२५ जेठ २०८३, सोमबार
चक्रपथ विस्तारमा विलम्बले सास्ती

'नर्क'जस्तो कलंकी-महाराजगञ्ज सडक: धूलोले दिनभर आँखा पोल्छ, छाती घ्यारघ्यार गर्छ [भिडियो]

माघ ९, २०८०
काठमाडौं

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन ।

भत्किएको सडकका कारण स्थानीय र यात्रुले धूलो तथा हिलोको सास्ती भने भोगि नै रहेका छन् ।

मुख्य ८ लेनलाई छाडेर बाहिरी सर्भिस लेनको काम नेपाल आफैंले गरेको हो । मुख्य ८ लेनको काम भने चीन सरकारको आर्थिक सहयोगमा हुनुपर्ने हो ।

नेपाल सरकारले बनाउनुपर्ने सर्भिस लेनअन्तर्गत कलंकीदेखि स्वयम्भूसम्म कालोपत्रे र ढलानको काम भए पनि स्वयम्भूदेखि बसुन्धरासम्मको काम अलपत्र छ । सडकको दुवैतर्फ कतै ग्राबेल राख्ने काम हुँदैछ भने कतै खनेर असरल्ल छाडिएको छ ।

गोंगबुमा विगत चौध वर्षदेखि मेडिकल पसल सञ्चालन गर्दै आएकी सिर्जना श्रेष्ठले २० वर्षदेखि सडकको धूलोले सास्ती दिएको बताइन् । औषधिको बोतल सफा गरिरहेको अवस्थामा भेटिएकी उनले धुवाँ र धूलोकै कारण आफूले दैनिक ५ - ६ पटकसम्म शिशाभित्र रहेको औषधिको बोतल पुछ्नुपरेको बताइन् ।

null

'हेर्नुस्, त शिशाभित्र पनि कति धूलो बसेको छ। मास्क मात्र मैले दैनिक ३ पटक फेर्ने गरेकी छु,' उनले भनिन्, 'खुर्सानीको धूलोले पोलेकोजस्तो आँखा सधैं पोल्छ । खकार र सिँगान कालो आउँछ । दम बढेर घ्यारघ्यार हुन्छ ।'

उनले थपिन्, 'मैले २० वर्षदेखि हेरिरहेकी छु, जहिले पनि सडक बनाउने भनेर लथालिंग पारेर छाड्छन् ।'

****

सोही क्षेत्रमा तन्दुरी भोजनालय सञ्चालन गर्दै आएका काशीराम पाण्डेको दु:खेसो पनि उस्तै छ । १४ वर्षदेखि बसपार्क क्षेत्रमा रहेको बताउँदै उनले भने, 'सडक विस्तारका क्रममा आएको धूलोले व्यवसायमा धेरै असर परेको छ । धूलो देखेर मानिसहरू खाना खान नै आउँदैनन् । हामीले त सक्दो धूलो सफा गरेर पकाउँछौं, तर पनि टेबल-टेबलमा धूलो छिरेर मेरो व्यवसाय चौपट पारेको छ,' पाण्डेले भने ।

एकजना कामदार त धूलो पुछ्नका लागि मात्र राखिएको र उसले दिनैभरि धूलो पुछ्ने काम गर्दै आएको उनले बताए । धूलोका कारण स्वास्थ्यमा निकै समस्या आइसकेको गुनासो पाण्डेले गरे ।

'मैले हरेक दिन बिहानदेखि साँझसम्म धूलो खाँदा आजको उमेरसम्म क्विन्टल नै धूलो खाएँ होला,' उनले थपे, 'सोहीकारण आँखा पोल्छ, छाती दुख्छ, कालो खकार आउँछ ।'

null

चक्रपथ विस्तारअन्तर्गत अहिले सर्भिस लेनको काम भइरहेको छ ।

स्थानीयको सास्ती सम्बन्धमा नेपाल सरकार र सडक विभाग गम्भीर रहेको विकास सहायता कार्यान्वयन महाशाखाका उपनिर्देशक डा. विजय जैसीले लोकान्तरसँग बताए ।

जैसीले थपे, 'धूलो नियन्त्रण गर्नका लागि पानी राख्ने र ग्राबेल गर्ने काम गरिरहेका छौं । यो समस्यालाई हामीले नोट गरेका छौं । यसको समाधानतर्फ हाम्रो ध्यान गएको छ ।'

चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत नेपाल सरकारले गर्नुपर्ने ९९ प्रतिशत काम सम्पन्न हुने चरणमा रहेको उपनिर्देशक डा. जैसीले दाबी गरे ।

null

'साइट क्लियरेन्स करिब ९९ प्रतिशत सम्पन्न भैसकेको छ । कहीँकहीँ चिया पसल थाप्नेहरू होलान्, ती त निर्माण शुरू हुनासाथ हटिहाल्छन्, उनले भने, 'रूख कटानदेखि पोल सार्नेसम्मको काम हाम्रोतर्फबाट सम्पन्न भैसकेको छ ।'

चक्रपथको मुख्य आठ लेन चिनियाँ पक्षले बनाउने हो भने त्योभन्दा बाहिरको सर्भिस लेन नेपाल सरकारले बनाउने गरी सम्झौता भएको छ ।

'चिनिया पक्षले डीपीआर बनाउने, परामर्शदाता छनोट गर्ने, निर्माण व्यवसायी छनोट गर्ने तयारी गरिरहेको भन्ने हामीले बुझेका छौं । अबको प्रोसेस चिनिया पक्षकै हातमा छ,' डा. जैसीले भने ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्