
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
शनिवार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् ।
कार्यक्रममा उनले भने, ‘तपाईंहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ । अहिले संसद् अधिवेशन समापन भएको छ । नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन र सङ्घीय शिक्षा ऐन संसद्बाट पारित गराउन पहल हुन्छ । यो ऐन सरकारको उच्च प्राथमिकतामा छ ।’
शिक्षकहरूले दिएका सुझावहरूमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिने प्रधानमन्त्रीले स्पष्ट पारे ।
‘तपार्इं शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दबाब दिनुभयो । यसले सरकारलाई सहयोग पुगेको छ,’ उनले भने, ‘तपाईंहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ ।’