२९ जेठ २०८३, शुक्रबार
टिकटकबाट उदाएका अनुहार

टिकटकको चर्चाले म्युजिक भिडियोमा अवसर, फिल्मसम्म यात्रा

पुस १४, २०८०
काठमाडौं
टिकटकको चर्चाले म्युजिक भिडियोमा अवसर, फिल्मसम्म यात्रा

टिकटकबाट चर्चामा आएका पवित्रा साकी (मिस पबी) र सिम्रन पन्तले ‘राजमहल’मार्फत् फिल्ममा डेब्यु गर्दैछन् । केही दिनअघि मात्र निर्माण घोषणा भएको फिल्ममा उनीहरूले रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेतजस्ता चर्चित कलाकारसँग काम गर्ने अवसर पाउने भएका छन् । 

डडेल्धुराकी ‘मिस पबी’ डोटेली भाषामा बोलेर टिकटकबाट चर्चामा आएकी थिइन् । टिकटकबाट पाएको लोकप्रियताकै कारण उनले म्युजिक भिडियोमा मोडलिङको अवसर पाइन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले अहिले फिल्ममा अभिनयको अवसर पाएकी हुन् । 

‘राजमहल’ फिल्मको घोषणा कार्यक्रममा चर्चित कलाकारहरूका साथ मिस पबी र सिम्रन पन्त ।

यस्तै, सिम्रनले पनि टिकटकको माध्यममार्फत् म्युजिक भिडियोमा मोडलिङको अवसर पाएकी थिइन् । ‘टिकटकमा देखेका आधारमा म्युजिक भिडियोका लागि अफर गर्नुभएको थियो । केही भिडियोमा अभिनय गरेपछि अहिले फिल्ममा अवसर पाएँ,’ उनले भनिन् । उनी विगत ८ महिनादेखि मुम्बईमा रहेर अभिनय र नृत्यको प्रशिक्षण लिइरहेकी थिइन् । फिल्मको अफर आएपछि उनी काठमाडौं आएकी हुन् । 

मिस पबि र सिम्रन मात्र होइन, यसअघि पनि टिकटकबाट उदाएकाहरूले फिल्ममा अभिनय गरिसकेका छन् । नेपालमा विगत डेढ महिनादेखि टिकटक प्रतिबन्ध छ । ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको’ भन्दै सरकारले गत कात्र्तिकबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । धेरैले मनोरञ्जनको माध्यम मान्दै आएको टिकटकमा पछिल्लो समय धेरै विकृति भित्रिएको गुनासो बढेको थियो । यद्यपि, प्रतिभा भएकाहरूलाई भने टिकटक फगत मनोरञ्जनको माध्यम मात्र नभएर अभिनय करिअर शुरू गर्ने बलियो प्लेटफर्म समेत बनिदिएको थियो । जसमध्ये केहीले फिल्मसम्म यात्रा तय गरिसकेका छन् । 

टिकटकबाट म्युजिक भिडियोमा उदाएर फिल्मसम्मको यात्रा तय गर्नेमा सबैभन्दा चर्चामा देखिएकी छन् गरिमा शर्मा । 
म्युजिक भिडियोमा डिमाण्डेड उनले मोडलिङ गरेका थुप्रै गीतहरू निकै रुचाइएका छन् । उनले दुईवटा फिल्ममा काम गरिसकेकी छन् ।

गरिमाको अभिनय रहेको फिल्म ‘लण्डन टु पेरिस’को टिम ।

उनको शीर्ष भूमिका रहेको फिल्म ‘लन्डन टु पेरिस’को छायांकन सकिएको धेरै भइसकेको छ । यद्यपि, प्रदर्शन मिति भने तय भइसकेको छैन । उनले यतिबेला फेरि अर्को फिल्ममा काम गरेकी हुन् । नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्वदीर्घ’मा उनले काम गरेकी छन् । यस्तै फिल्म ‘दौतरी’मा पनि काम गर्ने उनको तयारी छ । 

त्यस्तै, मोडल रेश्मा घिमिरे पनि टिकटकबाट चर्चामा आएकी हुन् । केही वर्ष पहिले ‘यो साइनो मायाको’ फिल्ममा अभिनय गरे पनि नोटिस हुन नसकेकी उनी पछि टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा छाउन पुगिन् । उनले मोडलिङ गरेका थुप्रै म्युजिक भिडियो निकै रुचाइए । पछिल्लो समय भने उनी म्युजिक भिडियोमा पहिलेजस्तै व्यस्त देखिएकी छैनन् । उनको अभिनय रहेको फिल्म ‘अन्तिम संस्कार’ गत असारमा प्रदर्शनमा आएको थियो । 

‘अन्तिम संस्कार’ फिल्मको एक दृश्यमा रेश्मा घिमिरे ।

‘टिकटकर’ भन्नेवित्तिकै सबैभन्दा चर्चित मानिन्छन् ‘ट्विनी गर्ल्स’ नामबाट परिचित जुम्ल्याहा दिदीबहिनी, प्रिज्मा–प्रिन्सी खतिवडा । 

छोटो समयमै टिकटकमा लाखौं फ्लोअर्स र लाइक पाउने प्रयोगकर्ता बनेका उनीहरू लोकप्रियताकै खातिर म्युजिक भिडियोमा उदाए र निरन्तर सक्रिय रहे । उनीहरूले मोडलिङ गरेका एकपछि अर्को म्युजिक भिडियो चल्दै गए । यी दुईले फिल्ममा अभिनेत्रीका रूपमा काम गरिसकेका छैनन् । यद्यपि, फिल्मको गीतमा भने नृत्य गर्ने अवसर पाइसकेका छन् । केही वर्ष अगाडि प्रदर्शनमा आएको ‘लभ डायरिज’ फिल्मको गीत ‘छम छम’मा उनीहरूले नृत्य गरेका थिए । 

‘लभ डायरिज’ फिल्मको गीतमा नृत्य गर्दै प्रिज्मा–प्रिन्सी खतिवडा ।

टिकटकबाटै उदाएर अहिले म्युजिक भिडियोमा छाइरहेकी मोडल गीता ढुंगानाले पनि फिल्ममा अभिनेत्रीका रूपमा अभिनय नगरे पनि फिल्मको गीतमा भने नृत्य गरिसकेकी छिन् । 

टिकटकमा एक हिसाबको चर्चा कमाएपछि ‘ओए काजल’ बोलको गीतबाट उनी म्युजिक भिडियोमा उदाएकी थिइन् । त्यसयता दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले गत मंसिरमा प्रदर्शनमा आएको फिल्म ‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’बोलको गीतमा नृत्य गरेकी हुन् । 

‘दुई कदम’ फिल्मको गीतमा अभिनेता विल्सनविक्रम राईका साथ नृत्य गर्दै गीता ढुंगाना ।

टिकटकबाट उदाएर फिल्मसम्मको यात्रा तय गर्नेहरू कम भए पनि म्युजिक भिडियोसम्म आउनेहरू भने थुप्रै छन् ।

salt training

कमेन्ट गर्नुहोस्