२९ जेठ २०८३, शुक्रबार
कलाकारको करिअर

डेब्युमै हिट कलाकारः धेरैको करिअर रफ्तारमा, केही गुमनाम

मंसिर ३०, २०८०
काठमाडौं
डेब्युमै हिट कलाकारः धेरैको करिअर रफ्तारमा, केही गुमनाम

नेपाली सांगीतिक क्षेत्रका हिट गायक प्रकाश सपूत अभिनेताका रूपमा चलचित्र प्रवेश गरे । सपूत डेब्यु चलचित्र नै हिट भयो । गत दशैंमा प्रदर्शनमा आएको उनी अभिनीत चलचित्र ‘परदेशी २’ले हलमा ५१औं दिन मनाएको थियो ।

सोही अवसरमा निर्माण टिमले आयोजना गरेको सेलिब्रेसन कार्यक्रममा चलचित्रकी अभिनेत्री केकी अधिकारीले प्रकाशलाई बधाई दिँदै भनेकी थिइन्, 'यो मोमेन्ट बिताउन मैले ३३ वटा चलचित्र कुर्नुपर्‍यो । १३ वर्ष कुर्नुपर्‍यो । डेब्युमै सफलता पाउने भाग्य कमै कलाकारको हुन्छ ।’ पहिलो प्रयासमै सफलताको अनुभव लिन लगनशीलतासँगै भाग्यले पनि साथ दिनुपर्ने आशय उनको थियो ।

उसो त पहिलो चलचित्रबाटै सफलताको स्वाद चाख्ने प्रकाश पहिलो कलाकार होइनन् । पुराना अभिनेता राजेश हमाल, निखिल उप्रेतीदेखि नयाँ पुस्ताका रुचाइएका अभिनेता अनमोल केसी, पल शाहसम्मले पहिलो चलचित्रबाटै सफलताको स्वाद चाखेका हुन् । राजेश र निखिल अहिले चलचित्र क्षेत्रमा त्यति सक्रिय छैनन् भने अनमोल र पल अहिलेका रुचाइएका अभिनेतामा पर्छन् ।

‘होस्टेल’बाट डेब्यु गरेका अनमोलले ‘ड्रिम्स’, ‘जेरी’, ‘गाजलु’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’ जस्ता हिट चलचित्रमा काम गरिसकेका छन् । हाल ‘फर्की फर्की’ चलचित्रको छायांकनमा व्यस्त रहेका अनमोललाई लिएर चलचित्र बनाउन चाहनेहरू प्रशस्तै छन् । यता, म्युजिक भिडियोमा जमिरहेका बेला ‘नाइँ नभन्नू ल ४’बाट चलचित्रमा उदाएका पलको योसँगै ‘शत्रुगते’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्र हिट छन् । अहिले ‘मायावी’ चलचित्रको छायांकन सकेका उनी लगत्तै ‘पूजार सार्की’ नामक चलचित्रमा काम गर्दैछन् ।

null

त्यस्तै, अभिनेत्री रेखा थापादेखि वर्षा शिवाकोटी, वर्षा राउत, आँचल शर्मा, स्वस्तिमा खड्का, सुहाना थापासम्म पहिलो चलचित्रबाटै सफलता पाउनेमा पर्छन् । ‘हिरो’बाट चलचित्र क्षेत्रमा उदाएकी रेखाको आगामी चलचित्र ‘उपहार’ फागुन २५ बाट प्रदर्शनमा आउँदैछ । ‘नाइँ नभन्नू ल २’बाट उदाएकी वर्षा शिवाकोटी, ‘नाइँ नभन्नू ल ४’बाट उदाएका वर्षा राउत र आँचल शर्मा चलचित्र क्षेत्रमा रोजाइका अभिनेत्री हुन् ।

