ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ले बक्स अफिसमा १ सय ६२ करोड ७५ लाख भारू कमाएको छ ।
प्रदर्शनको दशौं दिन अर्थात् शनिवारसम्म फिल्मले उक्त कमाइ गरेको हो । फिल्मले विश्वभरबाट भने २ सय ५८ करोड ७५ लाख कमाइ गरेको छ ।
२ सय ५० करोडको बजेटमा बनेको फिल्मले पहिलो दिन २२ करोड ५० लाख भारू ओपनिङ गरेको थियो । दोस्रो दिन ३९ करोड ५० लाख कमाएको फिल्मको कमाइमा तेस्रो दिनबाट गिरावट आएको थियो ।
९ औं दिन अर्थात् दोस्रो शुक्रबार ५ करोड ७५ लाख कमाएको फिल्मको कमाइ दशौं दिन शनिवार भने वृद्धि भएको छ । शनिवार फिल्मले शुक्रवारभन्दा दोब्बर कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आएको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण शीर्ष भूमिकामा छन् ।
साथमा, अनिल कपूर, अक्षय ओबराय, करण सिंह ग्रोवरलगायतको अभिनय छ । फिल्मलाई भारतीय समीक्षकले सकारात्मक समीक्षा गरेका छन् । ४३ सय स्क्रिनमा रिलिज भएको फिल्मलाई देशको पहिलो एरियल एक्सन फिल्मको रूपमा वर्णन गरिएको थियो ।