
त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो ।
विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था शंसोधन गर्न निर्देशन दिएका थिए ।
उनको निर्देशनपछि समितिले पुस २० गतेको सूचना रद्द गरिएको सूचना आइतबार नै अर्को बैठक बसेर समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन ।
उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ ।
