०९ साउन २०८३, शनिबार
सामुदायिक विद्यालयको उँधोगति

विद्यालयमा जम्मा ११ विद्यार्थीः २ वटा कक्षामा १–१ जना, कार्यालय सहायकले पढाउँछिन्

मंसिर २९, २०८०
विराटनगर
विद्यालयमा जम्मा ११ विद्यार्थीः २ वटा कक्षामा १–१ जना, कार्यालय सहायकले पढाउँछिन्

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको साकेला प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्छ । उक्त विद्यालयमा कक्षा–२ र कक्षा–३ मा एक–एक जना मात्रै विद्यार्थी छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुँदा नै दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी भर्ना भएको प्रधानाध्यापक कमलप्रसाद रिजालले बताए । 

उनका अनुसार उक्त विद्यालयमा कक्षा–१ मा पाँचजना, कक्षा–४ र ५ मा दुई–दुई जना विद्यार्थी भर्ना भएका थिए । ‘हाम्रो विद्यालयमा जम्मा विद्यार्थीको सख्या ११ जना हो,’ प्रअ रिजालले भने, नौजना चाहिँ नियमित विद्यालय आइरहेका छन् ।’ 

साकेला प्राथमिक विद्यालय दरबन्दीका रिजाल मात्रै हुन् । राहतका एकजना शिक्षक रहेका छन् । उनी शान्तिराम राई रहेका छन् । अझ चाखलाग्दो कुरा त के छ भने त्यहाँ कार्यालय सहायक (पियन)लाई पनि पढाउन लगाउने गरिएको छ । 

प्रअ रिजालका अनुसार प्रशासनिक कामसमेत गर्नुपर्ने भएकाले कोर्स सक्न समस्या हुने गरेकाे छ । यस्ताेमा कार्यालय सहायक पवित्रा राईलाई पनि पढाउन लगाउने गरिएकाे हाे । 

पहाडी इलाका भएकाले बसाइँ सरेर जानेको संख्या सो क्षेत्रमा धेरै छ ।  विद्यालयसम्म हिँडेर आउन झण्डै दुई घण्टा जति समय लाग्छ । सो क्षेत्रमा खोला–नाला पनि छन् । दाजु–दिदी माथिल्लो कक्षामा पढ्न जान थालेपछि कतिपय साना बालबालिका उनीहरू पनि जान्छन् । वैदेशिक रोजगारीमा जानेहरूका कारण पनि विद्यार्थी संख्यामा असर गरेको प्रअ रिजाल बताउँछन् । ‘आजकल अधिकांशका एकजना मात्रै बच्चा हुन्छ । त्यो पनि सदरमुकाममा राखेर पढाउने गरेका छन् । निजी स्कूलका गाडीहरू गाउँ–गाउँसम्म आउँछन् । त्यसले पनि विद्यार्थीको सख्या कम भएको हो,’ उनले भने ।  

अहिले विद्यालयसँग दुईवटा भवन मात्रै रहेका छन् । अहिले अफिस रहेको ढुङ्गा माटोले बनेको दुईकोठे भवनलाई बारेर तीन कोठा बनाइएको छ । एउटा कोठामा अफिस तथा अरु दुईमा कम्प्युटर ल्याब र स्टोर बनाइएको छ । 

दुईकोठे भवनलाई फलामे ट्रस्टले बारेर तीन कोठा बनाइएको छ । त्यहीँ पठन–पाठन गर्ने गरिएको छ । कक्षा–१ का विद्यार्थीलाई एउटा कोठामा पढाइन्छ भने कक्षा–२ र ३ का लाई अर्कोमा । यस्तै कक्षा–४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको छ । 

विद्यार्थी थोरै हुन थालेपछि विद्यालय ‘मर्च’को तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका अधिकृत तीर्थबहादुर विश्वकर्माले बताए । ‘पछि विद्यार्थी बढे भने पुनस्र्थापना गर्ने गरी मर्च गर्ने तयारीमा छाैँ,’ उनले भने, ‘हाम्रो नगरकै सबैभन्दा कमजोर सामुदायिक विद्यालय साकेला नै हो । यसर्थ, दरबन्दी कटौती गर्दै शिक्षकलाई अन्यत्र काजमा पठाइरहेका छौ ।’ 

अधिकृत विश्वकर्माले कार्यालय सहायकलाई पढन पाठनमा लगाएको भए विद्यालयलाई कारबाही गरिने बताए । ‘कक्षा– १ देखि ३ सम्म बहुशिक्षण गर्न पाउने व्यवस्था रहेको छ,’ उनले भने,’ त्यसो गर्दा पठन–पाठनमा कुनै असर हुँदैन । जसले जे काम गर्ने भनेर नियुक्ति गरिएको छ, त्यसले त्यही गर्ने हो ।’ 

साकेला मात्र होइन बसाइँ सराइ र निजी विद्यालयप्रति अविभावकको आकर्षणका कारण पहाडी जिल्लाका धेरै बिद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । पढाइको गुणस्तरमा सुधार नगर्दा सामुदायिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेको शिक्षा क्षेत्रका जानकारहरू बताउछन् । 


 

salt training

कमेन्ट गर्नुहोस्