
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित अनुशासन इन्चार्ज (डीआई) नराख्न र राखेको भए हटाउन उर्दी जारी गरेको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘महानगरभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्ता व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्नू–नगराउनु हुन सम्बन्धित सवैलाई सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि पनि काठमाडौं महानगरले क्रिसमसका नाममा विद्यार्थीहरूलाई त्यससम्बन्धी कपडा खरिदका लागि बाध्य नपार्न विद्यालयहरूलाई अनुरोध गरेको थियो ।
नजिकिँदो क्रिसमसका अवसरमा विद्यालयहरूले त्यससम्बन्धी पोशाक खरिदका लागि अभिभावकलाई बाध्य पारेको गुनासो आएपछि महानगरले क्रिसमसबारे नाम उल्लेख कारबाहीको चेतावनीसमेत दिएको छ ।
