
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।
इपिएस शाखा र कोरिया मानव संसाधन बोर्ड (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेकोमा एक लाख ६४ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
शाखाका अनुसार इपिएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजनिक गर्ने विषयमा कोरियन पक्ष (एचआरडी) सँग छलफल भएको छ । शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आउँदो ६ गतेदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि तयार भएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।