
घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे स्वास्थ्यमा सुधार आएपछि चलचित्र ‘महाजात्रा’को छायांकन सेटमा जोडिएका छन् । आइतवारबाट बुढानिलकण्ठमा चलचित्रको छायाङ्कनसँगै उनी झन्डै डेढ महिनापछि काममा फर्किएका हुन् ।
‘महाजात्रा’ प्रदीप भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्र हो । ‘जात्रा’ शृङ्खलादेखि नै चलचित्रमा प्रकाश घिमिरे अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्का लगायतका कलाकारहरूको समेत अभिनय रहनेछ । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रमा रोचक रुपले प्रस्तुत गरिने जनाइएको छ ।
यो चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । चलचित्रको लेखक पनि निर्देशक भट्टराई स्वयंम हुन् ।
‘महाजात्रा’ प्रतीक्षित रुपमा हेरिएको चलचित्र हो ।