०८ साउन २०८३, शुक्रबार

गाउँमै स्वास्थ्य केन्द्र स्थापना, सिटामोल र जीवनजल किन्न ४ घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो​

पुस ३, २०८०
काठमाडौं
गाउँमै स्वास्थ्य केन्द्र स्थापना, सिटामोल र जीवनजल किन्न ४ घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो​

वर्षौंदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका भोजपुरको टेम्केमैयुङ–५  चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् ।

गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि  तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् ।

सिटामोल र जीवनजल किन्न चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएकामा स्थानीयबासी टङ्कबहादुर विष्ट दङ्ग छन् ।

दुई गाउँका स्थानीयलाई लक्षित गरी अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवाग्राही लाभान्वित भएका उनी बताउँछन्  । केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौं पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए ।

‘वर्षौंदेखि हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौं’, उनले भने, ‘अहिले गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो ।’ विगतका दिनमा यहाँका नागरिकले वडा कार्यालय खावासँगै अन्य स्थानमा स्वास्थ्य सेवाका लागि जानुपर्ने अवस्था थियो ।

नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई  लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।​

गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह थालिएको उनले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्