२९ जेठ २०८३, शुक्रबार
यात्रा वर्णन

गुर्जाखानीमा पहिलोपटक साइकल पुर्‍याउँदाः त्यो सम्मानले मेटाइदिएको थकान

'कहिले साइकलले बोक्छ, कहिले उसलाई बोक्नुपर्ने'
माघ २०, २०८०
काठमाडौं
गुर्जाखानीमा पहिलोपटक साइकल पुर्‍याउँदाः त्यो सम्मानले मेटाइदिएको थकान

काठमाडौंदेखि साइकलमा मुगुको रारा तालसम्म पुगेको अनुभव छुट्टै छ । तर राराको अनुभवलाई समेत बिर्साउने एउटा साइकल यात्रा (साइक्लिङ)को अनुभवले दिएको खुसीलाई कमला पुन शब्दमा व्याख्या गरिरहन्छिन् । त्यो अनुभवलाई जीवनमा पहिलोपटक प्राप्त खुसीका रुपमा उनले बताउने गर्छिन् । कुरा गर्दैगर्दा समेत त्यसलाई सम्झेर कमला खुसीको आँशु बगाउँछिन् ।

null

साइक्लिङको भाषा हो ‘कोरा’ (एक फन्को अर्थात् रिङ्ग) । गत मंसिर १० गतेदेखि पाँच दिनमा म्याग्दी र बागलुङको एउटा कोरा पूरा गरिन् कमलाले । उनले बागलुङ–पर्वत–म्याग्दीको सीमा मालढुंगाबाट उत्तर–पूर्व हुँदै पश्चिमबाट फेरि मालढुंगासम्म साइकलमा पुगेर ‘कोरा’ पूरा गरेकी हुन् ।

null 

कमलाका बुवा–आमाको जन्मस्थल म्याग्दीको डाँडागाउँ हो । बुवा ‘मलायका लाहुरे’ भएकाले उनको जन्म भने मलेसियामा भयो । लाहुरे परिवारमा हुर्केबढेकी कमला आफ्नो पुर्खेउली जन्मथलो पटक–पटक पुगेकी छिन्, तर साइकलमा होइन । साढे ७ वर्ष जापान बसाइपछि स्वदेश आएपछि कमलाले योगादेखि फिटनेस प्रशिक्षकसम्म बनिन् । पछिल्लोपटक उनी साइक्लिङमा रमेकी छिन् । 

null

‘गुर्जाखानीमाथि गाउँ छैन’ यो पुरानो उखान हो । छन्त्याल जातिको घना बस्ती रहेको गुर्जा आफैँमा म्याग्दी जिल्लाको कुनाको गाउँ हो । त्यही गाउँमा पहिलोपटक साइकल पुर्याउँदा कमलाले पाउनसम्म सम्मान पाइन् । त्यही सम्मानलाई आफ्नो जिन्दगीको पहिलो र उच्च सम्मानका रुपमा आफूले लिएको उनी सुनाउँछिन् ।

null 

‘मसँग दीपक दाइ (दीपक श्रेष्ठ) पनि सँगै जानुभएको थियो । गुर्जाखानी गाउँ पुग्नेबेला कोदारीले बनाइदिएको पुल छ । त्यहाँ हामी थकाइ मारिरहेका थियौं । एक भेडीगोठालो एकाएक आएर साइकल छोए । दीपक दाइको खुट्टै समाएर ढोगे । आफ्नो गाउँमा पहिलोपटक साइकल ल्याइदिएको भनेर ती दाइले ढोगेका थिए,’ त्यो दृष्य सम्झदै कमला भन्छिन्, ‘मैले म पनि म्याग्दीकै हो नि भनेँ । ती गोठालो दाइ झन् खुसी हुनुभयो । हाम्री चेलीले साइकल पहिलोपटक गुर्जाखानीमा ल्याउनुभयो । सम्मान गर्ने अरु केही छैन भनेर तितेपातीको गुछा बनाएर स्वागत गर्नुभयो । त्यो क्षणमा म असाध्यै खुसी भएँ । एकाएक आँशु झर्यो ।’

null

तीन हजार ८५० मिटर उचाइ पुग्दाको थकाइ त्यो सम्मानले एकैछिनमा बिर्साइदिएको उनको भनाइ छ  । ‘गुर्जाखानी गाउँ पनि लोभ लाग्दो, अग्ला डाँडामा पुग्दा नाकै ठोक्किएलाजस्तो सेताम्यै हिमालका चुचुराको दृष्य,’ आफ्ना पुर्खा बसेको जिल्लालाई पर्यटकीयस्थल पहिचानका लागि गुर्जाखानी पुगेको बताउने कमलाले थपिन् ।

उपल्लो २२ खानीमध्ये कहलिएको गुर्जाखानी छन्त्याल जातिको उद्गम थलोकै रुपमा परिचित छ । तर सहजै पुगिन्न । ‘गाडी, मोटरसाइकल नपुग्ने भएर कतिपयले हिड्नुपर्ने सुझाव दिन्छन् । त्यो भ्रमलाई चिर्न साइक्लिङबाट पनि पुग्न सकिन्छ भन्ने हेतुले गएकी हुँ’, कमला भन्छिन् ।

