२८ जेठ २०८३, बिहीबार
'सक्किगोनि'को शूटिङमा जे देखियो

पाँचखालको गाउँमा राष्ट्रिय गानबाट यसरी शुरू हुन्छ ‘सक्किगोनि’को शूटिङ

पुस १२, २०८०
काठमाडौं
पाँचखालको गाउँमा राष्ट्रिय गानबाट यसरी शुरू हुन्छ ‘सक्किगोनि’को शूटिङ

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । 

ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को शूटिङ शुरू हुँदै गर्दा सोमबारको दृश्य हो ।

समय :बिहान ८ बजे
स्थान :काभ्रे जिल्ला, पाँचखाल नगरपालिका –६ जैसिडिही​

काठमाडौंबाट झण्डै ३५ किलोमिटर दुरीमा पर्ने जैसिडिही गाउँमा एकाबिहानै पुगेर टीमले शूटिङको तयारी गरिरहेको थियो । 

त्यसअघि टीमलाई राखेर दिनभरिको शेड्युल र सदस्यले गर्नुपर्ने कामबारे सिरियलका लेखक एवं निर्देशकमध्येका एक घिमिरेले जानकारी गराउँदै थिए । 

‘यहाँ हामी काम गर्न आएका हौं । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौं,’ उनले भने, ‘जाडो छ । धेरै साथीहरू बिरामी हुनुहुन्छ । स्वास्थ्यलाई ध्यान दिएर काम गर्नुहोला । कसैलाई केही समस्या भए भन्नुहोला ।’ 

त्यसपछि शुरू भयो राष्ट्रिय गान । विगतदेखि नै राष्ट्रिय गान गाएर ‘सक्किगोनि’को शूटिङ शुरू गर्ने गरिएको रहेछ । 

क्यामेरा पूजा गर्दै अर्जुन घिमिरे र हरि निरौला 

राष्ट्रिय गान सकिएलगत्तै टीम शूटिङका लागि सिरियलका नयाँ कलाकार बबिन राई ‘गल्फने बाजे’को रिलको घरतर्फ लाग्यो । त्यहाँ ‘गल्फने बाजे’को दृश्य शूटिङ शुरू भयो । उनका केही दृश्य खिच्नकै लागि झण्डै ३ घण्टाजति लाग्यो ।

कुमार कट्टेल, बबिन राई र हरि निरौलाको दृश्य खिचिँदै

जबसम्म चित्त बुझ्दैन तबसम्म अर्जुनले ‘ओके’ नगर्दारहेछन् । विभिन्न एंगलबाट पटक–पटक टेक लिने रहेछन् । सिरियलमा ‘पाँडे’को भूमिकामा देखिँदै आएका अर्जुनको सीन भने त्यस दिन राखिएको थिएन । 

१२ बजेपछि लन्च ब्रेक भयो । यतिञ्जेल सिरियलका अर्का लेखक एवं निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री’ र कलाकार हरि निरौला ‘कक्रोज’ मेकअप सकेर बसिरहेका रहेछन् ।

null

अर्का कलाकार दीपक आचार्य पनि ‘काकु’ बन्ने तयारीमा थिए । त्यतिबेलासम्म १ः३० बजिसकेको थियो । 

‘काकु’ बन्ने तयारीमा दीपक आचार्य 

‘जिग्री’ र ‘कक्रोज’ मण्डला थिएटरबाट भाडामा लगिएको राई समुदायको पहिचान झल्कने ड्रेस लगाएर सीन खिच्नका लागि निस्किन्छन् । ‘गल्फने बाजे’सँग उनीहरूको सीन खिच्न शुरू हुन्छ । उक्त सीन खिच्न पनि केही घण्टा लाग्यो । 

आकाशमा हवाइजहाज उड्दा र नजिक स–सानो हो–हल्ला हुँदा पनि केही समयलाई शूटिङ रोकिँदोरहेछ । टीमका अनुसार शुरूआतमा त शूटिङ हेर्न आउनेको ठूलो भीड हुन्थ्यो । यद्यपि, ‘सक्किगोनि’ सोही ठाउँमा खिच्न थालिएको अहिले झण्डै ५ वर्ष भइसकेकाले शूटिङ हेर्न आउनेहरू खासै थिएनन् ।

तर, शूटिङ हुने थाहा पाएर टाढाटाढाबाट अहिले पनि कतिपय मानिस त्यहाँ पुग्ने गरेका रहेछन् । कलाकारहरूले खाली हुँदा शूटिङ हेर्न पुगेकासँग तस्वीर पनि खिच्ने रहेछन् ।

सुटिङ हेर्न पुगेका फ्यानसँग तस्वीर खिचाउँदै हरि निरौला

साँझपख रश्मी पाण्डे ‘माकुरी’को पालो आयो । उनको दृश्य खिचिरहँदा अँध्यारो भइसकेको थियो । यता, दिउँसै तयार भएका ‘काकु’को पालो रात पर्दासम्म आइसकेको थिएन । 

‘सक्किगोनि’को पहिलो सिजनबाटै पाँचखालको जैसिडिहीमा शूटिङ हुँदै आएको छ । नजिक–नजिकका केही घरलाई भाडा तिर्नेगरी प्रयोग गर्ने गरिएको रहेछ । जसमध्ये केही मान्छे नबस्ने घरहरू समेत छन् । 

null

सिरियलको एक एपिसोड खिच्नका लागि प्रायः २ दिन लाग्ने गरेको छ । एकपटकको पाँचखाल बसाइमा २/३ एपिसोड खिच्ने गरिएको कलाकारहरूले बताए । २०/२५ जनाको टीम त्यहीँका घरमा बसेर शूटिङ सकेर फर्किने गरेका रहेछन् । 

अँध्यारो भएर शूटिङ रोकेपछि बल्ल फुर्सद पाएका अर्जुन घिमिरेले निकै सहज वातावरणमा शूटिङ हुँदै आएको बताए ।

गाउँलेहरूबाट पनि निकै साथ र सहयोग पाउने गरेको उनको भनाइ थियो । दर्शकलाई राम्रो कन्टेन्ट दिन आफूहरूले पनि कुनै ‘कम्परमाइज’ नगरेको घिमिरेले बताए । 

निर्देशन गरिरहेका अर्जुन घिमिरे (पाँडे)

‘कुनै–कुनै त एउटै एपिसोड नै ६/७ दिन लगाएर समेत खिचेका छौं । कथाले मागेपछि खर्च जति लागे पनि कुनै कुरामा कम्परमाइज गरेका छैनौं,’ सोमबार साँझ उनले भने, ‘भोलि ५ वटा टिप्पर र एउटा डोजर ल्याएर शूटिङ गर्दैछौं ।’ शायद, बिहीवारको एपिसोडमा दर्शकले उक्त दृश्य हेर्न पाउनेछन् । 

अर्जुन घिमिरे (पाँडे)को कटेज

०००

‘सक्किगोनि’को तेस्रो सिजनको ३१ एपिसोड प्रशारणमा आइसकेको छ । यसमा अभिनय गर्ने हरेक पात्रहरू दर्शकमाझ निकै लोकप्रिय छन् ।

सिरियलमा अर्जुन घिमिरे (पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सिपी पुडासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, गोविन्द कोइराला ‘जयन्ते’, मधुसुदन पाठक ‘सिते बा’, प्रियना आचार्य ‘मुन्नी’, रक्षा श्रेष्ठ, रश्मी पाण्डेलगायतको अभिनय रहँदै आएको छ । यो टीमले आगामी महिना नामसहित चलचित्र निर्माणको घोषणा गर्ने तयारी समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्