
प्राध्यापक पद उच्च प्राज्ञिक र अति सम्मानित हो तर नेपालका विश्वविद्यालयले त्यही पदलाई मानार्थ बनाएर सरस्वतीको मूर्तिसँग साट्ने गरेको पाइएको छ । तथाकथित ‘माननीय विशिष्ट समाजसेवी’ जगदीश वैद्यले मुलुकका विश्वविद्यालयलाई सरस्वतीको मूर्ति दिने र बदलामा मानार्थ प्राध्यापकको उपाधि लिने गरेको तथ्य सार्वजनिक भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलगायतबाट मानार्थ प्राध्यापकको उपाधि लिन सफल वैद्यले अन्य विश्वविद्यालयसँग पनि त्यसका लागि निकै प्रयास गरिरहेको थाहा भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्ले ‘राष्ट्रिय समाजसेवी उपाधि’ दिएको कागजातका आधारमा आफूहरूले वैद्यलाई मानार्थ समाजसेवी प्राध्यापकको उपाधि प्रदान गरेको बताए तर त्यो कागज नै फर्जी थियो ।
“वैद्यले धेरै देशबाट समाजसेवी सम्मान पाएको कागजात पेस गर्नुभएको थियो । प्लेन चढ्दा भाडा नलाग्ने कागजात पनि पेस गर्नुभएको थियो । हामीलाई ती कागजात आवश्यक परेन तर मन्त्रीपरिषद्ले नै गरेको निर्णयका आधारमा मानार्थ समाजसेवी प्राध्यापकको उपाधि दिएका थियौँ,” उनले थपे, “उहाँले सरस्वतीको मन्दिर बनाइदिन्छु भन्नुभयो । मूर्ति पनि ल्याउनुभयो तर मन्दिर बन्न सकेन । मूर्ति दिएबापत मानार्थ समाजसेवी प्राध्यापकको उपाधि दियौँ । सभाबाट नै अनुमोदन गराएर उपाधि दिएका हौँ ।” गोरखापत्रमा खबर छ ।