
पाँच सातापछि हलमा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शुक्रवारबाट फिल्म ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आएका हुन् ।
कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको ‘दिमाग खराब’पछि कुनै नेपाली फिल्म रिलिज भएका थिएनन् । प्रदर्शनमा आएका फिल्म अलग अलग जनराका छन् ।
उदय सुब्बाको निर्देशन रहेको ‘दुई कदम’ ट्राभल लभस्टोरी फिल्म हो । नव कलाकार इओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई फिल्ममा केन्द्रमा राखिएको छ ।
उनीहरूका साथमा सुनील थापा, गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । अजम्बरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्मको कथा एवं पटकथा दयाराम घिमिरेले लेखेका हुन् ।
यस्तै, ‘जम्प’ आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको फिल्म हो । कार्कीकै लेखन रहेको फिल्म मनोवैज्ञानिक थ्रिलर विधामा बनेको छ ।
फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री लगायतका कलाकारहरूको अभिनय छ ।
दुवै फिल्मले हलमा शो भने न्यून पाएका छन् ।