
नेपाल टेलिकमले यो वर्षको विन्टर अफर २०८० सार्वजनिक गरेको छ । समय समयमा विभिन्न अफरहरू सार्वजनिक गर्दै आइरहेको नेपाल टेलिकमले शुक्रवारदेखि लागू हुनेगरी यो वर्षको विन्टर अफर सार्वजनिक गरेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
टेलिकमले यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको उनको भनाइ छ । जसअनुसार १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछ ।
यस्तै ७ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ ।
यसैगरी स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ प्रवक्ता अधिकारीले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।
यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।
त्यस्तै नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने बताइएको छ ।
विन्टर अफरअन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ ।
कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
‘कम्पनीको वेब साइट www.ntc.net.npमार्फत यस अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।