‘होस्टेल रिटर्नस्’बाट उदाएकी स्वस्तिमा अहिले सर्वाधिक रोजाइकी अभिनेत्रीमा पर्छिन् । यही वर्ष उनका ‘पशुपति प्रसाद २: भस्मे डन’ र ‘दिमाग खराब’ गरी दुई चलचित्र हिट भइसकेका छन् । म्युजिक भिडियो र विज्ञापनहरूमा पनि उनी निकै रोजाइमा पर्ने गरेकी छन् । ‘होस्टेल रिटर्नस्’बाटै उदाएका दुई अभिनेता सुशील श्रेष्ठ र सुशील सिटौला पनि निरन्तर चलचित्रमा काम गरिरहेका छन् । उनीहरूले पछिल्ला चलचित्रबाट सफलता भने पाउन सकिरहेका छैनन् ।

सांगीतिक क्षेत्रमा पनि पहिलो गीत/भिडियोबाट चर्चामा आउने गायक/गायिका एवं मोडलहरू थुप्रै छन् । पछिल्लो समयका चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहान पहिलो गीतबाटै चर्चामा आउनेमध्येमा पर्छन् । समीक्षाको पहिलो गीत ‘बालापनको उमेर’ औधी रुचाइएको थियो भने एलिनाको ‘के माया लाग्छ र ?’ लाई स्रोता–दर्शकले निकै रुचाएका थिए । यी दुवै गायिकाहरू अहिले रेकर्डिङ र स्टेज कार्यक्रममा व्यस्त छन् । 

यहाँ पछिल्ला वर्ष चलचित्र र सांगीतिक क्षेत्रमा डेब्यु मै सफलता पाएका अन्य केही कलाकारहरूका बारेमा चर्चा गरिएको छ । उनीहरूको डेब्युपछिको यात्रा कस्तो छ ? समेत यहाँ उल्लेख गरिएको छ ।

सलिनमान बनिया,अभिनेता

६ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’बाट उदाएका अभिनेता हुन् सलिनमान बनियाँ । झरना थापाको निर्देशनमा तयार यो चलचित्रमा काम गरेपछि सलिनमानले लोभलाग्दो क्रेज बनाए । चलचित्रले राम्रो व्यवसाय गर्‍यो । यसपछि सलिनमानले चलचित्र ‘यात्रा’मा काम गरे । चार वर्षअघि प्रदर्शनमा आएको यो चलचित्रले भने अपेक्षाकृत व्यापार गर्न सकेन । यसपछि उनी कुनै चलचित्रमा देखिएका छैनन् । अहिले पनि उनलाई लिएर चलचित्र बनाउन चाहनेहरू बाक्लै रहेका छन् । यद्यपि, उनले चलचित्रमा काम गर्ने इच्छा देखाएका छैनन् ।

धीरज मगर,अभिनेता

अभिनेता धिरज मगर पनि पहिलो चलचित्रबाटै चर्चामा आएका थिए । साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्दै ‘इन्टु मिन्टु लण्डनमा’बाट धिरजले चलचित्र उद्योगमा डेब्यु गरेका थिए । यो चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको थियो । त्यसयता धिरजले काम गरेका ‘बाबरी’, ‘ज्याकी आइएम ट्वान्टी वान’ र ‘एक भगवत र एक गीता’ले अपेक्षाकृत व्यापार गर्न सकेनन् । यीमध्ये ‘एक भगवत र एक गीता’ गत भदौंमा प्रदर्शनमा आएको थियो ।

सुहाना थापा,अभिनेत्री

चार वर्षअघि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’बाट चलचित्रमा डेब्यु गरेकी अभिनेत्री हुन सुहाना थापा । आमा झरना थापाको निर्देशनमा तयार चलचित्रले राम्रो व्यापार मात्र गरेन, सुहानाको उत्तिकै चर्चा भयो ।

null

त्यसपछि सुहानाले ‘ए मेरो हजुर ४’मा काम गरिन् । उक्त चलचित्र पनि बक्स अफिसमा सफल रह्यो । होम प्रोडक्सनभन्दा बाहिरको प्रोजेक्टमा काम नगरेकी सुहानाको पछिल्लो चलचित्र ‘एक भगवत र एक गीता’ भने सफल हुन सकेन ।