null

सरकारले घोषणा गरेको ‘गुरिल्ला ट्रेल’मध्ये एउटा खण्ड  हो यो बाटो । जहाँ पैदलयात्री हिड्ने गरेका छन् । तर कमलाले साइकल चलाएर पहिलोपटक महिला पुगेको कीर्तिमान राखिन् । ‘हामी साइकलयात्रीहरू इको फ्रेन्डली, जिरो कार्बन र प्रकृतिप्रेमी हौं । त्यसबाट आन्तरिक वा वाह्य पर्यटक भित्र्याउनका लागि प्रचार–प्रसार गर्छौं । त्यसैक्रममा मैले त्यो रुट रोजेकी हुँ’, उनले भनिन् ।

null

साइकल यात्रा गनेक्र क्रममा कमलाले नेपालका बस्तीसँगै नेपाली समाजको रहनसहन पनि बुझ्ने अवसर पाइन् । यसबीचमा उनले गज्जबका कथाहरू पनि सुन्न पाइन् । ‘ओ हो ! नेपाली समाज त अचम्मैको रहेछ । कुना–कुनामा आफ्नो जीविकापार्जनका लागि गरेको मेहनत, उनीहरूका भोगाइ सुन्दा दन्तेकथा जस्तो लाग्ने’, कमला भन्छिन् ।

null

गुर्जाखानीको फन्को 

कमला साइकल गुडाउँदै सिन्धुलीगढी, जनकपुर, उदयपुर, चौदण्डीगढी, इलाम, चितवन, सोमेश्वरगढी, बुटवल, सिमरा, हेटौंडा, रानीमहल, नेपालगञ्ज, ठाकुरद्वारा, पोखरा, रारा तथा भारतको सिक्किम, ग्यान्टोकदेखि दार्जीलिङसम्म पुगेकी छिन् । ती ठाउँका बाटा सहजै हुन् । तर यसपटकको ‘कोरा’मा अप्ठ्यारा बाटाहरू थिए । भीर, पहरा र साना गोरेटो पनि उस्तै । कमलालाई कहिले साइकलले बोक्छ, त कहिले साइकल बोक्नुपर्ने । यात्राका लागि आवश्यक पर्ने १२–१५ केजी सरसामान । १२ केजीको साइकल । पोखराबाट बास बस्न मालढुंगा ।

null

मालढुंगाबाट बेनी, सिंगा तातोपानी, बाबियाचौर, रातोढुंगा, दरबाङ हुँदै बास बस्न ताकम । दोस्रो दिन ताकमदेखि लम्सुङसम्म कच्ची मोटर बाटो । उकालो चढेपछि लुलाङमा बास । त्यसपछि साइकल बोक्ने पालो आउँछ । ‘३२ सय ५० मिटर गुर्जा देउराली पुग्न ठाडो उकालो छ । आफ्नो झोला र साइकल गरेर २५–३० केजी वजनको भारी बोकेर उकालो लागियो । ओरालोमा साइकिक्लिङ नै गरियो’, कमलाले सुनाइन्, ‘गुर्जा गाउँ दुई हजार ५०० मिटर उचाइमा छ । माथि देउरालीबाट गुर्जाखानी तीन घण्टामा पुगियो ।’

null

पैदलयात्रीहरू बागलुङको ढोरपाटन हुँदै गुर्जाखानी भएर दरबाङ झर्छन् । साइक्लिङबाट कमला र दीपकले उल्टो यात्रा तय गरे । गुर्जाखानी पुग्न सहज छैन । तर पुगिसकेपछि स्थानीयको सत्कार, सम्मान बिर्सन नसकिने रहेको कमलाले बताइन् । चौथो दिन बिहानै गुर्जाखानीबाट फेरि उकालो लागे उनीहरू ।

‘गुर्जाखानीबाट उकालो लागेपछि रुघाचौर (३८५० मिटर) उचाइमा पुगिन्छ । त्यहाँबाट धौलागिरि, गुर्जासहित तीनवटा हिमाल नाकै ठोक्किएलाजस्तो नजिक देखिन्छन् । त्यहाँबाट ओरालो लागेपछि म्याग्दी र बागलुङको सीमा गुर्जाघाटमा बास बस्यौं । जुन ठाउँ ढोरपाटन शिकार आरक्ष हो’, मालढुंगादेखि मालढुंगासम्मैको ‘साइक्लिङ कोरा’ पूरा गरेको कथा सुनाउँदै कमलाले भनिन् ।

null

गुर्जाघाटदेखि ढोरपाटन उत्तरगंगासम्म १२ किमीको यात्रा गर्दा कमला झन् रोमाञ्चित भइन् । ‘गुर्जाघाट, छेन्तुङ हुँदै ढोरपाटन उपत्यका पस्दा त ओहो ? मैले कहीँ त्यस्तो दृष्य देखेकी थिइन । तर डोजरले उधिनेको देख्दा यो सुन्दर दृष्य कसरी बच्ला ? भन्ने चिन्ता लाग्यो’, उनले भनिन् । ढोरपाटनमा भने यसअघि अन्य साइकलयात्री पनि गएका रहेछन् । अघिल्ला साइकलयात्रीहरू सबै पुरुष थिए । यसर्थ महिलामा कमला पहिलो भइन् ।

null 

कला साँझ बुर्तिबाङ पगिन् । अर्को बिहान बुर्तिबाङबाट १०० किमी साइकल यात्रा गरेर साँझ ७ बजे मालढुंगामा टुंग्याइन् । कमलाले साँझ ७ बजे गुर्जाखानीको फन्को मारिन् । ‘एक कोरा पूरा गरेकोमा खुसी लाग्यो । मालढुंगामा साँझ ७ बजे खाना खाइवरी बसमा चढेर पोखरामा आएर बास बसेँ,’ उनले आफ्नो यात्राबारे बिट मार्दै भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्