०७ असार २०८३, आइतबार
भिजिट भिसामा सेटिङ

भिजिट भिसा प्रकरणः अध्यागमनका फरार कर्मचारी अस्ट्रेलिया र हङकङ पुगे, नेपाल ल्याउने प्रयास

माघ १५, २०८०
काठमाडौं
भिजिट भिसा प्रकरणः अध्यागमनका फरार कर्मचारी अस्ट्रेलिया र हङकङ पुगे, नेपाल ल्याउने प्रयास

भिजिट भिसामा सेटिङ मिलाएको अभियोग लागेका अध्यागमनका कर्मचारीहरू भागेर अस्ट्रेलिया र हङकङ पुगेको तथ्य खुलेको छ ।

‘फरार भएका अध्यागमन अधिकृत तथा अन्य कर्मचारीमध्ये २ जना अस्ट्रेलिया र  केही हङकङ गएको सूचना हामीकहाँ आएको छ । उनीहरूलाई नेपाल ल्याउने प्रक्रियामा छौं,’ अनुसन्धानमा खटिएका अपराध अनुसन्धान कार्यालय एक अधिकारीले लोकान्तरसँग भने, ‘उहाँहरू विदेशमा रहेका सूचना अध्यागमन विभागबाटै आएको हो । त्यसलाई भेरिफाई गरेर नेपाल ल्याउने प्रक्रियामा गएका हौं ।’

भिजिट भिसामा सेटिङ मिलाएकालाई प्रहरीले पक्राउ गर्ने सूचना पाएसँगै उनीहरू विगत २ महिनादेखि बिदा लिएर फरार छन् । यो मुद्दामा अनुसन्धान सकाएर हिजो (आइतबार) काठमाडौं प्रहरी परिसरले संगठित अपराधमा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

प्रहरीले यसमा २२ जनालाई प्रतिवादी बनाएको छ, जसमा ९ जना  अध्यागमनका कर्मचारी छन् । त्यसमध्ये १ जना नरवीर खड्का मात्रै पक्राउ परेका छन् ।

अध्यागमनका अधिकृत तथा कर्मचारीहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा सेटिङ गरेर विदेश पठाएको अभियोगमा मंसिर २७ गते अध्यागमन अधिकृत नरवीर खड्का तथा नेपाल एयरलाइन्सका कर्मचारीद्वय अरबिन यादव र होम पोखरेललाई पक्राउ गरेको थियो ।

वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलगायत प्रहरी हिरासतमा छन् । 

अध्यागमनका कर्मचारीले सेटिङ गरेबापत प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको तथ्य बाहिर आएको थियो । निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो । अहिलेसम्म प्रहरीले ४२ जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । 
 

कमेन्ट गर्नुहोस्