![थानकोट-चित्लाङ 'मृत्यु मार्ग': यस्तो ठाउँबाट खसेको थियो डा. गौतमको गाडी [ड्रोन भिडियो]](https://lktcdn2.prixacdn.net/media/Thankot_Chitlang_Road_1_rEqUk6cz1C.jpg)
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए ।
उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तलैसम्म आइपुगेको देख्न भ्याए, तर त्यहाँसम्म पुग्ने हिम्मत गर्न सकेनन् ।
'शनिवार साढे २ बजे घाम तापेर बसिरहेको थिएँ, ड्याङ्ग गर्नेबित्तिकै आँखा त्यहीँ पुग्यो,' लामाले लोकान्तरसँग भने, 'गाडी भीरबाट ३/४ बल्ड्याङ खसेर तल आइपुग्यो । मान्छेहरू रोडमा छरिएका छन्, भन्ने सुनेको थिएँ, मचाहिँ जान सकिनँ ।'

यो त्यही दुर्घटना हो, जहाँ डा. महेशकुमार गौतम, उनका दुई सन्तानसहित ५ जनाको मृत्यु भएको थियो ।
काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्रदेश ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खस्दा चालक डा. गौतम, उनका २ सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स तथा सासूससुरा ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भयो ।
ढुंगामा फसेर गाडी अगाडि नबढेपछि श्रीमती डा. सृष्टि तिवारी गौतम ओर्लिएकी थिइन् ।

उनी ओर्लिएकै अवस्थामा गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो । अहिले पनि गाडी दुर्घटनास्थलमै छ ।
घुम्तीमा सडकबाट सडक, सडकबाट सडक हुँदै गाडी तलसम्म खसेको घटनास्थलमा देख्न सकिन्छ । अझै पनि गाडीका पार्ट्स पुर्जा सडकमा छरिएका भेटिन्छन् ।
थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत सेतो पहरोमा यसरी गाडी खसेको पहिलोपटक होइन रहेछ ।

करिब ६ महिनाअघि पनि यही ठाउँबाट मारुती भ्यान खसेको लामाले सुनाए ।
'५/६ महिनाअगाडि यही ठाउँबाट मारुती भ्यान खसेको थियो । गाडी अगाडि नबढेपछि ३ जना झरेका रहेछन् । बाँकी २ जना गाडीमै थिए । गाडी खसेर तल सडकमा आइपुग्यो,' लामाले भने, 'एकजना गाडीसँगै सडकमै आइपुगे, अर्का एकजना माथि नै अड्किएर आर्मी आएर निकाल्नुपर्यो ।'

उक्त दुर्घटनामा ती दुवै जनाको मृत्यु भएको स्थानीय शोभा लामाले बताइन् ।
'छिटोछिटै दुर्घटना हुन थाल्यो । अस्ति साउनमा मात्र २ जना बितेको, अहिले ५ जना बिते,' लामाले लोकान्तरसँग भनिन् ।

शनिवारको घटनामा आफूले गाडी खसेको आवाज सुनेको उनले बताइन् ।
'गाडी खसेको आवाज सुनेपछि मुटु नै ढुकढुक भयो । गाडी आइपुगेको ठाउँसम्मचाहिँ गएँ, माथि जान सकिनँ । बाटोभरि शवहरू छरिएका छन् भन्ने सुनेको थिएँ,' उनले भनिन् ।
उकालो घुम्ती सडक, त्यसमाथि कच्ची, यो खण्डलाई 'मृत्यु मार्ग' भन्दा फरक पर्दैन ।

शोभा आफूलाई सडक आसपासको खोल्साखाल्सीमा पुग्नै डर लाग्ने गरेको बताउँछिन् ।
'यता खोल्सामा जान पनि डर छ, माथिबाट खसेर टाउकोमै गाडी आउने हो कि भन्ने लाग्छ,' उनले भनिन् ।

काठमाडौंमा बोकेर गाडी ल्याउने बेलादेखिको इतिहास बोकेको यो सडक दयनीय अवस्थामा छ । ट्रयाक विस्तार गरेर चौडा बनाइए पनि पिच हुन सकेको छैन ।
बसदेखि साना ठूला गाडी दैनिक चल्ने सडक धराप अवस्थामा छ । तर, स्तरोन्तिमा राज्य ध्यान जान सकेको छैन ।
हेर्नुहोस्, भिडियो :

हेर्नुहोस्, घटनास्थलको ड्रोन भिडियो :