
काठमाडौंदेखि साइकलमा मुगुको रारा तालसम्म पुगेको अनुभव छुट्टै छ । तर राराको अनुभवलाई समेत बिर्साउने एउटा साइकल यात्रा (साइक्लिङ)को अनुभवले दिएको खुसीलाई कमला पुन शब्दमा व्याख्या गरिरहन्छिन् । त्यो अनुभवलाई जीवनमा पहिलोपटक प्राप्त खुसीका रुपमा उनले बताउने गर्छिन् । कुरा गर्दैगर्दा समेत त्यसलाई सम्झेर कमला खुसीको आँशु बगाउँछिन् ।

साइक्लिङको भाषा हो ‘कोरा’ (एक फन्को अर्थात् रिङ्ग) । गत मंसिर १० गतेदेखि पाँच दिनमा म्याग्दी र बागलुङको एउटा कोरा पूरा गरिन् कमलाले । उनले बागलुङ–पर्वत–म्याग्दीको सीमा मालढुंगाबाट उत्तर–पूर्व हुँदै पश्चिमबाट फेरि मालढुंगासम्म साइकलमा पुगेर ‘कोरा’ पूरा गरेकी हुन् ।
कमलाका बुवा–आमाको जन्मस्थल म्याग्दीको डाँडागाउँ हो । बुवा ‘मलायका लाहुरे’ भएकाले उनको जन्म भने मलेसियामा भयो । लाहुरे परिवारमा हुर्केबढेकी कमला आफ्नो पुर्खेउली जन्मथलो पटक–पटक पुगेकी छिन्, तर साइकलमा होइन । साढे ७ वर्ष जापान बसाइपछि स्वदेश आएपछि कमलाले योगादेखि फिटनेस प्रशिक्षकसम्म बनिन् । पछिल्लोपटक उनी साइक्लिङमा रमेकी छिन् ।

‘गुर्जाखानीमाथि गाउँ छैन’ यो पुरानो उखान हो । छन्त्याल जातिको घना बस्ती रहेको गुर्जा आफैँमा म्याग्दी जिल्लाको कुनाको गाउँ हो । त्यही गाउँमा पहिलोपटक साइकल पुर्याउँदा कमलाले पाउनसम्म सम्मान पाइन् । त्यही सम्मानलाई आफ्नो जिन्दगीको पहिलो र उच्च सम्मानका रुपमा आफूले लिएको उनी सुनाउँछिन् ।
‘मसँग दीपक दाइ (दीपक श्रेष्ठ) पनि सँगै जानुभएको थियो । गुर्जाखानी गाउँ पुग्नेबेला कोदारीले बनाइदिएको पुल छ । त्यहाँ हामी थकाइ मारिरहेका थियौं । एक भेडीगोठालो एकाएक आएर साइकल छोए । दीपक दाइको खुट्टै समाएर ढोगे । आफ्नो गाउँमा पहिलोपटक साइकल ल्याइदिएको भनेर ती दाइले ढोगेका थिए,’ त्यो दृष्य सम्झदै कमला भन्छिन्, ‘मैले म पनि म्याग्दीकै हो नि भनेँ । ती गोठालो दाइ झन् खुसी हुनुभयो । हाम्री चेलीले साइकल पहिलोपटक गुर्जाखानीमा ल्याउनुभयो । सम्मान गर्ने अरु केही छैन भनेर तितेपातीको गुछा बनाएर स्वागत गर्नुभयो । त्यो क्षणमा म असाध्यै खुसी भएँ । एकाएक आँशु झर्यो ।’

तीन हजार ८५० मिटर उचाइ पुग्दाको थकाइ त्यो सम्मानले एकैछिनमा बिर्साइदिएको उनको भनाइ छ । ‘गुर्जाखानी गाउँ पनि लोभ लाग्दो, अग्ला डाँडामा पुग्दा नाकै ठोक्किएलाजस्तो सेताम्यै हिमालका चुचुराको दृष्य,’ आफ्ना पुर्खा बसेको जिल्लालाई पर्यटकीयस्थल पहिचानका लागि गुर्जाखानी पुगेको बताउने कमलाले थपिन् ।
उपल्लो २२ खानीमध्ये कहलिएको गुर्जाखानी छन्त्याल जातिको उद्गम थलोकै रुपमा परिचित छ । तर सहजै पुगिन्न । ‘गाडी, मोटरसाइकल नपुग्ने भएर कतिपयले हिड्नुपर्ने सुझाव दिन्छन् । त्यो भ्रमलाई चिर्न साइक्लिङबाट पनि पुग्न सकिन्छ भन्ने हेतुले गएकी हुँ’, कमला भन्छिन् ।

सरकारले घोषणा गरेको ‘गुरिल्ला ट्रेल’मध्ये एउटा खण्ड हो यो बाटो । जहाँ पैदलयात्री हिड्ने गरेका छन् । तर कमलाले साइकल चलाएर पहिलोपटक महिला पुगेको कीर्तिमान राखिन् । ‘हामी साइकलयात्रीहरू इको फ्रेन्डली, जिरो कार्बन र प्रकृतिप्रेमी हौं । त्यसबाट आन्तरिक वा वाह्य पर्यटक भित्र्याउनका लागि प्रचार–प्रसार गर्छौं । त्यसैक्रममा मैले त्यो रुट रोजेकी हुँ’, उनले भनिन् ।

