि ‘बादल वर्षा बिजुली’बाट नोटिस भएर प्रस्ताव आएको प्रिन्सी अनुमान गर्छिन् । भनिन् ‘सुटिङमा जाँदा बादल वर्षा गीतमा टिमका सदस्यले भिडियो बनाउनु भएको थियो । त्यसकारण उक्त गीत नोटिस भएरै प्रस्ताव गर्नुभएजस्तो लाग्छ ।’
नेपाली र हिन्दी गीतमा काम गर्दा धेरै अन्तर नपाएको अनुभवसमेत प्रिन्सीले सेयर गरिन् । उनले नेपालबाट आएको भनेर आफूलाई दुवै गीतको टिमले राम्रो ट्रिटमेन्ट दिएको बताइन् । पारिश्रमिक पनि राम्रै पाएको बताएकी उनले बाहिरी अरु गीतमा पनि कुरा भइरहेको तर, तय भइनसकेको सुनाइन् ।
नेपालमा नछुट्टिने ‘प्रिज्मा–प्रिन्सी’, बलिउडमा प्रिन्सी मात्रै ?
टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा उदाएका मोडल हुन् प्रिज्मा–प्रिन्सी खतिवडा । टिकटकमा ‘ट्विनी गर्ल्स’ नामबाट लाखौं फ्लोअर्स कमाएका उनीहरूले नेपाली म्युजिक भिडियोमा कहिल्यै पनि छुट्टिएर काम गरेका छैनन् । जति पनि म्युजिक भिडियोमा मोडलिङ गरेका छन्, ती सबैमा दुवैजना छन् । तर, हिन्दी गीतमा प्रिन्सीले प्रिज्मासँग छुट्टिएर मोडलिङ गरिन् । उनी परिवारमा सरसल्लाह गरेरै हिन्दी गीतमा काम गरेको बताउँछिन् ।

‘नेपालमा हामीलाई माया गर्ने दर्शकले दुवै जनालाई संगै देख्न चाहानुहुन्छ । सुरुबाटै दुवै जनालाई माया गर्दै आउनुभयो । हामी पनि नछुट्टिएर काम गर्दै आयौं,’ प्रिन्सीले भनिन्, ‘बाहिरबाट कुरा आउँदा दुई जनालाई आओस् भनेर कुर्ने कि आएको मौका नछोड्ने ? भन्ने कुरामा सरसल्लाह भयो । सबैले राम्रो अवसर हो भन्नुभएपछि प्रिज्मासँग सल्लाह गरेरै काम गरेकी हुँ ।’
नेपाली गीतमा भने आउँदा दिनमा पनि छुट्टिएर काम नगर्ने प्रिन्सीले बताइन् । छनोट गरेर मात्रै मोडलिङ गर्दै आएका प्रिज्मा–प्रिन्सी नेपाली म्युजिक भिडियोमा डिमाण्डेड मानिन्छन् । उनीहरूले अभिनय गरेका दर्जनौं म्युजिक भिडियो रुचाइएका छन् ।