साम्राज्ञी राज्यलक्ष्मी शाह,अभिनेत्री

null

अहिले रोजाइमा पर्नेमध्येकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पहिलो चलचित्रबाटै चर्चामा आएकी थिइन् । ७ वर्षअघि अनमोल केसीसँग जोडी बाँध्दै ‘ड्रिम्स’ चलचित्रबाट साम्राज्ञीले अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन् । चलचित्रले राम्रो व्यापार गरेको थियो । त्यसपछि उनले अभिनय गरेको ‘ए मेरो हजुर २’पनि हिट सावित भयो । बिचमा केही चलचित्र असफल भए पनि पछिल्लो समय उनी अभिनीत ‘नाङ्गो गाउँ’ले राम्रो व्यवसाय गरेको थियो ।

क्रिष्टिना गुरुङ,अभिनेत्री

पहिलो चलचित्रबाटै लोभलाग्दो चर्चा पाउने अभिनेत्री हुन् क्रिष्टिना गुरुङ । ‘प्रेम गीत ३’मा छनोट भएदेखि चलचित्र प्रदर्शन हुँदासम्म नै उनले निकै चर्चा पाइन् । प्रदीप खड्काको जोडीका रूपमा उनी प्रस्तुत भएको चलचित्र गतवर्षको असोजमा प्रदर्शनमा आएको थियो । ‘प्रेमगीत ३’ का कारण उनको चर्चा नेपालमा मात्र सीमित थिएन, भारतलगायत देशमा रहेका नेपालीमाझ समेत क्रिष्टिना चर्चित बनेकी थिइन् ।

null

किनकि उक्त चलचित्र नेपाल, भारतसँगै विश्वका धेरै देशमा एकसाथ प्रदर्शनमा आएको थियो । चलचित्र प्रदर्शनमा आएपछि भने क्रिष्टिना गुमनामजस्तै हुन पुगेकी छन् । एक वर्षभन्दा लामो समयसम्म उनले दोस्रो चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । चलचित्रको अफर नपुगेर वा हो पुगेर पनि कथा चित्त नबुझेका कारण काम नगरेकी हुन् भन्नेबारे क्रिष्टिनाले केही खुलाएकी छैनिन् ।

गीता ढुंगाना,मोडल

नेपाली म्युजिक भिडियोमा अहिलेकी सर्वाधिक व्यस्त मोडल हुन् गीता ढुंगाना । झण्डै चार वर्षअघि ‘ओए काजल’ बोलको गीतबाट उनी म्युजिक भिडियोमा उदाएकी थिएन् । उनको पहिलो भिडियो नै निकै हिट भएपछि उनी निकै व्यस्त बन्दै गइन् । उनले मोडलिङ गरेका ‘चम्चा पिलेट’, ‘चौका दाउ’, ‘झमझम झम्कना’, ‘खोली तारि देउन माझी दाइ’, ‘सरर भागौंला’लगायत गीत निकै चर्चित छन् । हिजोआज पनि नियमितजसो उनका म्युजिक भिडियोहरू युट्युबमा सार्वजनिक भइरहेका हुन्छन् । उनको मोडलिङ करिअर रफ्तारमा अगाडि बढिरहेको छ ।

दिनेश ढकाल,गायक

दुई वर्षअघि सार्वजनिक ‘कालो केशमा रेलिमई’ बोलको गीतलाई स्रोता–दर्शकले औधी रुचाए । चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकाहरुले समेत यो गीतको निकै प्रसंशा गरे ।

सोही गीतका गीतकार, संगीतकार एवं गायक हुन् दिनेश ढकाल । उनको यो पहिलो गीत थियो । यो गीतपछि फिमेल भर्सनमा समेत सार्वजनिक भएर त्यसले पनि माया पाइसकेको छ ।

डेब्युमै लोभलाग्दो चर्चा पाएका दिनेशले त्यसपछि पनि केही गीतहरू सार्वजनिक गरिसकेका छन् । तर, अन्य गीतहरूको चर्चा उतिसाह्रो हुन सकेका छैन ।