साइकल यात्रा गनेक्र क्रममा कमलाले नेपालका बस्तीसँगै नेपाली समाजको रहनसहन पनि बुझ्ने अवसर पाइन् । यसबीचमा उनले गज्जबका कथाहरू पनि सुन्न पाइन् । ‘ओ हो ! नेपाली समाज त अचम्मैको रहेछ । कुना–कुनामा आफ्नो जीविकापार्जनका लागि गरेको मेहनत, उनीहरूका भोगाइ सुन्दा दन्तेकथा जस्तो लाग्ने’, कमला भन्छिन् ।

गुर्जाखानीको फन्को
कमला साइकल गुडाउँदै सिन्धुलीगढी, जनकपुर, उदयपुर, चौदण्डीगढी, इलाम, चितवन, सोमेश्वरगढी, बुटवल, सिमरा, हेटौंडा, रानीमहल, नेपालगञ्ज, ठाकुरद्वारा, पोखरा, रारा तथा भारतको सिक्किम, ग्यान्टोकदेखि दार्जीलिङसम्म पुगेकी छिन् । ती ठाउँका बाटा सहजै हुन् । तर यसपटकको ‘कोरा’मा अप्ठ्यारा बाटाहरू थिए । भीर, पहरा र साना गोरेटो पनि उस्तै । कमलालाई कहिले साइकलले बोक्छ, त कहिले साइकल बोक्नुपर्ने । यात्राका लागि आवश्यक पर्ने १२–१५ केजी सरसामान । १२ केजीको साइकल । पोखराबाट बास बस्न मालढुंगा ।

मालढुंगाबाट बेनी, सिंगा तातोपानी, बाबियाचौर, रातोढुंगा, दरबाङ हुँदै बास बस्न ताकम । दोस्रो दिन ताकमदेखि लम्सुङसम्म कच्ची मोटर बाटो । उकालो चढेपछि लुलाङमा बास । त्यसपछि साइकल बोक्ने पालो आउँछ । ‘३२ सय ५० मिटर गुर्जा देउराली पुग्न ठाडो उकालो छ । आफ्नो झोला र साइकल गरेर २५–३० केजी वजनको भारी बोकेर उकालो लागियो । ओरालोमा साइकिक्लिङ नै गरियो’, कमलाले सुनाइन्, ‘गुर्जा गाउँ दुई हजार ५०० मिटर उचाइमा छ । माथि देउरालीबाट गुर्जाखानी तीन घण्टामा पुगियो ।’

पैदलयात्रीहरू बागलुङको ढोरपाटन हुँदै गुर्जाखानी भएर दरबाङ झर्छन् । साइक्लिङबाट कमला र दीपकले उल्टो यात्रा तय गरे । गुर्जाखानी पुग्न सहज छैन । तर पुगिसकेपछि स्थानीयको सत्कार, सम्मान बिर्सन नसकिने रहेको कमलाले बताइन् । चौथो दिन बिहानै गुर्जाखानीबाट फेरि उकालो लागे उनीहरू ।
‘गुर्जाखानीबाट उकालो लागेपछि रुघाचौर (३८५० मिटर) उचाइमा पुगिन्छ । त्यहाँबाट धौलागिरि, गुर्जासहित तीनवटा हिमाल नाकै ठोक्किएलाजस्तो नजिक देखिन्छन् । त्यहाँबाट ओरालो लागेपछि म्याग्दी र बागलुङको सीमा गुर्जाघाटमा बास बस्यौं । जुन ठाउँ ढोरपाटन शिकार आरक्ष हो’, मालढुंगादेखि मालढुंगासम्मैको ‘साइक्लिङ कोरा’ पूरा गरेको कथा सुनाउँदै कमलाले भनिन् ।

गुर्जाघाटदेखि ढोरपाटन उत्तरगंगासम्म १२ किमीको यात्रा गर्दा कमला झन् रोमाञ्चित भइन् । ‘गुर्जाघाट, छेन्तुङ हुँदै ढोरपाटन उपत्यका पस्दा त ओहो ? मैले कहीँ त्यस्तो दृष्य देखेकी थिइन । तर डोजरले उधिनेको देख्दा यो सुन्दर दृष्य कसरी बच्ला ? भन्ने चिन्ता लाग्यो’, उनले भनिन् । ढोरपाटनमा भने यसअघि अन्य साइकलयात्री पनि गएका रहेछन् । अघिल्ला साइकलयात्रीहरू सबै पुरुष थिए । यसर्थ महिलामा कमला पहिलो भइन् ।
कला साँझ बुर्तिबाङ पगिन् । अर्को बिहान बुर्तिबाङबाट १०० किमी साइकल यात्रा गरेर साँझ ७ बजे मालढुंगामा टुंग्याइन् । कमलाले साँझ ७ बजे गुर्जाखानीको फन्को मारिन् । ‘एक कोरा पूरा गरेकोमा खुसी लाग्यो । मालढुंगामा साँझ ७ बजे खाना खाइवरी बसमा चढेर पोखरामा आएर बास बसेँ,’ उनले आफ्नो यात्राबारे बिट मार्दै भनिन् ।