
इन्टरनेट सेवा प्रदायकहरूले भनेजति गति र मात्रामा इन्टरनेट सेवा नपाएको भनी प्रयोगकर्ताको गुनासो बढिरहेका बेला नेपाल टेलिकमले भने 'जति भन्छौं, त्यति दिन्छौं' नाराका साथ आफ्नो आक्रामक ढंगले बजार विस्तार गरिरहेको छ ।
७७ मध्ये ७४ जिल्लामा एनटी फाइबर सेवा विस्तार गरिसकेको एनटीसीले सेवा विस्तारसँगै गुणस्तरतर्फ उत्तिकै ध्यान दिएको छ । 'मुगु, हुम्ला र डोल्पामा पुग्ने प्रयास गर्दैछौं,' एनटीसीका सह-प्रवक्ता परमात्मा भट्टराईले लोकान्तरसँग भने ।
पछिल्लो समय ‘एनटी फाइबर’मार्फत टेलिकमले इन्टरनेट बजारमा उपस्थिति बलियो बनाउँदै लगेको हो । पहिले सरकारी सेवा भनेका बेला उपलब्ध हुँदैन भनेर सेवाग्राही हिच्किचाउने गरेकोमा अहिले त्यो छवि विस्तारै बदलिएको छ ।
‘एनटी फाइबर’ नामबाट पछिल्लो समय ‘फाइबर टु दी होम’ (एफटीटीएच) इन्टरनेटमा लोकप्रियता बटुलिरहेको टेलिकमले त्यसैको विस्तारित रूप १ जीबीपीएस (१००० एमबीपीएस) गतिको इन्टरनेट उपलब्ध गराउन शुरू गरेको छ ।
भट्टराईका अनुसार भदौ मसान्तसम्ममा एनटी फाइबर सर्भिसअन्तर्गत इन्टरनेट प्रयोगकर्ता २ लाख ६० हजार पुगेका छन् । पुरानै केबल नेट चलाइरहेकाहरू समेत जोड्दा यो संख्या ३ लाखभन्दा माथि छ ।
एनटीसीले भ्वाइस मात्र लिएका ग्राहकहरूलाई परीक्षणका लागि डाटा सेवा पनि लिन आग्रह गर्दै आइरहेको छ ।
'हामी आक्रमक ढंगबाट सेवा विस्तार गरिरहेका छौं,' भट्टराईले भने ,'फाइबरमै ‘भ्वाइस’तर्फ करिब ३ लाख २५ हजार प्रयोगकर्ता छन् । फाइबरमा ‘फल्ट रेट’ निकै कम छ ।'
उनले कपर केबल हुँदा चोरीको समस्या रहेको बताए । कपर केबलमा हावाहुरी र पानीमा सिग्नल छुट्ने, नेटवर्क नटिप्ने समस्या देखिन्छ । तर भट्टराईका अनुसार फाइबरमा त्यस खालका समस्या छैनन् ।
उनले हप्ताको सातै दिन र दिनको २४ सै घण्टा एनटीसी ग्राहकको सेवामा रहेको दाबी गरे । फिल्डमा आउने समस्या समाधानका लागि सेवा करारमा लिइएको उनले बताए ।
खास–खास कामका लागि करार सम्झौता गरेका निजी कम्पनीले एनटी फाइबरमा आउने 'फिल्ड'का समस्या समाधानका लागि तुरुन्तै काम गर्नुपर्ने जिम्मेवारी पाएको उनले बताए ।
नेपाल प्रहरी, नबिललगायत अन्य बैंकहरू, काठमाडौं महानगरका वडाहरू, काठमाडौं मेडिकल कलेजलगायत अन्य स्वास्थ्य संस्थाहरूजस्ता ठूला र संस्थागत ग्राहक बनाउन एनटीसी सफल भएको वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठले बताइन् ।
'हामीले डेडिकेटेड सेवाहरू पनि प्रदान गर्दै आइरहेका छौं,' उनले भनिन्, '४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकले सोही मूल्यमा १०० एमबीपीएस र ८० एमबीपीएसको सेवा लिइरहेका ग्राहकले १५० एमबीपीएस गतिको सेवा प्राप्त गरेका छन् ।'
अन्य केही ठूला इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकारलाई बुझाउनुपर्ने बक्यौता विवादले कहिलेकाहीँ चरम रूप लिने गर्छ । यदि ती संस्थाहरूले पटक-पटक सेवा अवरुद्ध गरिदिने धम्की दिने गरेका छन् । यदि त्यसो भएमा एनटीसी एक्लैले इन्टरनेटको माग धान्न सक्ने हिसाबले एनटीसीले तयारी गरिरहेको छ ।
एनटीसीका अर्का एक उच्च कर्मचारीले निजी क्षेत्रबाट सञ्चालित इन्टरनेट कम्पनीहरूको सेवा अवरुद्ध हुने अवस्था आएमा नेपाल टेलिकमलाई व्याकअपमा राख्नेबारे सरकारले छलफल थालेको बताए ।
'सरकारी सेवा सुस्त हुन्छ भन्ने ग्राहकको मानसिकता परिवर्तन हुँदैछ,' उनले भने, 'निजी क्षेत्रले यदि इन्टरनेट बन्द नै गरिदियो भने त्यसको ब्याकअपमा रहने पूर्ण तयारीमा छौं ।'