कुसुम शर्मा,मोडल

प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट मोडलिङमा डेब्यु गरेकी हुन् कुसुम शर्माले । यसवर्षको वैशाखमा सार्वजनिक यो गीत निकै चलेको थियो । भिडियोमा कुसुमको अभिनयको पनि निकै प्रशंसा भयो । डेब्यु भिडियो अत्यधिक हिट भएसँगै उनलाई अन्य म्युजिक भिडियोबाट अफर पुग्न थाल्यो । त्यसयता कुसुमले केही म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । यद्यपि, सुरुवाती चर्चा अनुसार म्युजिक भिडियोमा उनको व्यस्तता उतिसाह्रो भने देखिएको छैन । कुसुमले चलचित्रमा समेत अभिनय गर्दैछिन् । निर्देशक दिनेश श्रेष्ठले अभिनेता आर्यन सिग्देल र कुसुमलाई लिएर ‘सञ्जिवनी’ चलचित्र बनाउने घोषणा गरेको केही महिना भइसकेको छ । यद्यपि, उक्त चलचित्रको छायांकन कहिलेबाट सुरु हुने टुंगो लागिसकेको छैन । कुसुम प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’मा पनि देखिँदैछिन् ।

अरुण क्षेत्री,अभिनेता

प्रदीप भट्टराईको निर्देशनमा तयार गतवर्षको सफल चलचित्र ‘महापुरुष’बाट डेब्यु गरेका अभिनेता हुन् अरुण क्षेत्री । अडिसनमार्फत छनोट भएर चलचित्रमा काम गरेका अरुणले पहिलो चलचित्रमा अभिनयको प्रसंशा पाए । तर, यो चलचित्रमा उनी अर्का अभिनेता वरिष्ठ कलाकार हरिवंश आचार्यको छायाँमा परेका कारण धेरै चर्चा भने भएन । त्यसपछि अरुणका दुई चलचित्र ‘प्रेमा’ र ‘ज्याक आइएम ट्वान्टी वान’ प्रदर्शनमा आइसकेका छन् । यी दुवै चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेनन् ।

अञ्जना बराईली,अभिनेत्री

‘महापुरुष’बाटै अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् अञ्जना बराईलीले । ‘घुमी घुमी’लगायत केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी त्यसपछि अन्य चलचित्रमा भने देखिएकी छैनन् । उनको आगामी चलचित्र ‘चित्रा’ पुसको २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाश सपूत,गायक एवं अभिनेता

‘ब्याक टु ब्याक’ हिट गीत दिइरहेका गायक हुन् प्रकाश सपूत । उनले ल्याउने प्रायः सिर्जनालाई लिएर दर्शकमाझ छुट्टै खालको चर्चा हुने गर्छ । उनै प्रकाशको पहिले चलचित्र ‘परदेशी २’ सुपरहिट भइसकेको छ । यो चलचित्र प्रदर्शनमा नआउँदै उनलाई अन्य थुप्रै चलचित्रबाट अफर पुगेको थियो । यद्यपि, उनले आफूले पहिलो चलचित्र ‘परदेशी २’ होस् भन्ने चाहनाले अरु चलचित्रमा काम नगरेको बताएका थिए ।

null

यतिबेला प्रकाश आफैं चलचित्र निर्माण एवं निर्देशनको तयारीमा छन् । आगामी वैशाखमा उनको चलचित्रको घोषणा हुने बुझिएको छ । उनले यतिबेला नयाँ गीत ‘मुटु कटक्कै’ सार्वजनिक गर्ने तयारी गर्दैछन् । यो उनको ‘परदेशी २’ हिट भएपछिको पहिलो गीत हुनेछ ।

पछिल्ला वर्ष पहिलो चलचित्र वा गीतबाटै चर्चामा आउने अरु कलाकारहरू समेत छन् । तीमध्ये केही निरन्तर सक्रिय छन् भने  केही भने गुमनामसमेत भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्